Comments Add Comment

म्यादी प्रहरीमा तीन गुणा बढीको आवेदन

१ कात्तिक, काठमाडौं । म्यादी प्रहरीका लागि माग संख्याभन्दा तीन गुणा बढी आवेदन परेको छ । ९८ हजार माग भएकोमा लागि २ लाख ९५ हजार बढीको आवेदन परेको हो ।

जसमध्ये स्थानीय तह निर्वाचनमा भर्ना भएकामध्ये ४५ हजार बढीले पनि पुनः आवेदन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले २४ असोजमा एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको थियो । प्रधान कार्यालयले सबै जिल्लामा भर्ना लिन सक्नेगरी भर्ना आह्वान गरेको थियो ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेका अनुसार म्यादी प्रहरीको छनोट कार्य भने भाइटीकाको भोलिपल्टबाट सुरु हुनेछ ।

‘हामीले सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने व्यवस्था गरेका थियौं, जसमा उत्साहजनक सहभागिता मात्रै भएन, आवेदन पनि धेरै नै परेको छ, तिहारपछि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले छनोट कार्य सुरु गर्नेछ,’ प्रहरी प्रवक्ता न्यौपानेले भने ।

प्रहरीले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्ने, कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको हुनुपर्नेजस्ता मापदण्ड तोकेको थियो । त्यसैगरी नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त हुनुपर्ने उल्लेख गरेको थियो । शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै योग्य मानिने उल्लेख थियो ।

म्यादी प्रहरीको छनोट ५ कात्तिकदेखि ८ कात्तिकसम्म सक्ने प्रहरी प्रधान कार्यालयको कार्यतालिकामा उल्लेख छ । म्यादी प्रहरीले नेपाल प्रहरीको जवानसरह ५५ दिनको पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउनेछन् ।आजको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment