Comments Add Comment

गुल्मीमा वन्यजन्तुको आक्रमणमा परेकाहरुले राहत पाए

२६ असोज, गुल्मी । गुल्मीमा वन्यजन्तुको आक्रमणबाट पीडित भएकाहरुले राहत पाएका छन् ।

जिल्ला वन कार्यालयमा आयोजित एक समारोहका बीच जिल्लाका बिभिन्न स्थानहरुमा बन्यजन्तुको आक्रमणबाट मानवीय तथा चौपायामा क्षति पुगेका चार जनालाई क्षतिपूर्तिस्वरुप राहत रकम उपलब्ध गराइएको हो । बन्यजन्तुको आक्रमणबाट क्षति पुगेकाहरुले राहत पाएको जिल्लामा पहिलो पटक हो ।

वन्यजन्तुबाट घाइते भएका मदाने गाउँपालिका वडा नम्बर ७ निवासी भरत पन्थी, गुल्मीदरवार गाउँपालिका वडा नम्बर ५ निवासी नरबहादुर खड्का, वडा नम्बर ६ निवासी ज्योति श्रेष्ठ र संगीता खड्काले राहत पाएका हुन् ।

बदेलको आक्रमणबाट घाइते भएका भरत पन्थीले रु १ लाख पाएका छन् । चितुवाको आक्रमणबाट २ वटा बाख्रा मरेपछि नरबहादुर खड्काले १९ हजार ५ सय, चितुवाको आक्रमणबाट एउटा गाई र एउटा बाख्रा गुमाएका ज्योति श्रेष्ठले २० हजार तथा चितुवाको आक्रमणबाट एउटा बाख्रा गुमाएकी संगीता खड्काले १० हजार राहत पाएकी छन् ।

राहत पाउने ४ जनालाई प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल र जिल्ला वन अधिकृत बिशाल घिमिरेले चेक मार्फत क्षतिपूर्ति हस्तातरण गरेका थिए ।

घाइते पन्थी २०७३ साल चैत ३१ गते आफनै बारीमा बदेलको आक्रमणमा परेका थिए । दुम्सी ठानेर धपाउने क्रममा उनलाई बदेलले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । काठमाडौंको वीर अस्पतालमा लामो समय उपचार गरेपछि उनी निको भएका थिए ।

अन्य ३ जनाको गत वर्षको भाद्र महिनामा चितुवाको अक्रमणबाट चौपायामा क्षती भएको थियो ।

राहत हस्तातरण कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले कुन वन्यजन्तुबाट कसरी आक्रमण गर्छ भन्ने मानिसमा चेतनाको अभाव रहेको बताए । उनले कुन वन्यजन्तुले आक्रमण गर्छ, कसरी बच्ने जस्ता बिषयमा सबैलाई जानकारी दिने ब्यावस्था मिलाउन वन कार्यालयलाई आग्रह गरे ।

रातह लिँदै बदेलको आक्रमणबाट घाइते भएका पन्थीले सरकारको सहयोगले आफूलाई ठूलो राहत मिलेको भन्दै धन्यबाद दिए ।

नेपालमा १४ वटा वन्यजन्तुले आक्रमण गरे क्षतीपूर्ति पाउने ब्यावस्था छ । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बंदेल, अर्ना, मगर गोही, अजिंगर र गौरीगाईको आक्रमणमा परेकाहरुले क्षतिपूर्ति पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment