Comments Add Comment

सडक निर्माणका कारण ध्वस्त हुँदैछन् पदमार्ग

चर्चित ट्रेकिङ रुट सडकमा परिवर्तन हुँदै

३० असोज, काठमाडौं । पदमार्गलाई नै आधार बनाएर सडक निर्माण हुँदा पर्यटकीय पदमार्गहरु नष्ट हुन  थालेका छन् ।

पहाडी र हिमाली भेगमा रहेका पदमार्ग नै नेपाली पर्यटन उद्योगका मुख्य आधारशिला बन्दै आएका थिए । अहिले तीमध्ये अधिकांशमा धुले सडक निर्माणका कारण पर्यटकले पैदल यात्रा रुचाउन छाडेका छन् ।

पदमार्गका विभिन्न स्थानमा खुलेका होटेल र चिया पसलको व्यापारसँगै भरियाहरुको रोजगारीसमेत चौपट भएको छ ।

अहिले पर्यटकहरु सवारी साधनमार्फत् मनाङको चामे पुग्छन् । अहिले मनाङ पुग्ने २५ प्रतिशत पर्यटक मात्रै हिँडेर जान्छन् । सडककै कारण अन्नपूर्ण ट्रेकिङ रुट पहिलेजस्तो शान्त छैन

लमजुङको बेसीशहरदेखि मनाङ र मुस्ताङ हुँदै पोखरा जोडिने अन्नपूर्ण ट्रेकिङ रुटको यात्रा गर्न १० वर्ष अघिसम्म कम्तिमा २० दिन छुट्याउनु पर्थ्यो । सोही रेखामा सडक निर्माणका कारण पैदल यात्रा असम्भवजस्तै बनेको छ, उक्त रुटमा । र, यात्रा पनि सातादिनमा खुम्चिएको छ ।

अहिले पर्यटकहरु सवारी साधनमार्फत् मनाङको चामे पुग्छन् । अहिले मनाङ पुग्ने २५ प्रतिशत पर्यटक मात्रै हिँडेर जान्छन् । सडककै कारण अन्नपूर्ण ट्रेकिङ रुट पहिलेजस्तो शान्त छैन । कुइरीमण्डल धुलो उडाउँदै हुइँकिएका सवारी साधनका कारण उक्त रुटमा पैदल यात्रा असम्भवजस्तै छ ।

सडकको डिजाइन गर्दा पदमार्ग बचाउने सोच नै नभएका कारण यस्तो अवस्था आएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल -टान)का महासचिव कर्ण लामा बताउँछन् ।

अहिले सवारी साधनबाटै बेसीशहरबाट चामे हुँदै माथिल्लो मनाङसम्म पुग्न सकिन्छ । चामेबाट पिसाङ, याकखर्क हुँदै मुक्तिनाथ पुग्न ६ दिन लाग्छ । मुक्तिनाथ पनि बागलुङ-जोमसोम सडकमा जोडिइसकेको छ ।

होटेल-लज व्यवसाय चौपट

पदमार्गमा पर्यटकको ओहोरदोहोर कम भएपछि त्यसमा पर्ने होटेल, रेस्टुराँ र लजहरुको व्यवसाय सुक्दै गएका छन् । केही त बन्दै भइसके ।

सडकले स्थानीय बासिन्दाको दिनचर्या त सहज भएको छ, रोजीरोटी भने गुमेको छ ।

पदमार्ग मासिएसँगै पर्यटन व्यवसायीको आम्दानी पनि घटेको छ । स्थानीय कृषि उपज पहिले हातहातै बिक्री हुन्थे । अहिले बजार नै पुर्‍याउनुपर्ने भएको छ ।

अन्नपूर्ण फेरोमा पर्ने न्यादीमा केही वर्ष अघिसम्म १२ वटा लज सञ्चालनमा थिए । अहिले तीन वटामा सीमित भएका छन् ।

लमजुङको बाहुनडाँडामा पाँच वटा लज थिए, अहिले दुई मात्र । पदमार्ग मनाङको तालस्थित बस्ती हुँदै अगाडि बढ्थ्यो । अहिलेको सडक उक्त बस्तीसम्म पुग्दैन । सोही कारण त्यहाँ रहेका सबैजसो होटेल बन्द भएका छन् ।

बेरोजगार बन्दै भरिया

सडकको पहुँचसँगै तराई र भारतबाट आयातीत सामान सीधै मनाङ पुग्छन् । केही वर्ष अघिसम्म त्यस्ता सामान भरियाले बोकेर लैजान्थे । एक पर्यटकका साथमा दुई भरिया हुन्थे ।

सडक उकालो लाग्दै गर्दा एभरेस्ट ट्रेकिङ रुट पनि जोखिममा पर्न थालेको छ । यसअघि दोलखाको जिरीबाट सगरमाथा आधारशिविर पुग्न सातादिन लाग्थ्यो । अहिले रामेछापको शिवालयसम्म सडक तयार भइसकेको छ

पहिले पोखराबाट जोमसोम हुँदै मुक्तिनाथ पुग्न एक साता लाग्थ्यो । अहिले एक दिनमै पुगिन्छ । बीचका चिया पसल र व्यवसाय धरासायी बनेका छन् ।

लामाका अनुसार म्याग्दीको बेनी, बागलुङको बसेरी तथा मुस्ताङका दाना, रुप्सेछारा र कालापानी धासाका होटेल/रेस्टुराँ व्यवसाय चौपट भएको छ ।

एभरेस्टमा पनि उस्तै

सडक उकालो लाग्दै गर्दा एभरेस्ट ट्रेकिङ रुट पनि जोखिममा पर्न थालेको छ । यसअघि दोलखाको जिरीबाट सगरमाथा आधारशिविर पुग्न सातादिन लाग्थ्यो । अहिले रामेछापको शिवालयसम्म सडक तयार भइसकेको छ । त्यहाँबाट लुक्ला पुग्न मात्र तीन दिन लाग्छ ।

धुनुबेसी, खरिखोला र राक्सिन्डोका अधिकांश लज बन्द हुने स्थितिमा छन् । स्थानीय बासिन्दामा पनि पदमार्ग बचाउनुपर्ने चेत देखिँदैन । पर्यटन व्यवसायीले पनि त्यसका लागि आवाज उठाउन सकेका छैनन् ।

पर्यटकका लागि भने यसले खर्च घटाएको छ । र, जोखिमपूर्ण नै सही पर्यटकले पनि गाडी चढेरै पदमार्गको फेरो लगाउन थालेका छन् ।

उत्तर-दक्षिण व्यापारिक मार्ग निर्देशनालय प्रमुख भीमार्जुन अधिकारी भन्छन्, ‘पदमार्ग निर्माण र संरक्षण गर्ने काम जिविसको हो । हाम्रो काम त सडक बनाउने हो । त्यसैले पदमार्ग संरक्षणभन्दा पनि सडक निर्माणमै केन्दि्रत छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment