Comments Add Comment

पत्रिकाका फ्रन्टपेजः रातो पासपोर्ट त्याग्न सांसदको आनाकानी, परियोजना नदिँदा चीन रुष्ट

११ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदका सदस्य तथा त्यसका पदाधिकारीहरुले ‘पूर्व’ भएको एकसाताभित्र राज्यले दिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट), गाडीलगायतका सरकारी सुविधा फिर्ता गर्नुपर्ने नियम छ । तर, संसदका ६२ जना सांसदले मात्रै प्रचलित नियम मानेर कूटनीतिक राहदानीलगायतका सुविधा त्यागेका छन् ।बाँकीले सुविधा त्याग्न अझै अटेरी गरिरहेका छन् ।

आजको नयाँ पत्रिका दैनिकले विधिको शाषन स्थापित गर्न संविधान निर्माण गरेका संसदका पूर्वपदाधिकारी तथा सांसद्ले रातोपासपोर्टलगायत गाडी सुविधा अझै फिर्ता नगरेको एक रिपोर्ट प्रकाशित गरेको छ । ‘व्यवस्थापिका संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ५२९ पूर्वसांसदले अझै अटेरी गरिरहेका छन्, नयाँ पत्रिका दैनिकले समाचारमा लेखेकाे छ ।

पूर्वसांसदले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी परराष्ट्रमन्त्रालयमार्फत निष्क्रिय बनाउन सक्ने भए पनि त्यसको जानकारी सचिवालयलाई गराउनु पर्छ । तर, ६२ पूर्वसांसदले मात्रै त्यसको जानकारी सचिवालयमा गराएका छन् ।

सुविधाकै गाडीमा  सरर

अरुलाई पारदर्शिता, राजनीतिक संस्कार र आचरणको पाठ पढाउनु पर्ने संसदका पूर्वपदाधिकारीहरुले विगतमा पाएको गाडी सुविधा त्यागेका छैनन् । नयाँ पत्रिका दैनिकका अनुसार, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वउपसभामुख गंगाप्रसाद यादव, कांग्रेस पूर्वसचेतक चीनकाजी श्रेष्ठदेखि संसद्का सबैजसो समितिका पदाधिकारीहरु अहिले पनि सुविधाकै गाडीमा हुँइकिरहेका छन् ।

अझै तलब बुझ्दै पूर्वपदाधिकारी

उता, विघटित संसद्का पदाधिकारी तथा सदस्यहरुले संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार नै सेवा सुविधा प्रयोग गर्दे आएका छन् । उनीहरुले गत मंसिरदेखि नै नयाँ ऐनअनुसारको पारिश्रमिक तथा सेवा सुविधा लिँदै आएका हुन् ।

अनुदानमा दुर्गमलाई अन्याय

अन्योलबीच मतपत्र छपाइ सुरु भएको विषयलाई मुख्य समाचार बनाएको गोरखापत्र दैनिकले आज ‘दुर्गमका स्थानीय तहलाई अनुदानमा अन्याय’ शीर्षक दिएर एंकर समाचार लेखेको छ । गोरखापत्र दैनिकले समाचारमा लेखेको छ – स्थानीय शाषन विज्ञहरुले सरकारले स्थानीय तहलाई प्रदान गरेको अनुदान रकमको सूत्रले दुर्गम क्षेत्रका स्थानीय तहलाई आर्थिक रुपमा अन्याय भएको औंल्याएका छन् ।’

अहिले सरकारले जनसंख्यालाई ७० प्रतिशत, भूगोल र विकासको स्थितिलाई १५–१५ प्रतिशतको आधार मानी स्थानीय तहलाई अनुदान वितरण गरेको छ ।

नेपालले परियोजना नदिँदा चीन असन्तुष्ट

अन्नपूर्ण पोष्ट दैनिकले नेपालले परियोजना नदिँदा चीन असन्तुष्ट बनेको समाचार प्राथिमकताका साथ छापेको छ । समाचारमा लेखिएको छ- चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मा नेपाल साझेदार बनेको सात महिना बितेको छ । तर, नेपालले बीआरआईअन्तर्गत चीनलाई सहयोग प्रस्तावका लागि एउटा पनि विकास परियोजना छनोट गर्न सकेको छैन ।

नेपालले बीआरआईअन्तर्गत सहयोग परियोजना प्रस्ताव गर्न नसकेपछि चीनले कूटनीतिक च्यानलबाट असन्तुष्टि पोख्न थालेको एक उच्च सरकारी अधिकारीले बताए ।

नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले प्रधानमन्त्री तथा अन्य सरकारी अधिकारीसँगका हालैका भेटमा बेल्ट एन्ड रोड अवधारणा कार्यान्वयनका लागि नेपालका तर्फबाट भएका प्रयासबारे निरन्तर चासो राख्न थालेकी छन् ।

चीनस्थित नेपाली राजदूत लीलामणि पौड्यालसँगको भेटमा पनि चिनियाँ अधिकारीले ‘बेल्ट एन्ड रोडमा अघि बढ्ने नेपालको आफ्नो योजना र रणनीति कहाँ छ ?’ भन्दै सोध्ने गरेका छन् ।

 

तनावले सडक दुर्घटना

नागरिक दैनिकले पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारकमा परिवर्तन देखिएको भन्दै पहिलो पृष्ठमा समाचार छापेको छ ।

पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ, न चालकलाई नै ।

मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किन पुग्छ । सडकमा उभिएका ट्राफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ ।

‘बाटो, गाडी सबै ठीक हुन्छन्, त्यस्तो बेला सडक छेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन्,’ ललितपुर ट्राफिक परिसरका प्रहरी निरीक्षक सीताराम हाछेथुले भने ।

‘देखिने खास कारण विनै दुर्घटना भएका हुन्छन्, सोध्दा एक्कासी अँध्यारो देखेँ भन्छन्,’ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने ।

कतिपयको कारण देखिँदैन, अनुसन्धान गरेमात्र पत्ता लाग्नसक्ने खनाल बताउँछन् । ‘यसबारे मनस्थितिको अध्ययन भएको छैन, तर मानसिक तनाव या उच्च रक्तचापको कारणले दुर्घटना भएको देखिन्छ,’ उनले भने ।

छानबिन नटुंगिँदा एमबीबीएसको नतिजामा अन्योल

कान्तिपुर दैनिकले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले दुई साताअघि लिएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना छानबिनमा ढिलाइ हुँदा नतिजा पर्खाइमा रहेका साढे आठ हजार विद्यार्थी अन्योलमा परेको समाचार भित्री पृष्ठमा छापेको छ । त्रिभुवन विश्वविद्यालय र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाए पनि प्रतिवेदन नआउँदा नयाँ परीक्षा लिने या पुरानैबाट नतिजा सार्वजनिक गर्ने भन्नेमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) नै अनिर्णीत छ ।

आईओएमले असोज २८ मा लिएको प्रवेश परीक्षामा डिभाइस प्रयोग गरी चिट चोरी गरेको पाइएपछि प्रहरी र त्रिविले बेग्लाबेग्लै अनुसन्धान गरिरहेकामा बेलैमा प्रतिवेदन नदिँदा विद्यार्थी मारमा परेका हुन् । प्रश्नपत्र बाहिरिएको सूचना आएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्रिविले पनि लगत्तै छानबिन समिति गठन गरेको थियो । प्रहरी र छानबिन समितिको सुझाव कुरेर बस्दा आईओएमले निर्णय लिन नसकेको हो ।

र, यो पनि खबर


राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार कर्मघर ताप्लेजुङ पुग्दा भावुक बनेकी छन् । ‘कर्मघर पुग्दा राष्ट्रपति भावुक’ शीर्षक दिएर अन्नपूर्णले लेखेको छ– राष्ट्रपति निर्वाचित भएको दुई वर्षपछि पहिलोपटक शुक्रबार भण्डारी वाम आन्दोलनका लोकप्रिय नेता मदन भण्डारीको जन्मघर पुगेकी हुन् । दुई छोरीसहित कर्मघर पुगेकी राष्ट्रपति आँगनमा पाइला राख्दा भावुक बनेकी थिइन् ।

ताप्लेजुङको ढुंगेसाँघुमा २००९ सालमा जन्मिएका मदन र विद्यादेवीको विवाह ०३९ सालमा भूमिगत अवस्थामै भएको थियो ।

 

हेर्नुस् अाजका पत्रिकाकाे फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment