२३ असोज, काठमाडौं । सोमवार नेप्से परिसूचक ८.१२ अंकले घटेर १५०१ बिन्दुमा आइपुगेको छ । लगातार घट्दो क्रममा रहेको नेप्से सोमवार १४९३ सम्म पुगेको भएपनि पछि रिकभर गरेर केही उक्लिएको थियो । केही चलाख लगानीकर्ताले फेरी पनि नेपाल टेलिकमको सेयर मूल्य बढाएर नेप्सेलाई १५ सय विन्दुमा अड्याउने प्रयास भने गरेका छन् । यस दिन कारोबारमा आएको मध्ये नेपाल टेलिकम सूचीकृत ‘अन्य’ समूहको परिसूचक मात्र बढेको छ ।
बजार हाल घट्नुमा कतिपयले बाम एकतालाई कारण देखाइरहेका छन भने पहिलो त्रैमाश समाप्त हुन लागेकोले लगानीकर्ताले कर्जाको व्याज तिर्न पनि बजारमा बिक्री बढाएका छन् ।
यसबाहेक अहिले बजार बाहिर लिलामीमा कम्पनीहरुको सेयर बिक्री भइरहेकोले पनि यसको प्रभाव बजारमा परेको ब्रोकर नन्दकिशोर मुन्दडा बताउँछन् ।
‘कही समयअघि लिलामीमा लगानीकर्ताले ऐभरेष्ट बैंकको सेयर समेत १ सय ६६ रुपैयाँसम्ममा पाए, बजारमा कम्पनीको मूल्य करिब १२ सय छ, त्यता लगानीकर्ता आकर्षित भइरहेका छन्,’ मुन्दडा भन्छन् । लिलामीमा परेको सेयर हात पर्ने वित्तीकै बजारमा उच्च मूल्यमा बिक्री गर्ने परिपाटी बढेकोले पनि आपूर्ती बढेको उनको भनाई छ ।
सोमवार नै पनि सनराइज बैंकको लिलामीमा बिक्री भइरहेको हकप्रद सेयरमा ११ हजारभन्दा बढिले आवेदन गरेका थिए । केही समयअघि कृषि बिकास बैंकको सेयरमा पनि ९ हजारभन्दा बढिले आवेदन गरेका थिए । बजारको तुलनामा केही रकम कममा सेयर पाइने भएपछि लगानीकर्ताहरु लिलामी बजारमा पनि आकर्षित भएका छन् ।
यसदिन बजारमा १ सय ५२ कम्पनीको सेयर किनबेच भएर ३१ करोड रुपैयाँको कारोबार भएको छ । धेरै कारोबार हुनेमा नेपाल बैंक रहेको छ । बैंकको २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि चिलिमे जलविद्युत्, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायतका लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।
घटेको बजारमा पनि लक्ष्मी भ्यालु फण्ड, किसान माइक्रो फाइनान्स लगायतको मूल्य करिब ४ प्रतिशतसम्म वृद्धि भएको छ ।
प्रतिक्रिया 4