Comments Add Comment

मोहन विक्रमलाई प्यूठानबाट चुनाव लड्न एमाले र माओवादीको सुझाव

दूर्गा पौडेललाई प्रत्यक्ष उम्मेदवार नस्वीकार्ने अडान

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह

२६ असोज, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले प्यूठानमा राष्ट्रिय जनमोर्चाकी दूर्गा पौडेललाई प्रत्यक्ष तर्फको उम्मदेवार बनाउन नसकिने बताएका छन् । बरु पौडेलको सट्टा उनका पति एवम् नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहलाई चुनावमा प्रत्यक्ष उम्मेदवार बन्न उनीहरुले आग्रह गरेका छन् ।

वाम तालमेलअनुसार दुर्गा पौडेललाई उम्मेदवार बनाउन एमाले र माओवादी केन्द्र सहमत भएको चर्चा छ । तर, माओवादी केन्द्रका सचिवालय सदस्य एवम् प्यूठान जिल्ला इञ्चार्ज कृष्णध्वज खड्काले त्यसलाई खारेज गर्दै अनलाइनखबरसँग भने, ‘यो कुरा सत्य होइन । हामी बरु मोहन विक्रम सिंह वा बामदेव गौतमलाई छाड्न तयार छौं तर, दुर्गा जीलाई प्रत्यक्ष उम्मेदवार बनाउन सहमत छैनौं ।’

खड्कालाई उनको पार्टी माओवादी केन्द्रले प्यूठानबाट प्रत्यक्ष उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ । आफै उम्मेदवारको दावेदार रहेका उनले दूर्गा पौडेललाई समानुपातिक सांसद बनाउन भने सकिने बताए ।

प्रत्यक्ष उम्मेदवारका अर्का दावेदार एमालेका सूर्य थापाले पनि दूर्गालाई भन्दा मोहन विक्रमलाई सूर्य चिन्ह लिएर चुनाव लड्न सुझाव दिए । उनले अनलाइनखबरसँग भने, ‘वाम तालमेल अनुसार हाम्रो पहिलो प्राथमिकतामा बामदेव गौतम जी पर्नुहुन्छ, त्यसपछि माओवादी केन्द्र हुन्छ ।’

जनमोर्चाबाट मोहनविक्रम सिंह उम्मेदवार बनेमा उनलाई ससम्मान चुनाव जिताउन भूमिका खेल्ने उनले बताए ।

प्यूठानमा एमाले पहिलो पार्टी हो । प्यूठान एमालेले बामदेव गौतमलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको छ । तर, गौतम बर्दियाबाट चुनाव लड्ने तयारीमा रहेको चर्चा छ । यस्तो अवस्थामा एमालेबाट सूर्य थापा उम्मेदवार बन्नेछन् ।

माओवादी केन्द्रले कृष्णध्वज खड्कालाई सिफारिस गरेको छ भने नेपाली कांग्रेसबाट डा. गोविन्द पोखरेल उम्मेदवार बन्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment