Comments Add Comment

स्पाः आराम, आनन्द र उपचार

काठमाडौं । उफ्, यो शहरको धुवाँ र धुलो ।

साँझ घर र्फकंदा कपालभरि धुलो, कानमा पनि धुलो । दुवै नासिका हुँदै घाँटीसम्म धुवाँ र धुलोको घुसपैठ । अनि, त्यसमाथि दिनभरिको थकान र तनाव ।

कसको ज्यान फतक्क नगल्ला ? कसको टाउको नदुख्ला ? कसको छालामा एलर्जी नहोला ? अनि, कसलाई नहोला घाँटीमा खसखस ?

सबैको चाहना हुन्छ, त्यस्तो बेला पानीले मज्जाले ज्यान पखालेर आरामदायक बिछ्यौनामा लमतन्न सुत्न पाइयोस् । वातावरणमा मीठो सुवास फैलिएको होस् । कानमा मधुर ध्वनीको गुञ्जन होस् । अनि, शरीरमा कोमल स्पर्श र जिब्रोमा मीठो स्वाद होस् ।

आनन्दपूर्ण विश्रामको ठ्याक्कै यस्तै चाहना पूरा गरिदिन्छ स्पाले ।

स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई परिशुद्ध पारी पूर्ण आनन्द दिन्छ । यसले शरीरमा सकारात्मक उर्जा उत्पन्न गर्छ र तनाव तत्काल कम गरिदिन्छ । स्पा यस्तो ‘डिप क्लिजिङ’ पनि हो, जसले शरीरका टक्सिनहरु निकालेर प्रतिरोध क्षमता बढाइदिन्छ र रक्त सञ्चारलाइ स्फुर्त राख्छ ।

मीनभवनस्थित सुस्वास्थ्य अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतका अनुसार स्पाले एकसाथ शरीरका पाँचै इन्द्रीयलाई आराम र आनन्द प्रदान गर्छ ।

‘स्पाले मनलाई चंगा बनाउँछ । तनाव हटाउँछ,’ बस्नेत भन्छन्, ‘यसले शरीरका सबै अवयवलाई एकसाथ आराम र आनन्दित तुल्याउँछ ।’

अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीलाई सन्तुलित राख्ने यो एउटा उत्तम विधि हो । काम, करिअर र परिवारको आवश्यकतामा रुमल्लिएको अहिलेको हाम्रो दिनचर्या कति तनावग्रस्त हुनेगर्छ भने यसैले हामीलाई दिनहुँ रोगी र जीर्ण बनाउँदै लगेको छ । यस्तो धपेडीपूर्ण दिनचर्यालाई तनावरहीत, सुखद र आनन्ददायक बनाउने एक उत्तम माध्यम हो, स्पा ।

स्पा थरिथरिका

स्यालस पर एक्वा अर्थात् ‘स्पा’ । यसलाई नेपालमा ‘पानीबाट गरिने उपचार’ भन्ने भनिन्छ । कुनैबेला युरोपेली देशहरुले जमेको पानी तथा झरनामार्फत् उपचार गर्थे, जसलाई ‘स्पा’ भन्ने गरिन्थ्यो । खासगरी खनिज तत्व मिसिएको पानीमा स्नान गर्दा विभिन्न रोग निको हुने भएकाले रोमन सभ्यतादेखि नै जल चिकित्सा प्रचलनमा रहँदै आएको हो ।

विश्व स्पा एसोसिएसनले ‘प्राकृतिक थेरापी तथा उपचार पद्धतिद्वारा मानिसको मस्तिष्क, शरीर र आत्मालाई आराम दिलाउनु’लाई स्पाका रुपमा व्याख्या गरेको छ ।

स्पा पहिले उपचार पद्धति थियो । बदलिँदो जीवनशैलीसँगै अब यो आराम र आनन्दको माध्यम पनि भएको छ ।

सुमधुर संगीतमय, शान्त, प्राकृतिक सुगन्धयुक्त, मनमोहक दृश्यले भरिएको र सकारात्मक भाव जगाउने वातावरण स्पामा हुनुपर्छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्पालाई विभिन्न प्रकारमा विभाजन गरिएको छ । त्यसमा दिवा स्पा, नाइट स्पा, डेस्टिनेसन स्पा, मेडी स्पा, रिसोर्ट स्पा, क्लब स्पा, नेचुरल स्पि्रङ स्पा, क्रुज स्पालगायत पर्छन् ।

दिनभरि सेवा लिएर र्फकने स्पालाई दिवा स्पा भनिन्छ । यस्तै, आनन्दका लागि रिसोर्टहरुमा लिइने स्पालाई लक्जरी स्पा भनिन्छ भने क्लबमा गएर स्विमिङ पुलका साथै सौना, स्टिममार्फत् लिइनेलाई क्लब स्पा भनिन्छ ।

मेडी स्पा दिवा वा रेसिडेन्सियल दुवै हुनसक्छ । स्वास्थ्य तथा हेल्थ प्रवर्द्धनका लागि गरिने उपचार पद्धतिमा आधारित यस्ता स्पा चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिन्छ ।

भारतलगायत देशमा डेस्टिनेसन तथा क्रुज स्पा प्रचलनमा रहे पनि नेपालमा डे स्पा, हेल्थ क्लब स्पा तथा मेडी स्पा बढी रोजाइमा पर्ने गरेका छन् । नेपालमा रहेका नेचुरल स्पि्रङ स्पाहरुमा म्यादी र सिन्धुपाल्चोकका तातोपानी हुन्, जहाँ पर्यटक डुबुल्की मारिरहेका हुन्छन् । यद्यपि, ती व्यवस्थित छैनन् ।

स्पाका विभिन्न वर्ग छन्, जसमा शिरोधारा, कटिवस्ती, जीउ तथा हात खुट्टाको मसाज, सौना, फ्रुट फेसियल, बडी, स्क्रब, हट स्टोन मसाज, डिप सेन्स मसाज, फुट बाथलगायत पर्छन् । तिनका आ-आफ्नै महत्व छन् । नेपालमा हाल सौना स्टिम तथा बडी मसाज अधिक प्रयोगमा छन् ।

नेपालमा छैन मापदण्ड

विश्व स्पा एसोसिएसनले स्पाका लागि पाँच इन्द्रीयको सन्तुष्टिलाई मुख्य मानेको छ । स्पामा सुमधुर संगीतमय, शान्त, प्राकृतिक सुगन्धयुक्त, मनमोहक दृश्यले भरिएका तथा सकारात्मक भाव जगाउने वातावरण हुनुपर्छ भनिएको छ ।

यसैगरी, स्पा भन्नासाथ पानीको प्रयोगलाई महत्व दिइएकै हुन्छ । नेपालमा यससम्बन्धि कुनै मापदण्ड तोकिएको छैन । सोही कारण सौना र स्टिम बाथलाई पनि स्पा भन्ने चलन छ । कतिपयले यसलाई टुरिजमअन्तर्गत् राखेका छन् त कसैले स्वास्थ्यअन्तर्गत् ।

स्वास्थ्य मन्त्रालयको आयुर्वेद विभागका अनुसार नेपालमा स्पाकै लागि अहिलेसम्म कुनै मापदण्ड तोकिएको छैन । ‘निजी स्वास्थ्य संस्था सञ्चालन तथा स्तरोन्नोत्तरी मापदण्ड निर्देशिका २०७०’ मा स्पाकै लागि कुनै मापदण्ड तोकिएको छैन ।

‘स्पा आयुर्वेदिकको एउटा भाग भएकाले दक्ष जनशक्तिबिना यस्ता सेन्टर सञ्चालन गर्न पाइँदैन भनिएको छ,’ विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय भन्छन् ।

यदि कसैले १० शय्याभन्दा माथिको आयुर्वेदिक अस्पताल सञ्चालन गर्नुपरे आयुर्वेद विभाग वा मन्त्रालयबाट स्वीकृति लिनु अनिवार्य भएको उपाध्याय बताउँछन् ।

मसाज मात्र होइन स्पा

स्पा भन्नासाथ धेरैले मसाज बुझ्छन् । कसै-कसैले त मसाज भन्नासाथ शहरका साँघुरा गल्लीमा भइरहेका यौनजन्य गतिविधि पनि सम्भिmन्छन् ।

स्पा भनेको मसाज मात्र होइन र विकृत मसाज त हुँदै होइन । स्पा आनन्द, आराम र उपचारको एउटा समग्र प्याकेज हो । मसाज त्यसको एउटा हाँगो हो ।

‘स्पा कल्चर १५ वर्ष अघिसम्म पनि ठमेलका गल्ली तथा नेपालका केही नाम चलेका पाँचतारे होटेलमा सीमित थियो,’ सुस्वास्थ्य अस्पतालका सुदर्शन बस्नेत भन्छन्, ‘त्यतिबेला स्पा सेन्टरहरु मसाज सेन्टरका रुपमा परिचित थिए । मानिसले स्पालाई राम्रो दृष्टिले हेर्दैनथे ।’

स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई परिशुद्ध पारी पूर्ण आनन्द दिन्छ ।

अहिले नेपालमा सयभन्दा बढी ‘स्पा’ सेन्टर दर्ता छन् । यस्तै, मुलुकभरि बिनादर्ता हजारौंको संख्यामा ‘स्पा’ सेन्टर सञ्चालित छन् । र, यसलाई हेर्ने मानिसको दृष्टिकोणमा पनि परिवर्तन आएको छ । अब यो थेरापी पारखीहरुको जीवनशैलीको हिस्सा भएको छ ।

दिनभरको कामको धपेडीबाट उन्मुक्ति लिन स्पा लिनेहरुको संख्या बढ्दो छ । यसमा धनाढ्य मात्र होइन, निम्न मध्यम वर्गीयको पनि आकर्षण बढ्न थालिएको छ । कतिले यसलाई फेसनका रुपमा समेत आत्मसात गर्न थालेका छन् । त्यसबाहेक, स्वास्थ्यसम्बन्धि विभिन्न समस्या लिएर आउनेको जमात पनि उल्लेख्य भएको सुस्वास्थ्य अस्पतालका बस्नेत बताउँछन् ।

‘पहिले पहिले स्पा जान्छु भन्न लजाउने तथा धक मान्नेहरु अहिले गर्वका साथ स्पाको आनन्द लिन्छन्,’ उनी भन्छन्, ‘स्पा लिन आउनेहरुमा पुरुषभन्दा महिलाको संख्या धेरै छ ।’

समय र शुल्क

स्पा सेन्टर, त्यहाँ उपलब्ध सेवा, स्पाको प्रकार र समयका आधारमा शुल्क निर्धारण हुने गर्छ । नेपालका अधिकांश स्पामा एक पटक सेवा लिएको न्युनतम पाँच सय रुपैयाँदेखि अधिकतम चार हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ ।

त्यसमध्ये सौनाको ५-६ सय, मसाजको न्यूनतम एक हजारदेखि चार हजार, मसाजमा पनि पोट्ली मसाजको १५ सयदेखि तीन हजारसम्म तथा शिरोधाराको दुई हजारदेखि पाँच हजारसम्म शुल्क लाग्ने गर्छ ।

कुनै पनि सेन्टरमा गएर स्पा गर्न कम्तीमा एक घण्टा समय खर्चिनु जरुरी हुन्छ । त्यसमध्ये शिरोधारा गर्न ४५ मिनटदेखि एक घण्टा लाग्छ । यस्तै, सौनामा एक घण्टा लाग्छ । पोट्ली मसाजमध्ये कसैलाई सबै शरीरको मसाज गर्नुछ भने ९० मिनट लाग्छ । ढाडमा गर्ने हो भने १५ देखि ३० मिनट लाग्छ ।

स्पा लिने सही तरीका

– कुनै पनि व्यक्तिले स्पा गर्नुअघि आफ्नो आवश्यताबारे ध्यान दिनु जरुरी छ । आफू के कारणले स्पा जान लागेको हो तथा शरीरको आवश्यकता के हो भन्नेबारे स्पष्ट हुनुपर्छ ।

– कसैलाई पसिनाको माध्यमद्वारा शरीरका विषादी बाहिर फाल्नुछ भने उसका लागि सौना स्टिम उपयुक्त मानिन्छ ।

– शरीरलाई तन्काउने, आराम दिलाउने र शरीरका विषादी बाहिर फाल्ने हो भने बडी मसाज आवश्यक हुन्छ ।

– तनाव तथा अनिन्द्रा छ र त्यसलाई कम गर्न चाहन्नुहुन्छ भने शिरोधारा उपयुक्त मानिन्छ ।

– चिसोका कारण जीउ दुख्छ र शरीरका मांसपेशीमा पीडा महशुस हुन्छ भने पोट्ली तथा हट स्टोन मसाज उपयुक्त मानिन्छ ।

पोट्ली तथा स्टोन मसाज

मनसुन सकिएर जाडो याम सुरु हुँदैछ । जाडोमा स्टोन तथा पोट्ली मसाज उत्तम मानिन्छ । पोट्लीमा तातो तेलको प्रयोग हुन्छ । हट स्टोन मसाजमा तातो ढुंगाको प्रयोग गरिन्छ ।

नेपालमा पहिले पनि तातो ढुंगाले सेक्ने प्रचलन थियो । कसैलाई भित्रसम्मै चिसो गडेको छ भने त्यसलाई बाहिर निकाल्न हट स्टोन मसाज उपयुक्त मानिन्छ ।

जाडो याममा पोट्ली तथा हट स्टोन मसाज गर्दा शरीरबाट पसिना निस्कन्छ । त्यसबाट शरीरका हरेक क्षिद्र खुल्छन्, त्यहाँबाट शरीरमा भएका विषादी -टक्सिन) बाहिर निस्कन्छन्, जसले गर्दा नशा प्यापिएको, ढाड दुखेको, चिसो लागेकोलगायत समस्यामा राहत मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment