Comments Add Comment

सानी छोरीको ‘आमा’ बन्नुपर्दा, पुरुषोत्तमको गृहिणी अनुभव

‘मेरी ममी खोई ?’ यो अवोध प्रश्नको जवाफ छैन, पुरुषोत्तम प्रधानसँग । तीन वर्षे छोरीले यस्तो प्रश्न कहिल्यै नसोधे हुन्थ्यो भन्ने लाग्छ उनलाई ।

चिनाइहालौं, पुरुषोत्तम प्रधान चल्तापुर्जा सिनेम्याटोग्राफर हुन् । पछिल्ला समयमा प्रदर्शित अधिकांश हिट फिल्म उनैले दृश्यांकन गरेका हुन् । बर्सेनिजसो ‘उत्कृष्ट सिनेम्याटोग्राफर’को अवार्डमा उनकै वर्चश्व रहन्छ ।

रंगीन दुनियाँमा हेलिएका उनको आफ्नै जीवन भने कताकता ‘ब्ल्याक एन्ड ह्वाइट’ लाग्ने ।

एकातिर उनलाई फिल्म छायांकनको कामले भ्याइनभ्याइ हुन्छ, अर्कोतिर छोरीलाई पनि समय दिनुपर्ने । कहिले काम थाति राखेर छोरीलाई घुमाउन फनपार्कतिर लैजान्छन् । कहिले सुटिङ स्पटमै लगेर खेलाउँछन् ।

कामको सिलसिलामा पुरुषोत्तम कहिले घर पुग्न पाउँदैनन्, केही दिनसम्म । छोरीलाई बुवाको अभावले सताउँदो रहेछ । त्यसबेला घरका परिवारले सानी यजश्वीलाई युट्युबमा बुवाको अन्तरवार्ता देखाइदिनुपर्छ । उनी दंग पर्छिन् ।

पुरुषोत्तम घरमा भएको बेला यजश्वी औधी रमाउँछिन् । उनलाई अरुले खुवाउनु पर्दैन । अरुले खेलाउनु पर्दैन । अरुले सुताउनु पर्दैन । उनलाई बुवाको न्यानो छातिमा लपक्क टाँसिन पाएपछि अरु केही चाहिँदैन ।

एउटा मान्छेको मायाले

छोरी यजश्वीका लागि उनी बुवा मात्र होइनन्, ममतामयी आमा पनि हुन् । पुरुषोत्तम चाहन्छन्, ‘छोरीले आमाको अभाव अनुभव गर्न नपरोस् ।’

तर, जतिसुकै स्नेह पोखे पनि त्यो आमाले दिनेबराबर हुँदैन रहेछ । आखिर बच्चालाई आमाको तिर्सना लाग्दो रहेछ । र, त्यो दुनियाँका अरु कसैले मेटाउन नसक्ने रहेछ ।

‘बच्चाका लागि आमाजतिको अरु कोही हुँदैन,’ एक फिल्मको सेटमा भेटिएका पुरुषोत्तमले सुनाए, ‘हामीले जतिसुकै माया दिए पनि त्यो पुग्दो नहुने ।’ हुन त, उनले सकेसम्म, भ्याएसम्म, जानेसम्म सबैथोक गरेकै छन् । सबैकुरा दिएकै छन् । तर, आमाको काख ?

त्यसमा भने उनी हारेका छन् ।

‘साह्रै नमिठो लाग्छ,’ पुरुषोत्तमको अनुहार एकाएक धुम्मियो, ‘बच्चाले आमा खोजेको बेला ।’ हुन त, पुरुषोत्तमले भ्याएसम्म बच्चालाई समय दिएका छन् । जानेसम्मको लालनपालन गरेका छन् । सकेसम्मको खुशी दिएका छन् ।

आमा बन्नुपर्दा

पुरुषोत्तमले अक्सर छोरीका लागि आमा बन्नुपर्छ । त्यसैले उनलाई थाहा छ, छोरीले के खान्छिन्, के खाँदिनन् । उनलाई थाहा छ, छोरीले के मन पराउँछिन्, के मन पराउँदिनन् । उनलाई थाहा छ, छोरी कसरी खुशी हुन्छिन्, कसरी दुःखी । उनलाई थाहा छ, छोरी कुनबेला सुत्छिन्, कुनबेला खान्छिन् ।

हुन त, पुरुषोत्तम उतिधेरै घरमा बस्न पाउँदैनन् । महिनौंसम्म घरबाहिरै हुनुपर्ने । जब सुटिङ प्याकअप हुन्छ वा ब्रेकको समय हुन्छ, त्यसबेला उनको आँखामा झलझली अवोध छोरीको अनुहार नाच्न थाल्छ । सोच्छन्, ‘यतिबेला छोरीले मलाई नै सम्भिmरहेकी होलिन् ।’

काठमाडौंमा सुटिङ भएको बेला भने उनी छोरीसँगै हुन्छन् । सुटिङ नभएको बेला बच्चासँगै खेल्छन् । खेलाउन लान्छन् । राति आफूसँगै सुताउँछन् । छातिमा टाँसेर लोरी गाइदिन्छन् ।

नक्सालस्थित घरबाट नजिकै नारायणचौरमा पार्क छ, त्यहाँ पुर्‍याएर खेलाउँछन् ।

यजश्वीको खानपान चार्ट

‘आमाको दूध बच्चाका लागि अमृतसमान’ भन्ने थाहा भए पनि त्यो प्राकृतिक खान्की छोरीले गुमाइन् । यद्यपि, उनलाई सकेसम्म पोषिलो र सन्तुलित खानेकुरा दिने गरिएको छ । उसको उठ्ने, सुत्ने तालिका नियमित छ । खानपान सन्तुलित छ । सकेसम्म खुशी राख्न खोजिन्छ ।

छोरी बिहान सात बजे उठ्छिन् । उठेपछि नास्ता खोज्छिन् । नास्तामा उनलाई सधैं एकैनास खानेकुरा रुच्दैन । दुधबाहेकका हरेक दिन भिन्न भिन्नै स्वाद हुनुपर्छ । चिज भने चाहिन्छ नै । तातोपानीमा उमालेर चिज दिने गरेका छन् । पुरुषोत्तमले नै हो, चिज खाने बानी पारेको । नास्तामा कहिले टोस्ट बिस्कुट, कहिले ब्रेडमा जाम वा बटर ।

यजश्वीले औधी मन पराउँछिन्, स्याउ । सिजनमा आँपको स्वाद पनि मन पराउँछिन् । यसरी मौसमअनुसार उपलब्ध हुने फलफूल ख्वाउँछन् । पहिले त जे दियो कपाकप खाइदिन्थिन् । अहिले भने अलि झगडा गर्न थालेकी छन् ।

नास्ता खाइसकेपछि एक/डेढ घन्टा खेल्छिन् । स-साना खेलौना छरपस्ट पारेर खेल्छिन्, युट्युबमा गीत हेर्छिन् । उनलाई के हेक्का छ, ती गीत बुवाले खिचेका हुन् ।

१० बजेतिर यजश्वी उठ्छिन् । त्यसपछि अर्को खुराक खुवाउनुपर्छ । उनलाई बिहानको खानामा ब्राउन राइस दिने गरिएको छ । तर, त्यसको मात्र स्वाद नरुच्ने भएकाले थोरै ह्वाइट राइस पनि मिसाएर पकाउनुपर्छ । कहिले खिचडी, कहिले जाउलो, कहिले सामान्य भात नै दिने गरिएको छ ।

जंक फूडमा बन्देज

छोरीलाई हजुरआमाले खुवाइदिनुपर्छ । आफैं पनि नखाने होइन । तर, थोरै खाइदिन्छिन् । त्यसैले युट्युबमा गीतहरु देखाउँदै भरपेट खुवाउनुपर्छ ।

खानापछि केही घण्टा आफ्नै सुरमा खेल्छिन् । कार्टुन हेर्छिन् । फेरि तीन/चार घण्टा सुत्छिन् । साँझमा उठेर खेल्छिन् । खान्छिन् । दिनभरमा चार/पाँच पटक खुवाउनुपर्छ । कहिले फलफूल, कहिले दुध, कहिले भात । उनीहरुले अहिलेसम्म यजश्वीलाई जंक फुड दिएका छैनन् । सकेसम्म घर बाहिरको खानेकुरा खुवाउने गरिएको छैन । बरु, सागपात, सलादमा अभ्यस्थ गराइएको छ । खानामा मासु पनि सामेल हुन्छ ।

राति आठ बजे उनका आँखा लोलाउन थाल्छन् । त्यसपछि सर्लक्कै ओछ्यानमा सुताउनुपर्छ ।

स्कुल जान आनाकानी

कहिलेकाहीं यजश्वी स्कुल जान आनाकानी गर्छिन् । झगडा गर्छिन् । त्यस्तो बेला जबर्जस्ती उनलाई स्कुल पठाउने गरिएको छैन । बरु, खुशीसाथ घरमै बस्न दिइन्छ । खेल्न दिइन्छ । स्वतन्त्रतापूर्वक ।

दिनभर रमाउँछिन् । भोलिपल्ट स्कुल जान आफैं अग्रसर हुन्छिन् ।

दुई वर्षको उमेरदेखि यजश्वीलाई स्कुल भर्ना गरियो । सुरुमा स्कुल जान बानी पार्नै गाह्रो । पछि विस्तारै बानी पर्‍यो । तर, साथीका कारण उनमा स्कुलप्रति वितृष्णा जाग्न थाल्यो । आफ्नै दौंतरीले उनलाई चलाउने, कुट्ने गर्दा रहेछन् । साथीको डरले उनलाई स्कुल जान गाह्रो भयो ।

‘पछि हामीले स्कुलमै गएर कुरा गरेपछि सबै समस्या ठीक भयो,’ पुरुषोत्तम भन्छन्, ‘बच्चाहरु आफ्नै साथीको व्यवहारका कारण पनि स्कुल जान आनाकानी गर्ने रहेछन् ।’

एउटा प्रश्नको भय

तीन वर्षअघि । जब छोरी यजश्वीले धर्तीमा पाइला टेकिन्, परिवारमा उनको आगमनको खुशियाली छायो । पुरुषोत्तम बाबु बनेका थिए । उनलाई यो अनुभूतीले कताकता लाज, कताकता खुशी लागिरहेको थियो । सबैको बधाइ थापिरहेका थिए । आफ्नै नासो धर्तीमा आएकी थिइन् । यो उनको आफ्नै रगतको पुञ्ज थियो । सबै खुशी थिए । सबै ठीकठाक थियो । तर, त्यो खुशी २४ दिनसम्म पनि टिक्न पाएन ।

एकरात अचानक सुत्केरी अनुको स्वास्थ्यमा गडबडी देखियो । उनको आँखा बन्द भयो । बोली बन्द भयो । र, फेरि उनी चलमलाइनन् । एउटी छोरीलाई जन्म दिएर अनु अस्ताइन् । सधैंका लागि । काखे बच्चालाई के खुवाउने ? कसरी सुताउने ? कसरी फकाउने ?

यी सबै प्रश्नको एकमुष्ठ हल गर्नुपर्ने भयो, पुरुषोत्तमले । नवजात शिशुलाई मामाघर पुर्‍याइयो । आमाको दूधको साटो ‘एसएएम न्युट्रेसन बेबी मिल्क’ दिइयो । मावली हजुरआमा र ठूलीआमाको काखमा उनी हुर्किइन् । एक वर्षपछि उनलाई घर ल्याइयो ।

र, छोरीको लालनपालनमा खटिए, पुरुषोत्तम । कहिले उनी बुवा बने, कहिले आमा र कहिले साथी । यद्यपि, छोरीको मन कहिलेकाहीं भड्किन्छ । उनलाई आमाको ममतामयी काखको तिर्सना लाग्दो हो । सोध्छिन्, ‘आमा खोई ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment