Comments Add Comment

कांग्रेससँग १५ सिटमा तालमेल गर्ने बाबुरामको प्रस्ताव

राजपा र फोरमसँग बेग्लै छलफल

३० असोज, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रतिनिधि सभाका १५ सिट आफ्नो दलले पाउने गरी नेपाली कांग्रेससँग तालमेलको प्रस्ताव राखेका छन् ।

डा. भट्टराई सोमबार तालमेलको प्रस्ताव लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा कांग्रेस नेताहरु आन्तरिक छलफलमा व्यस्त भएकाले बाबुरामको प्रस्तावमाथि विस्तृत छलफल हुन नपाएको नयाँ शक्तिका एक नेताले अनलाइनखबरलाई बताए ।

नयाँ शक्ति पार्टीले एमाले-माओवादी गठवन्धनसँग प्रतिनिधिसभामा १५ र प्रदेशसभामा ३० सिट दावी गरेको थियो । तर, वाम गठवन्धनले नयाँशक्तिको प्रस्ताव अस्वीकार गरेपछि डा. भट्टराई कांग्रेससँग तालमेलको प्रयासमा जुटेका हुन् ।

तालमेलको प्रस्ताव लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका भट्टराईलाई कांग्रेस नेताहरुले सकारात्मक जवाफ दिएको नयाँ शक्तिको दाबी छ ।

कांग्रेस नयाँ शक्तिसँग तालमेलका लागि तयार रहेको भन्दै जित्ने निश्चित भएका निर्वाचन क्षेत्र प्रस्ताव गर्न कांग्रेस नेताहरुले डा. भट्टराईलाई सुझाएका छन् ।

गोरखा क्षेत्र नम्बर २ डा. भट्टराईलाई छाड्न कांग्रेस नेताहरु सहमत भइसकेका छन् । त्यस वापत एक नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सघाउने छ ।

गोरखा २ मा डा. भट्टराई र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठलाई एमालेको साथ रहने छ भने भट्टराईले कांग्रेसको साथ पाउने छन् ।

नयाँ शक्तिले प्रत्यक्षतर्फ अहिलेसम्म पाँच जना उम्मेदवारको मात्र नाम सार्वजनिक गरेको छ । ती क्षेत्रमा कांग्रेसले आफूलाई सघाउनुपर्ने नयाँ शक्तिको माग छ ।

स्रोतका अनुसार मंगलबार कांग्रेस र नयाँ शक्तिबीच चुनावी तालमेलबारे ठोस छलफल गर्ने सहमति बालुवाटारमा भएको छ ।

राजपा र फोरमसँग बेग्लै छलफल

यसैबीच नयाँ शक्ति पार्टीले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग पनि तालमेलको प्रयास गरिने जनाएको छ ।
मधेस केन्दि्रत दुवै दलसँग चुनावी तालमेलका विषयमा दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको र त्यसपछि शीर्ष तहमा छलफल गरिने नयाँ शक्तिका एक नेताले अनलाइनखबरलाई बताए ।

वाम गठवन्धनबाट अलग्गिएको नयाँ शक्ति पार्टी एकातर्फ नेपाली कांग्रेससँग र अर्कोतर्फ मधेस केन्दि्रत दलसँग तालमेल गरेर भए पनि आफ्नो अस्तित्व जोगाउने रणनीतिमा लागेको हो ।

वाम गठवन्धनभित्र माओवादी केन्द्रले आफूलाई अपमानित गरेको महसुस गरेपछि डा. भट्टराई कांग्रेससँग मिलेर भए पनि एमाले-माओवादीलाई जवाफ दिने ध्याउन्नमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment