२६ असोज, काठमाडौं । विश्व बाथ रोग दिवसका अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
नर्भिक अस्पतालबाट सुरु भएको प्रभातफेरी कार्यक्रम थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, बसन्तपुर, हनुमानढोका, असन, रत्नपार्क, भद्रकाली, माइतीघर मण्डला हुँदै पुन नर्भिक अस्पताल पुगेर समापन भएको थियो ।
प्रभातफेरी कार्यक्रममा बाथरोगी, चिकित्सकसहित करिब १५० जनाको सहभागिता रहेको थियो ।
नेपालमा बाथ रोगबारे जानकारी तथा यसबारे जनचेतना जगाउने उद्देश्यले नर्भिक अस्पतालले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बताएको छ ।
हरेक वर्ष अक्टोबर १२ तारीखका दिन यो दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइने गरिन्छ । ‘विलम्ब नगरौ, आजै सम्पर्क गरौ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।
यही दिवसकै अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमको समापनका क्रममा बोल्दै नर्भिक अस्पतालका बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताले यस किसिमको कार्यक्रमले रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोगको रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे समेत प्रकाश पार्ने जानकारी दिए ।
कार्यक्रममा नर्भिक अस्पतालका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आर.पी. मैनालीले प्रत्येक तीन नेपाली मध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए ।
के हो बाथरोग ?
बाथरोग भन्नाले सबैखाले मांशपेशी तथा अस्थीपञ्जर दुख्ने समस्यालाई जनाउने गर्दछ ।
बाथरोग लागेमा रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने, आदि हुने गर्दछ ।
केही अवस्थाहरूमा सामान्य सुन्निने, असामान्य रातो हुने, राता-निला डामहरू देखिने, रोगले असर गरेको भागमा ज्यादा तातो वा पोलेको अनुभव हुने लगायतको लक्षण देखा पर्ने गर्दछ ।
बाथ रोग विभिन्न प्रकारका हुन्छ । विश्वमा बाथरोग र अस्थीपञ्जर सम्बन्धी रोगहरू झण्डै २०० भन्दा बढी प्रकारका छन् । बाथरोगले शरीरका भित्री अङ्ग प्रत्यङ्गहरूलाई समेत असर पार्ने गर्दछ ।
हड्डी नै कुँजो हुने बाथ, हड्डीको घनत्व घटी भएर हुने बाथ, मेरुदण्ड कुप्रो हुने बाथ, लगायतका सबैखाले बाथरोग वा मांशपेशी-अस्थीपञ्जर सम्बन्धी रोगले पुरुष, महिला, बालबालिका र बृद्धबृद्धा सबै उमेर समूहका रोगीहरूलाई आक्रान्त पार्ने भएपनि यो समस्या महिलाहरूमा अत्यन्तै बढी रहेको पाइन्छ ।
प्रतिक्रिया 4