+
+
Shares

ग्रेड नहुँदा ठूला आयोजनामा नेपाली सिमेन्ट प्रयोग गर्न समस्या

सलमान खान सलमान खान
२०७४ कात्तिक ४ गते १०:१८


४ कात्तिक, भैरहवा । पछिल्लो समय नेपाल सिमेन्टमा आत्मनिर्भर बन्दै गएको छ । १० वर्ष अघिसम्म करिब ५० प्रतिशत सिमेन्ट भारतबाट आयात हुन्थ्यो ।

तर, नापतौल तथा गुणस्तर विभागले नेपाली ओपीसी र पीपीसी सिमेन्टलाई ग्रेड (भारवहन क्षमता) नम्बर लेख्न नदिँदा ठूला राष्ट्रिय गौरवका आयोजनामा अझै पनि स्वदेशी उत्पादन प्रयोग न्यून छ ।

स्वदेशी योजना तथा सरकारी कार्यालयमा सम्भव भएसम्म १० प्रतिशत महँगो भए पनि स्वदेशी बस्तुको प्रयोग गर्ने सरकारी नीति छ । तर, सरकारकै अर्को निकाय नेपाल गुणस्तर तथा नापतौल विभागले ग्रेड नम्बर लेख्न नदिएकै कारण स्वदेशका ठूला आयोजनाको उत्पादन उपयोग हुन नसकेको हो ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने आयोजनाहरुमा ४३ तथा ५३ ग्रेडको सिमेन्ट प्रयोग गर्नुपर्ने सर्त छ । यस्तो ग्रेड नम्बर लेख्ने अनुमति नापतौल तथा गुणस्तर विभागले दिनुपर्छ । सोही कारण राष्ट्रिय गौरवका आयोजनाहरुमा भारतीय सिमेन्ट प्रयोग हुँदै आएको छ ।

सरकारलाई कर तिरेका कारण गुणस्तरका आधारमा नेपाली सिमेन्टलाई पनि ग्रेड दिनुपर्ने वा सो सरहको गुणस्तर भएकालाई आयोजनाहरुमा मान्यता दिनुपर्ने सिद्धार्थ सिमेन्टका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजेश अग्रवाल बताउँछन् ।

‘जुन उद्योगको जुन किसिमको गुणस्तर छ, त्यही किसिमले उक्त उद्योगको सिमेन्टलाई ग्रेडको मान्यता दिएमा हामीलाई सहज हुन्थ्यो,’ उनी भन्छन्, ‘हामी पनि आफ्नो गुणस्तर देखाउन सक्थ्यौं ।’

नेपाली सिमेन्ट जतिसुकै गुणस्तर भए पनि वैदेशिक लगानीमा निर्माण हुने ठूला आयोजनाहरुमा सम्झौतामै निर्माण सामग्रीको ग्रेड नम्बर तोकिएको हुन्छ । स्वदेशी उत्पादनलाई त्यस्तो नम्बर उपलब्ध नगराइएका कारण भारतीय उत्पादन प्रयोग गर्न बाध्य हुनु परेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।


ग्रेडको समस्या कायमै रहेका कारण भारतबाटै आयात गर्नु परिरहेको उक्त आयोजनाका प्रमुख ओम शर्मा बताए । ग्रेड नपाएकै कारण नेपाली सिमेन्ट कम गुणस्तरका हुन सक्ने शंका उपभोक्तामाझ देखिएको सिमेन्ट उद्योगीहरु बताउँछन् ।

अहिले सबै उद्योगबाट उत्पादित सिमेन्टलाई एउटै मापदण्डमा राखेर गुणस्तर विभागले गुणस्तर चिन्ह मात्र दिने गरेको छ ।

रुपन्देहीमा मात्रै करिब एक दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन् । ती उद्योगहरुमा ५० अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको छ ।

रुपन्देहीमा हाल बेलहिया-बुटवल ६ लेन व्यापारिक मार्ग, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणाधीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?