Comments Add Comment

रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म

११ कात्तिक, रुकुम । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र कांग्रेसबीच हुँदैछ ।

पश्चिम र पूर्वी दुवै रुकुममा वाम गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि माओवादीका उम्मेदवार रहेका छन् भने कांग्रेसका उम्मेदवारहरु एक्लै प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभाका लागि रुकुम (पश्चिम)मा गृहमन्त्री समेत भइसकेका माओवादीका जनार्दन शर्मा र उनका पुराना प्रतिस्पर्धी कांग्रेसका गोपालजीजंग शाहबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु २७ वर्षपछि तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन् ।

रुकुम (पूर्व) मा पूर्वमन्त्री तथा पूर्वमाओवादी छापामार कमला रोक्का र कांग्रेसका हरिशंकर घर्ती प्रतिस्पर्धी छन् ।

पश्चिम रुकुममा २७ वर्षपछि तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका शर्मा र शाहबीचको प्रतिस्पर्धासँगै प्रदेशको चनुावमा पनि यसपटक रोचक प्रतिस्पर्धा हुने भएको छ ।

पश्चिम र पूर्वी रुकुममा प्रदेशसभा सदस्यका लागि जिल्लाका स्थापित नेताहरु नै प्रतिस्पर्धामा छन् । प्रदेशमा यसपटक माओवादीबाट जिल्ला अध्यक्ष, इञ्चार्ज, केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य तथा प्रदेश नं. ५ का संयोजकसमेत प्रतिस्पर्धी छन् ।

कांग्रेसबाट जिल्ला कार्यसमिति सदस्य, विद्यार्थी नेता, महाधिवेशन प्रतिनिधिहरु प्रतिस्पर्धामा छन् । यतिमात्रै होइन, कांग्रेसबाट प्रदेशमा कहलिएका ठेकेदारदेखि संविधानसभा चुनावमा एउटै व्यक्तिसँग दुईपटक पराजित उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस्तो छ पश्चिम र पूर्वी रुकुमका प्रदेशसभा सदस्यका ८ जना उम्मेदवारहरुको चिनारीः

रातो कामी-माओवादी, रुकुम (पश्चिम) प्रदेश (क)

रातो कामी रुकुमका लागि चर्चित नाम हो । उनी दलित आन्दोलनका अगुवाका रुपमा चिनिन्छ । दलित आन्दोलनबाटै लोकपि्रय छवि बनाएका उनी रुकुमका इमान्दार नेता मानिन्छन् ।

स्थानीय तहको चुनावमा कामीले पश्चिम रुकुमको आठवीसकोट नगरपालिकाको मेयरमा माओवादीबाट दावी गरेका थिए । तर, पार्टीले प्रदेशमा पठाउने सर्तमा उनले छोडेका थिए । कामी पार्टीको केन्द्रीय आयोजक समिति सदस्य छन् । कामीले कांग्रेसका कृष्ण रोकायसँग प्रतिस्पर्धा गर्दै छन् ।

गोपाल शर्मा-माओवादी, पश्चिम, रुकुम (ख)

गोपाल शर्मा माओवादी केन्द्र रुकुमका अध्यक्ष तथा पार्टीका पोलिटव्यूरो सदस्य हुन् । शर्मा केन्द्रमा पहुँच राख्ने नेता पनि हुन् । जनार्दन शर्मा गृहमन्त्री हुँदा उनी प्रमुख स्वकीय सचिव भएका थिए ।

शर्मालाई माओवादीभित्रका इमान्दार नेताका रुपमा लिने गरिन्छ । शर्माले कांग्रेसका विद्यार्थी नेता कड्क डांगीसँग प्रतिस्पर्धा गर्दैछन् ।

तेजबहादुर ओली, माओवादी, पूर्वी,रुकुम (क)

तेजबहादुर ओली जनयुद्धकालमा लडाकुका रुपमा काम गरेर शान्ति प्रक्रियापछि खुला राजनीतिमा आएका हुन् । युद्धकालमा उनी माओवादी लडाकुका कमाण्डर थिए ।

हाल पार्टीको जिल्ला इञ्चार्ज तथा पोलिटव्यूरो सदस्य ओली यसपटक नेपालीका कांग्रेसका दुतकुमार पुनसँग यो क्षेत्रबाट चुनाव लड्लै छन् । यो क्षेत्रमा मगर मतदाता पनि धेरै छन् ।

पूर्ण घर्ती मगर, माओवादी, पूर्वी रुकुम (ख)

पूर्ण घर्ती मगर रुकुमका प्रदेशका अन्य उम्मेदवारहरु भन्दा ‘हेवी वेट’ उम्मेदवार हुन् । माओवादीको पोलिटव्यूरो सदस्य समेत रहेका उनी पार्टीको प्रदेश नं. ५ का संयोजक पनि हुन् ।

सुरुदेखि नै सञ्चार माध्यमसँग नजिक रहेका घर्तीमगर नेपाल टेलिभिजनको अध्यक्ष समेत भइसकेका थिए । उनले कांग्रेसका दत्तबहादुर बस्नेतसँग प्रतिस्पर्धा गर्दैछन् ।

कृष्ण रोकाय, कांग्रेस, पश्चिम रुकुम (क)

कृष्ण रोकाय रुकुममा कांग्रेसका बौद्धिक तथा इमान्दार नेताका रुपमा चिनिन्छन् । रोकाय पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् ।

उनी दोस्रो संविधानसभा चुनावमा सिङ्गो रुकुमको क्षेत्र नम्बर १ बाट उम्मेदवार थिए । तर, माओवादी केन्द्रका नेता तथा पूर्व आपूर्ती मन्त्री गणेशमान पुनसँग पराजित भएका थिए । अहिले उनी माओवालीका रातो कामीसँग प्रतिस्पर्धा गर्दैछन् ।

खड्क डांगी, कांग्रेस, पश्चिम रुकुम (ख)

खड्क डाँगी कांग्रेस रुकुमका युवा नेता हुन् । डांगी विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् ।

डांगी अहिले पनि नेविसंघको केन्द्रीय उपाध्यक्ष (प्रदेश नं.६) हुन् । उनी जिल्लामा मिलनसार र इमान्दार युवा नेताका रुपमा चिनिन्छन् । डांगीले माओवादीका पोलिटव्यूरो सदस्य गोपाल शर्मासँग प्रतिस्पर्धा गर्दैछन् ।

दुतकुमार पुन, कांग्रेस, रुकुम पूर्व (क)

प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका दुतकुमार पुन कांग्रेसका निर्वाचित जिल्ला कार्यसमिति सदस्य हुन् ।

पार्टीको जिल्ला कार्यसमितिमा निर्वाचत भएका पुन पार्टीको केन्द्रीय महाधिबेशन प्रतिनिधिमा भने पराजित भएका थिए ।
उनी मगर बाहुल्य क्षेत्र मानिएको यो क्षेत्रबाट माओवादीका तेजबहादुर ओलीसँग प्रतिस्पर्धा गर्दैछन् ।

दत्तबहादुर बस्नेत, कांग्रेस, पूर्वी रुकुम (ख)

दत्तबहादुर बस्नेत रुकुमका सफल निर्माण व्यवसायी हुन् । निर्माण व्यवसायसँगै उनी लामो समयदेखि कांग्रेसमा आवद्ध भई क्रियाशील थिए । तर, बस्नेतले पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

यसपटक कांग्रेसले उनलाई पार्टीमा गरेको योगदानका आधारमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाएको हो । बस्नेतले माओवादीका प्रदेश नं. ६ का संयोजक समेत रहेका पूर्ण घर्तीमगरसँग प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment