Comments Add Comment

हङकङसँग किन हार्‍यो नेपाल, प्रशिक्षक र कप्तान यसो भन्छन्

२७ असोज, काठमाडौं । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले नेपाली टोलीले हङकङसँगको हारको कारण ब्याट्सम्यानको कमजोरी भएको टिप्पणी गरेका छन् ।

खेलपछि पत्रकारहरुसँग कुरा गर्दै प्रशिक्षक टमाटाले भने, ‘हामीले आजको म्याच ब्याट्सम्यानहरुकै कमजोरीले हार्‍यौं, उनीहरुले आफ्नो जिम्मेबारी बहन गर्न सकेनन्, ओपनर चाँडै आउट हुँदा पछिका ब्याट्सम्यानहरुलाई प्रेसर थपिँदै गयो ।’

‘हामीले ठूलो प्रतियोगिता जित्ने लक्ष्य बनाउछौं भने ब्याट्सम्यानले जिम्मेबारी बोध गर्नैपर्छ ।’ उनले थपे, ‘जस्तो विकेटमा पनि हामीले राम्रो क्रिकेट खेल्न सक्छौं भनेर ब्याट्सम्यानले आफूलाई प्रमाणित गर्नुपर्छ ।’ उनले आजको खेल ब्याट्सम्यानहरुका लागि सबक भएको समेत बताए । अर्को खेलमा यस कमजोरी सुधार्ने अपेक्षा प्रशिक्षक टमाटाले गरेका छन् ।

प्रशिक्षक टमाटाले नेपालले तेस्रो विकेटको रुपमा दिपेन्द्र सिंहको आउटमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाएका छन् । ‘हामीले पछि भिडियो हेर्दासमेत बलले दिपेन्द्रको ब्याट छोएको देखिएन, उनलाई आउट गर्नु हाम्रा लागि म्याचको टर्निङ प्वाइन्ट थियो ।’ उनले भने ।

प्रशिक्षक टमाटाले अम्पायरको कमजोरी भएको म्याच रिपोर्टमा उल्लेख गर्ने बताएका छन् ।

आइतबारको खेलका लागि शनिबारको अभ्यास र पिचको कन्डिसनलाई हेरेर निर्णय लिने टमाटाले बताए ।

ब्याट्सम्यानहरुको आलोचना गरिरहँदा प्रशिक्षक टमाटाले बलरहरुको प्रदर्शनको खुलेरै तारिफ गरे । भने, ‘हामीले योजना अनुसार नै टस जितेर बलिङ रोजेका थियौं र हाम्रो निर्णय सहि सावित भयो ।’ हङकङलाई उसकै मैदानमा १९४ मा रोक्नु बलरहरुको शानदार प्रदर्शन भएको उनको टिप्पणी थियो ।

त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि ब्याटिङकै कमजोरीले पराजित हुनुपरेको स्वीकारे । उनले भने, ‘हाम्रा लागि १९५ को लक्ष्य त्यति ठूलो थिएन, तर अपेक्षाअनुसार ब्याटिङ गर्न सकिएन ।’

कप्तान पारसले पनि दिपेन्द्रको आउट अम्पाएको गलत निर्णय भएको बताए । दिपेन्द्र आउट हुँदा पारस अर्को एण्डमा थिए । पारसले भने, ‘उसलाई आउट दिएपछि हामी झन दवावमा पर्‍यौं तर, कहिलेकाहीँ यस्तै हुन्छ ।’

पारसले अर्को खेलमा अहिलेका गल्ती सुधार गरी जित हासिल गर्ने र २ अंक जोड्ने बताएका छन् ।

‘राष्ट्रिय टोलीबाट जानीजानी कसैले पनि नराम्रो खेल्दैन, हामीले हाम्रो शतप्रतिशत दिएका हौं ।’ कप्तान पारसले भने, ‘च्याम्पियनसिपमा शीर्ष चारमा पुग्न सकिएन भने डिभिजन टू जितेर फेरि डिभिजन वानमा फर्किनेछौं, यसैपनि हामी डिभिजन पाँच, चार, तीन हुँदै अहिले पहिलो डिभिजनमा आएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment