Comments Add Comment

तोकिएकै समयमा चुनाव हुन्छः प्रधानमन्त्री देउवा

'आयोगलाई सम्पूर्ण सहयोग हुन्छ'

२ कातिक, काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर १० र २१ गते नै हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका निर्वाचन आयोगका पदाधिकारीहरुसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न आयोगलाई सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयुक्तहरुसहितको टोलिसँग प्रधानमन्त्री देउवाले चुनावको तयारी सन्तोषजनक रहेको बताएका छन् ।

साथै निर्वाचन आयोगलाई प्रधानमन्त्री देउवाले निर्धक्क भएर निर्वाचनको तयारी गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपाल सरकारले तोकेको निर्वाचन सफलतापूर्वक सम्पन्न बनाउनका लागि आयोगले कार्यतालिका बनाएर काम गरिरहेको बताए ।

भेटमा आयोगका पदाधिकारीहरू र प्रधानमन्त्री देउवाबीच दीपावली तथा छठलगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान समेत भएको थियो ।

भेटमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, आयोगका आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment