
२६ वैशाख, काठमाडौं । भारत सरकारले त्यहाँको समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएको छ । भारत र पाकिस्तानबीच जारी तनावबीच यसका सामग्रीलाई लिएर सरकारले प्रतिबन्ध लगाएको हो ।
यो अनलाइनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका गतिविधिहरूमाथि आलोचनात्मक सामग्रीहरू पस्किँदै आएको थियो । द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनका अनुसार, कम्तिमा दुई वटा इन्टरनेट सेवा प्रदायकले सेवाग्राहीलाई सरकारको आदेश अनुसार ‘द वायर’ नखुलेको सूचना दिएको छ ।
‘यो प्रतिबन्ध पूर्ण लागू नहुञ्जेल केही पाठकहरूले अझै पनि वायर पढ्न पाउनु हुन्छ होला, तर भीपीएनमार्फत वायर पढ्न सकिन्छ’, उनले भनेका छन्, ‘त्यसैले मोदीको महान पर्खालको बाहिर पनि जीवन छ र विदेशमा रहेका पाठकहरूले पनि हामीलाई पढ्न सक्छन्, तर हामी छिट्टै एउटा मिरर साइट सुरु गर्नेछौं ।’
द वायरले सामाजिक सञ्जाल एक्समा सूचना जारी गर्दै सरकारको यो कदमलाई संविधानले दिएको प्रेस स्वतन्त्रताको उल्लंघन भनेको छ ।
‘हामी अत्यन्त संवेदनशील समयमा भएको यो प्रतिबन्धतको विरोध गर्छौं, जतिबेला विवेकपूर्ण, सत्यनिष्ठ, निष्पक्ष र तर्कसंगत आवाज तथा समाचार स्रोतहरू आवश्यक छ’, सूचनामा भनिएको छ, ‘यो कमदविरुद्ध हामीले आवश्यक कदमहरू पनि चालिरहेका छौं ।’
सूचनामा ‘सत्य र यथार्थ समाचार सम्प्रेषण गर्न पछि नहट्ने’ समेत भनिएको छ । भारतीय अखबार द हिन्दुका पूर्वसम्पादक सिद्धार्थसहितको समूहले सन् २०१५ मा वायरको स्थापना गरेको थियो ।
भारतमा सरकारबाट स्वतन्त्र रहेका सीमित समाचार संस्थाहरूमध्ये गनिने वायरविरुद्ध विभिन्न व्यवसायी, राजनीतिज्ञ लगायतले मानहानीका थुप्रै मुद्दाहरू दायर गरेका छन् ।
केही महिनाअघि ‘द काराभान’ म्यागजिनले कश्मिरमा भारतीय सेनाबारे रिपोर्टिंग छापेका बेला पनि सञ्चार मन्त्रालयले अनलाइनबाट हटाउन निर्देशन दिएको थियो । ‘द काराभान’ म्यागजिन पनि भारतमा सत्तालाई प्रश्न गर्ने सीमित सञ्चारमाध्यमहरूमध्ये पर्छ ।
प्रतिक्रिया 4