Comments Add Comment

चीनबाट इन्टरनेट आउने भाका सरेको सर्‍यै


६ कात्तिक, काठमाडौं । नेपाल टेलिकमको पछिल्लो दावीलाई मान्ने हो भने कात्तिकको दाेस्राे हप्ताभित्रै नेपाल चिनियाँ इन्टरनेटसँग जोडिने भएको छ । पटक-पटक भाका सार्दै आएको नेपाल टेलिकमले फेरि नयाँ भाका राखेको हो ।

रसुवा नाका भएर नेपालमा चीनबाट इन्टरनेट ल्याउन लागिएको छ । यसअघि झण्डै १० महिनाअघि नै चीनबाट इन्टरनेट ल्याने भनिएको थियो । टेलिकमले यसअघि पनि पटक-पटक चीनसँग इन्टरनेट जोडिने मिति सार्दै आएको छ। यसअिघ असोज मासान्तसम्म चीनसँग इन्टरनेट जोडिने मिति तोकिएको थियो ।

तर, इन्टरनेटलाई चिनियाँ क्षेत्रमा हिउँले अवरोध सिर्जना गरेको थियो । अहिले चीनले हिउँको यस्तो अवरोध छिचोलेर नेपालमा इन्टरनेट ल्याउन तयारी सकिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले दावी गरिन् ।

रि-रुटिङ सकियो

जाडो महिनाभर चीनतर्फ बिग्रिएर मर्मत गर्नुपर्ने भएको इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएको थियो । हिउँले प्रभावित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि-रुटिङ गरेको छ ।

३ किलोमिटर अप्टिकल रुटलाई चीनले रि-रुटिङ गरेर नेपालमा इन्टरनेट पठाउन लगभग तयारी सकाएको छ । चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको ११ पछि चिनियाँ इन्टरनेट नेपालसँग जोडिन लागेको हो ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल अप्टिकल फाइबरमार्फत जोडिइसकेका छन् । टेलिकमकाअनुसार अब यही महिनाभित्रै इन्टरनेट पनि नेपाल आइपुग्नेछ ।

भारतीय एकाधिकार तोडिने

चीनबाट आउने इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिएपछि इन्टरनेटमा भारतीय एकाधिकार समाप्त हुनेछ । चिनियाँ इन्टरनेट टेलिकको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्तामाझ पुग्नेछ ।

ब्यवसायिक रुपमा भारतीय सेवा प्रदायकसँग भन्दा चीनबाट ल्याइने इन्टरनेट थोरै महंगो हुनेछ । तर, चीनमार्फत तेस्रो मुलकका सेवा प्रदायकसँग जोडिने मौका भने यसबाट मिल्नेछ । अब हङकङसँग इन्टरनेटमा आवद्ध हुन पनि यसले सहयोग गर्नेछ ।

यसकोमार्फतबाट चीन हुँदै टेकिलमको इन्टरनेट नेटवर्क अब हङकङसम्म नै जोडिने सहप्रवक्ता सोभन अधिकारीले बताए । टेलिकमले भारतका टाटा, एयरटेल, बीएसएनएल, भारत पन्जाव र रिलायन्सबाट २२ जीबी भोल्युमको इन्टरनेट ल्याइरहेको छ । यसपछि भारतको यो एकाधिकार नेटवर्क सकिनेछ ।

महत्वपूर्ण विकल्प

चीनसँग स्थल मार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने अपेक्षा छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय कनेक्टिभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प हो ।

अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भइसकेको छ । यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो ।

नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन लागेको हो ।

चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ । चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको छ ।

चीनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment