Comments Add Comment

बिर्तामोड गोलीकाण्डः एक आन्दोलनकारीको वयान

विहान ६ बजेबाट महानन्द चोकमा भेला हुने कुरा थियो। एकपछि अर्को हुँदै भेला हुन थालियो । उता गाउँपरिवारले ९ बजेको समय दिनुभयो।

३०\ ४० जना युवाहरु थियौँ, जो छरिएर बसेका थियौं। ठाउँठाउँबाट पुलिसले आन्दोलन सुरु हुनु अगाडि नै २५ जना जति हाम्रा साथीहरूलाई उठाउँदै इलाका लग्यो।

लगभग ९ बजेबाट महानन्दचोकमा मास बढ्न थाल्यो र भिड  बढेपश्चात् शान्तिपूर्ण रुपमा भीडलाई अगाडि लगिने भनियो र शान्तिपूर्ण रुपमा विरोध जनाउने कुरा थियो।एम्बुलेन्स लगायत स्कुले गाडीदेखि सबै अतिआवश्यक गाडीलाई नरोक्ने निर्णय भएको थियो।

भिडलाई सम्हाल्न निकै गाह्रो थियो । तर, सकेसम्म प्रयास गरेका थियौं सबैले। भाइको ब्यानर बोकेर ४\५ जनालाई अगाडि बढ्न लगाइयो । अनि ठीक त्यसको पछाडि हामी हातमा हात समातेर लामो चेन जस्तै बनाएर बस्यौं । पछाडिका साथीहरूलाई सकेसम्म त्यो लाइन नकटी विरोध गर्न लगायौँ, जुन एकदमै गाह्रो काम थियो । त्यो आक्रोशित भिडमा।

जति नै आक्रोशित भएता पनि जनता लाईनको घेरा नकटी संयम ढङ्गमा अगाडि बढेका थिए । नजिकै पुलिसहरु लाइन लागेर हातमा लाठ्ठी, बन्दुक लगायतका हातहतियार लिएर तेर्सिएका थिए।

हाम्रो प्रदर्शन मुक्तिचोकमा शान्तिपूर्ण थियो, जसलाई विथोल्न जिल्लाभरिकै पुलिस/ सशस्त्र खटाईयो । ४\५ सयको सङ्ख्यामा थिए होला सायद ।

यो शान्तिपूर्ण, स्वतस्फूर्त विरोध थियो, जुन प्रशासन आफैले भाँडेको हो

पुलिसलाई अनुरोध गरियो हाम्रो कार्यक्रम शान्तिपूर्ण रहनेछ हामीलाई छाडिदिनुहोस् भनेर ।  किनकि हामी हात मिलाएर एउटा घेरा बनाएर अगाडि बढेका थियौं । आफ्ना पनि छोराछोरी होलान् कसरी मन मान्छ, अलिकति पनि मन दुख्दैन ? यसो भन्दा प्रहरीहरू अपशब्द नै प्रयोग गरेर तँ तँ र म म गरेर बोल्न थाले।

त्यसपश्चात माइकिंग स्पिकर राखिएको सफारीलाई पुलिसको घेराभन्दा अगाडि मुक्तिचोकतर्फ अगाडि बढाउन खोजियो । त्यस पश्चात पुलिसले लाठीचार्ज गर्न सुरु गर्यो। मृतक लक्ष्मण भाइका आमाबुवालाई निर्ममतापूर्वक पिट्न थाल्यो ।

पुलिसले एक मिनेटभित्र अस्रुग्यास हान्यो । त्यसको लगतै जनता आक्रोशित हुन थाले । र, स्थिति तनावपूर्ण बन्दै गयो।

सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले यसरी जनतासँग व्यवहार गरेपछि हामीले कसलाई विश्वास गर्ने ? भोट हालेर जनताले जिताएको प्रतिनिधिहरु यही सबै देख्नलाई हो हामीले माथि पठाएको ?

सोझा बाबुआमाको कोख रितिन्छ अनि उनीहरु पैसामा बिकेर पीडितलाई झनझन दबाउन खोज्छन्।

यो शान्तिपूर्ण, स्वतस्फूर्त विरोध थियो, जुन प्रशासन आफैले भाँडेको हो।

हृदयबाट सलाम छ, सहिदहरुमा । साथै उपस्थित सम्पूर्णमा, जसले आफ्नो ज्यानको बाजी थापेर लड्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment