Comments Add Comment

बारामा बयलगाडा प्रयोग गरेर काठ तस्करी

वन रक्षक र प्रहरीको मिलेमतो रहेको स्थानीयको दाबी

९ कात्तिक, बारा । बाराका सामुदायिक तथा सरकारी वन क्षेत्र फडानी गरेर चोरी तस्करी बढेको छ ।

केही दिनअघि इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले निजगढ नगरपालिका-४ बाट काठ तस्करी गर्दै गरेको अवस्थामा व्यक्तिसहित गाडा र एक हल गोरु बरामद गरेको थियो ।

प्रहरीले बरामद गरेको गोरु र गाडा कारबाहीका लागि सेक्टर वन कार्यालय तामागढीको जिम्मा लगाएको छ ।

यस्तै, जिल्लाको मधुवन सेक्टरबाट फडानी गरेर चोरी तस्करी हँुदै गरेको अवस्थामा गन्जभवानीपुर प्रहरी चौकीको प्रहरी टोलीले करैया गाउँपालिका-४ बाट काठ सहित गाडा र एक हल गोरु बेवारिसे अवस्थामा बरामद गरेको थियो ।

सोही दिन बिहान सेक्टर वन कार्यालयको गस्ती टोलीले जितपुर सिमरा उपमहानगरपालिका-१७ को रघुनाथपुरमा पनि बाँसघारीमा लुकाई राखेको अवस्थामा सखुवाको ४ थान हरियो टुना फेला पारेको थियो ।

प्रहरीले बरामद काठसहित गोरु र गाडा कारबाहीका लागि सेक्टर वन कार्यालय, मधुवनको जिम्मा समेत लगायो ।

जिल्लामा केही समययता तस्कर र गस्ती टोलीकै मिलेमतोमा काठ तस्करी वृद्धि भएको गुनासो बढिरहेको बेला प्रहरी र वन कर्मचारी टोलीले एकै दिन दुई स्थानबाट तस्करीको काठ बरामद गरेका थिए ।

मधुवन र तामागढी सेक्टर जंगलबाट बयल गाडामा राखेर काठ तस्करी हुने गरेको स्थानीय बताउँछन् ।

प्रहरी र गस्ती टोलीको सहयोगमा दैनिक काठ तस्करी भइरहेको स्थानीयको आरोप छ ।

‘कर्मचारी र प्रहरीले देखे पनि नदेखे झैं गर्छन्, पैसा लिएर छोड्ने गरेको हामीले नै देखेका छौँ’, एक जना स्थानीय दाबी गर्छन्, ‘वन रक्षकले सुकेका दाउरा ल्याउने र दाउरेको बन्चरो समेत खोसेर बेच्ने गरेका छन् ।’

तामागढी सेक्टर कार्यालय अन्तर्गतको जंगल नजिकै पर्ने ककडी गाउँका सर्वसाधारणका अनुसार तस्करहरुले वन रक्षक र प्रहरीकै मिलोमतोमा बयल गाडामा लोड गरेर दिनहुँ सिमापारी लैजाने गरेका छन् ।

दक्षिणतर्फबाट साँझपख आउने तस्करहरूको समूहले हरिया सखुवा फडानी गरी टुना पारेर बयलगाडामा राखी लैजाने गरेको स्थानीयको दाबी छ । ककडीसहित सपही, बलुवा, भलुहिखोर नाकाबाट दिनहुँ काठ तस्करी हुने गरेको छ ।

मधुवन सेक्टरअन्तर्गतको सहजनाथ साझेदारी वनमा पनि दक्षिणतर्फबाट पस्ने काठ तस्करीको बिगबिगी छ ।

तस्करहरूले रामनगर, बोधवन, मधुवन र पसाहा नदीपारिको जैतापुर नाका प्रयोग गरी हरिया दाउरा र सखुवाको टुना बनाएर साइकल र बयल गाडामा तस्करी गर्दै आएका छन् ।

यस क्षेत्रबाट तस्करी भएको काठ जिल्लाको दक्षिणी भेगमा पर्ने चिरान मिल र सीमापारि भारतीय बजारसम्म पुर्‍याएर बिक्री गरिन्छ ।

केही तस्करहरुले भने स्थानीय स्तरमै बिक्री वितरण पनि गर्ने गरिएको पाइएको छ । वन फडानी गरी बाहिरिएको काठ जिल्लाको निजगढ बजार, मधुवन बजार, गन्जभवानीपुर, सिगौल, रतनपुरी र बागदेव क्षेत्रका घरघरमा पुर्‍याएर बिक्री हुने गरेको छ ।

तस्करहरूले जंगलबाट टुना वा चिरान बनाएर पनि काठ ल्याइदिने गरेको स्थानीयको भनाइ छ । एउटा ३.५ चौडाइको ४ हाते सखुवा चिरान कडी २ हजार रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्ममा खरिद बिक्री हुने स्थानीयले बताए ।

सखुवाको गोलिया भने बजार मूल्यभन्दा निकै कममा बयल गाडाबाट घरमा पुर्‍याइन्छ । नाम नबताउने शर्तमा नीजगढका एक स्थानीयले भने, ‘जस्तो अर्डर आयो, त्यस्तै ल्याइदिन्छन् । एउटा २० क्विफिटको सखुवा गोलियाको १० देखि १५ हजार रुपैयाँसम्म लिन्छन् ।’

तर, बजारमा चिरान ५ हजार र गोलिया काठको मूल्य प्रतिक्विफिट ३ हजार रुपैयाँसम्म छ ।

निजगढ क्षेत्रबाट तस्करीको काठ ट्रक र बसको प्रयोगबाट काठमाडौं, हेटौंडा, वीरगन्ज लगायतका शहरमा समेत पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment