Comments Add Comment

बालकोट पुगेका बाबुराम रिसाएर फर्किए

वाम गठबन्धनबाट बाहिरिने नयाँशक्तिको चेतावनी

२५ असोज, काठमाडौं । वाम एकता र तालमेल सम्बन्धी गठबन्धनमा सहभागी बनेको नयाँशक्ति पार्टीले गठबन्धनबाट अलग्गिने चेतावनी दिएको छ । केपी ओली र डा. बाबुराम भट्टराईवीच बुधबार भएको छलफल सकारात्मक हुन नसकेपछि नयाँशक्तिले यस्तो चेतावनी दिएको हो ।

बुधबार बालकोटस्थित केपी ओलीको निवासमा छलफलका लागि पुगेका डा. बाबुराम भट्टराईले केन्द्रीय संसदमा आफ्नो पार्टीले १५ सीट पाउनुपर्ने माग गरेका थिए । साथै प्रदेशसभामा ३० स्थान पाउनुपर्ने भट्टराईको माग थियो ।

तर, ओलीले ‘बडो गाह्रो भयो’ भन्दै भट्टराईको माग पूरा नहुने आशय व्यक्त गरेपछि  उनी रिसाएर फर्किएको स्रोतले अनलाइनखबरलाई बतायो ।

एमाले, माओवादी र नयााशक्ति पार्टीवीच वाम एकताको प्रतिवद्धतासहित चुनावी तालमेल गर्ने सहमति भएपछि डा. भट्टराईले १५ सीट आफूहरुले पाउनुपर्ने माग अघि सारेका छन् । केन्द्रीय संसदमा प्रत्यक्ष र समानुपातिक दुबैमा गरी १५ सीट नयाँशक्तिले मागे हो ।

नयाँशक्तिका एक नेताले अनलाइनखबरसँग भने, हामी पूर्वसहमतिप्रति इमान्दार छौं । तर, हृदयेश त्रिपाठी लगायतका नेतालाई तालमेलका लागि सीट छुट्याएजस्तै हामीलाई पनि सम्मानजनक स्थान हुनुपर्छ भन्ने हाम्रो आग्रह हो ।

वाम गठबन्धनमा सहभागी भएका नयाँशक्ति पार्टी लगायतका दललाई सीट छुट्याइसकेपछि बाँकी रहेका सीटमा मात्रै एमाले र माओवादीवीच ६०/४० को भागवण्डा गर्ने सहमति भएको नयाँशक्तिका नेताको दाबी छ ।

तर,  माओवादी केन्द्रका नेताहरुले अहिले पनि बाबुराम भट्टराईमाथि पूर्वाग्रह राखिरहेको र पुरानो तुष कायमै राखेको गुनासो नयाँशक्तिका नेताले गरेका छन् ।

बालकोटबाट फर्केपछि विद्रोहको चेतावनी

बालकोटबाट चित्त दुखाएर फर्केका डा. भट्टराईले दिउँसो १२ बजेतिर बबरमहलस्थित आफ्नो कार्यालयमा नयाँशक्ति पार्टीका नेताहरुको बैठक डाकेका थिए । सो बैठकमा उनले नयाँशक्ति पार्टीलाई सम्मानजनक स्थान दिनका लागि एमाले र माओवादीका नेताहरु अन्कनाइरहेको र आफूहरुलाई अपमानित गर्न खोजेको रिपोर्टिंग गरे ।

बैठकमा सहभागी नयाँशक्तिका केही नेताहरुले आफ्नो मागलाई उपेक्षा गरिए वाम गठबन्धनबाट अलग भई पार्टीको तर्फबाट बेग्लै उम्मेदवारी दिनुपर्ने सुझाव दिए ।

बैठकका क्रममा केही नेताले १५ सीटभन्दा कम लिएर सहमति गरिएमा विभिन्न जिल्लामा स्वतन्त्र एवं बागी उम्मेद्वार उठाउने चेनावतीसमेत पार्टी नेतृत्वलाई दिएका छन् ।

बैठकमा केही नेताले ओली र प्रचण्डबाट अपमानित भएर बस्नुभन्दा वाम गठबन्धन तोडेर नेपाली कांग्रेस वा मधेसवादी दलसँग चुनावी तालमेल गर्नुपर्ने सुझावसमेत दिएको स्रोतले अनलाइखबरलाई बतायो ।

नयाँशक्तिका एक नेताले भने, हामी भोलसिम्म बाटो हेर्छौं, भएन भने यो गठबन्धनबाट हट्न पनि सकिन्छ ।

तालमेलको गृहकार्य शीर्ष तहमै अल्झियो

दशैंका बेलामा तीन दलीय वाम गठबन्धन बनाएका एमाले, माओवादी र नयाँशक्ति पार्टीवीच चुनावी तालमेलका लागि कार्यदलसमेत गठन भएको छ । कार्यदलमा नयाँशक्तिबाट गंगानारायण श्रेष्ठको नाम समावेश भए पनि अहिलेसम्म औपचारिक बैठक बस्न सकेको छैन ।
शीर्ष नेताहरुवीच पहिले सहमति गरेपछि कार्यदलले काम टुंग्याउने भनिए पनि हालसम्म शीर्षनेताहरुमै तालमेलको सहमति हुने नसकेको  एक नेताले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment