Comments Add Comment

राज्यकै प्राथमिकतामा परेन क्यानोनिङः कानुन र कार्यविधि निर्माणमा उदासिन

बीमा नै नगरी साहसिक खेल सञ्चालनमा

६ कात्तिक, काठमाडौं । अन्नपूर्ण ट्रेकिङ रुटमा पर्ने बेसीशहरदेखि मनाङको चामेसम्म पुग्न पैदल यात्राको समय एक साता हो । यस रुटमा गाडी सञ्चालनमा आएपछि एक दिनमै पुग्न सकिन्छ, चामे । उक्त रुटलाई पुनः एक साताको बनाउन क्यानोनिङ विकल्प हुन सक्छ । तर, सरकारको नजरमा पर्न सकेको छैन, उक्त साहसिक खेल ।

सडक सञ्जालका कारण पदमार्ग ध्वस्त हुँदै गएका छन् । पर्यटकको बसाइ छोटिँदै जानुको एक मुख्य कारण हो यो । क्यानोनिङजस्ता ‘एडभेन्चर टुरिजम’को प्रवर्द्धन गर्न सके फरक ढंगबाट पर्यटकको बसाइ लम्व्याउन सकिने विज्ञहरुको राय छ ।

ऐन, नियम अभावमा क्यानोनिङ फस्टाउन नसकेको व्यवसायीहरु बताउँछन् । यसका लागि स्थायी संरचनाहरु नै निर्माण हुन सकेका छैनन् । कार्यविधि अभावका कारण यसमा व्यावसायिकताले प्रवेश पाएको छैन ।

कानूनी व्यवस्था अभावकै कारण व्यवसायीहरु लगानी गर्न हिच्किचाइरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका महासचिव तथा क्यानोनिङ एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष कर्ण लामा बताउँछन् । भन्छन्, ‘राज्यको ठूलो आम्दानीको स्रोत गुमिरहेको छ ।’

उनका अनुसार एक पर्यटकले एक स्थानमा मात्रै क्यानोनिङ गर्दा ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च हुन्छ । त्यसमा एक भरिया र एक क्यानोनिङ गाइडले पनि रोजगारी पाउँछन् । गाइडले न्यूनतम ३५ सय रुपैयाँसम्म पाउने गरेका छन् ।

त्यसवापत पर्यटकले राज्यलाई १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ११ प्रतिशत कर तिर्छन् ।

लामाका अनुसार यसका लागि छुट्टै कार्यविधि आवश्यक छ । अहिले एक पर्वतारोहीबराबर पाँच हजार डलरको बीमा गर्नु पर्छ । क्यानोनिङ गर्दा पनि सोही प्रावधान आकर्षित हुन्छ ।

लामा भन्छन्, ‘बीमा गर्नुपर्छ एक साताको, क्यानोनिङ एक घण्टामै सकिन्छ । अनि, हिमाल यात्राबराबरको खर्च हुने क्यानोनिङतिर को आकषिर्त् हुन्छ त ?’

देशका करिब १६ स्थानमा अहिले क्यानोनिङ हुने गरेको छ । तर, ती कुनै व्यावसायिक समूहले सञ्चालन गरेका छैनन् । र, व्यावसायिकता नभई स्थानीय बासिन्दाले पनि फाइदा पाउन सक्दैनन् ।

किनकि, काठमाडौंबाट लगिएका गाइडहरुले अहिले पनि दुर्गममा रहेका छहरामा पर्यटकलाई भुलाउने गरेका छन् ।

लामा भन्छन्, ‘कानुन अभावका कारण यसलाई विधिवत सञ्चालन गर्न सकिएको छैन । राज्य र व्यवसायी दुवैले पर्यटनको यो नयाँ विधाबाट फाइदा उठाउन पाएका छैनन् ।’

बीमा गर्नुपर्छ, पाँच हजार डलरको, क्यानोनिङको खर्च भने ४५ सय रुपैयाँ मात्र हुन्छ, बीमा नगरी क्यानोनिङमा सहभागी हुन्छन्, नेपाली नागरिक

क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्र लामाका अनुसार यसमा जनशक्ति अभावको सामना गर्नुपरिरहेको छ । उनी भन्छन्, ‘आवश्यक नीति नआउँदा व्यावसायिकता आउन सकेको छैन र रोजगारीको ग्यारेन्टी नभएसम्म पर्याप्त जनशक्ति पनि उत्पादन हुने सम्भावना छैन ।’

नेपालमा अहिले क्यानोनिङको विशेष कोर्स गरेका २१ जना गाइड मात्रै छन् । सामान्य तालिम गरेकाहरुको संख्या करिब सय छ ।

अन्नपूर्ण ट्रेकिङ रुटमा मात्र ६ वटा क्यानोनिङ स्थल छन् । ती स्थलमा क्यानोनिङ गर्न अन्नपूर्ण संरक्षण क्षेत्रबाट अनुमति लिनु पर्छ । यस्तै, भोटेकोशी नदीको बेसिनमा पाँच, नुवाकोट ककनीमा तीन, मनाङका तिमाल र नार्फुमा १/१ गरी १६ स्थानमा क्यानोनिङ हुने गर्छ । ती सबैलाई राज्यले वैधता प्रदान गरेको छैन ।

कार्यविधि नबनेकै कारण बीमा कम्पनीहरुले पनि यस क्षेत्रको बीमा गर्न सकेका छैनन् । यसमा सहभागी हुने अधिकांश विदेशी पर्यटकले अहिले उतै बीमा गरेर आउने गरेका छन् । स्वदेशमा गाइडको समेत बीमा गर्न कम्पनीहरु हिच्किचाउँछन् ।

बीमा गर्नुपर्छ, पाँच हजार डलरको, क्यानोनिङको खर्च भने ४५ सय रुपैयाँ मात्र हुन्छ । महँगो भएकै कारण बीमा नगरी क्यानोनिङमा सहभागी हुनुपर्ने बाध्यता छ, नेपाली नागरिकलाई ।

क्यानोनिङ कम्पनीहरुले करार पत्रमा हस्ताक्षर गराएर मात्र त्यसमा सहभागी गराउने गरेका छन् ।

एसोसिएसनका अध्यक्ष लामा भन्छन् ‘दुर्घटना भइहाले क्षतिपूर्ति तिर्नु नपरोस् भनेर सहभागीहरुकै राजीखुशीमा सबै जोखिम मोल्न सहमत भएको करार पत्रमा हस्ताक्षर गराउँछौं ।’ अर्थात्, क्यानोनिङ क्रममा कसैको ज्यान गए उसको परिवारले क्षतिपूर्ति पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment