
९ कात्तिक, काठमाडौं । स्थानीय चुनावमा दलहरुले तालमेल त गरे तर, उम्मेदवार नै नभएका दलको पनि चुनाव चिन्ह मतपत्रमा रहृयो । यही कारण बदर मत निकै रहृयो ।
तर, प्रदेश र प्रतिनिधिसभा चुनावमा भने निर्वाचन आयोगले यो कमजोरी सच्याएको छ ।
आयोगका अनुसार प्रत्यक्षतर्फ जुनजुन दलले उम्मेदवारी दिन्छन्, मतपत्रमा उनीहरुको मात्र चुनाव चिन्ह हुन्छ । प्रवक्ता नवराज ढकालले भने, ‘उम्मेदवार नभएका दलको चुनाव चिन्ह प्रत्यक्षतर्फको मतपत्रमा हुने छैन । जुन दलको उम्मेदवार छन्, उसको मात्र चुनाव चिन्ह रहनेछ ।’
उदाहरणका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा वामपन्थी गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका शेरवहादुर तामाङ उम्मेदवार छन् भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका पशुपति शमसेर जबरा उम्मेदवार छन् ।
अब मतपत्र छाप्दा प्रतिनिधिसभातर्फको मतपत्रमा माओवादीको गोलाकारभित्रको हँसिया हथौडा र कांग्रेसको रुख चिन्ह रहने छैनन् । यसले मतदाता झुक्किने छैनन् ।
उम्मेदवार नभएको पार्टीको चुनाव चिन्ह पनि मतपत्रमा राख्दा धेरै मतदाताले झुक्किएर आफ्नो परम्परागत पार्टीको चिन्हमा मत दिने र उक्त मत बदर हुने सम्भावना थियो । तर, आयोगको यो व्यवस्थाले मत बदरको प्रतिशत घटाउन सक्नेछ ।
समानुपातिकतर्फ भने आयोगमा दर्ता भएका र बन्द सूची बुझाएका सबै दलको चिन्ह रहनेछ ।
प्रतिक्रिया 4