काठमाडौं । मधुमेहको औषधि सेवन गरिरहेका, इन्सुलिन लिइरहेका र मधुमेहका कारण स्वास्थ्यमा जटिलता झेलिरहेकाहरुले थाहा पाउनैपर्छ, आफ्नो ब्लड सुगरको स्तर ।
मधुमेह रोगीले हरेक ठोस भोजन (बिहानको खाजा, दिउँसोको खाना र रातिको खाना) पछि आफ्नो ब्लड सुगर थाहा पाउनुपर्ने र सुगरको स्तरअनुसार नै खानपान र इन्सुलिन लिनुपर्छ ।
तर, आफ्नो शरीरको सुगर लेबल जाँच्न दिनदिनै अस्पताल/मेडिकल धाउन सम्भव हुन्छ त ? व्यावहारिक रुपले पक्कै हुँदैन ।
साथै, प्रयोगशालाको कष्टकारक ब्लड ड्रोइङ र उच्च मूल पनि बिरामीका लागि प्रयोगात्मक हुन सक्दैन । यस्तो परिस्थितिमा चिकित्सकहरु विरामीलाई घरमै ब्लड सुगरको जाँच गर्न सल्लाह दिने गर्छन् । अरु कसैको सहायताबिना पनि जाँच्न सकिने भएकाले यो पद्धतिलाई ‘सेल्फ मोनिटरिङ अफ ब्लड ग्लुकोज’ भनिन्छ ।
यसका लागि आवश्यक हुन्छ, ग्लुकोमिटर । यो सुगर लेबल जाँच गर्ने यन्त्र हो । यसलाई गोजीमा बोकेर हिँड्न सकिन्छ ।
यो यन्त्रको काम हो, केसिका (धमनी) मा भएको ब्लड ग्लुकोज मापन गर्ने । यसले शिरबाट गरिएको टेस्टभन्दा १० देखि १५ प्रतिशत बढी रिडिङ दिन्छ । ग्लुकोमिटरले ब्लड ग्लुकोज जाँच्न रगतको सानो थोपा काफी हुन्छ । आफैंले ब्लड ग्लुकोजको मोनिटरिङ गर्ने गर्दा औषधिको प्रभाव, ब्लड ग्लुकोजमा खानेकुराको असर, हाइपोग्लाइसेमिया, कोमाजस्ता मेडिकल इमरजेन्सीको आकलन गर्न सकिने हुँदा सबै मधुमेह रोगीले यसको आफैं निगरानी गर्ने विधि सिक्नुपर्छ ।
कसरी जाँच्ने ?
१) मधुमेहको स्तर आफै जाँच गर्न ग्लुकोमिटरको आवश्यक हुन्छ । यो यन्त्रका तीन वटा पाटपुर्जा हुन्छन्, डिजिटल यन्त्र, टेस्ट स्टि्रप र रगत निकाल्ने ल्यानसेट ।
२) ब्लड सुगर आफैं जाँच्न सर्वप्रथम तातोपानीले हात धोएर सफा तौलियाले पुछेर सुख्खा बनाउनुपर्छ ।
३) बट्टाबाट ल्यान्सेट निकालेर पंचरिङ पेनमा फिट गर्नुहोस् । कति गहिरो पि्रक गर्नुपर्ने हो सोहीअनुसार टुप्पामा भएको ढक्कन हटाएर टिप एक्सपोज गर्नुहोस् । पेनमा अंक सेट गर्नुहोस् ।
४) अब ग्लुकोमिटर अन गरी त्यसमा टेस्ट स्ट्रिप फिट गर्नुहोस् । मिटरले रगत मागेको संकेत गर्छ ।
५) अब कुनै एक औंलाको टुप्पालाई रेक्टिफाइड स्पि्रटले राम्ररी सफा गर्नुहोस् ।
६) पंचरिङ पेनमा भएको ल्यान्सेटलाई सफा गरिएको औंलामा टाँसेर पेनको बटम दबाउनुहोस् ।
७) औंलालाई विस्तारै निचोरेर रगतको सानो थोपा निकाल्नुहोस् ।
८) रगतको थोपालाई टेस्ट स्ट्रिपको टुप्पामा छुवाइदिनोस् । रगत विस्तारै टेस्ट स्टि्रपमा जान्छ र केही सेकेन्डमै तपाईंको ब्लड सुगरको लेबल देखाइदिन्छ ।
९) रिडिङ आइसकेपछि ल्यान्सेट र स्टि्रपलाई सुरक्षित ठाउँमा विसर्जन गर्नुहोस् ।
१०) औंलाबाट खुन ज्यादा हुन नदिन सफा कटनले औंला थिचिरहनोस् ।
यस्तो छ फाइदा
१) कुन खानेकुराले कति ब्लड ग्लुकोज बढाउँछ भन्ने थाहा पाउन मद्दत गर्छ ।
२) कुनै औषधिले कति काम गर्दो रहेछ, कुन स्तरसम्म सुगर कन्ट्रोल गर्दो रहेछ भन्ने थाहा पाउन मद्दत गर्छ ।
३) हाइपोग्लाइसेमिया कोमा ब्लड ग्लुकोज कम भएर हुने बेहोसी ठम्याउन मद्दत गर्छ ।
४) ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
जाँच कतिखेर गर्ने ?
१) लामो यात्रामा जानुअघि ।
२) कडा शारीरिक परिश्रम गर्नुअघि र पछि
३) पावरटुलहरु चलाउँदा
४) इन्सुलिनको मात्रा मिलाउनुअघि र पछि ।
५) खानामा गडबडी हुन गएमा ।
६) तनावको स्थितिमा ।
प्रतिक्रिया 4