Comments Add Comment

पत्रिकाका समाचारः यी ९ कारणले बढ्दै छन् गाडी दुर्घटना

१२ कात्तिक, काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित भएका सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले धादिङ बस दुर्घटनाको विषयलाई मुख्य समाचार बनाएका छन् । दुर्घटनामा ३१ जनाको ज्यान गएको समाचार लेखेका पत्रपत्रिकाहरुले दुर्घटनाको कारण खाेतलेका छन् ।

दक्ष चालक अभावले दुर्घटना बढेकाे अाैंल्याउँदै  आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचारमा लेखेको छ – लामो दूरीमा गुड्ने यात्रुवाहक बसमा दक्ष चालकको अभाव हुँदा दुर्घटनाको दर बढेको छ । तर, राज्य राजमार्गहरु मृत्युमार्गमा रुपान्तरण भइरहँदा समेत यसप्रति संवेदनशील देखिएको छैन ।

लामो दूरीका बसमा १० वर्षअघिसम्म दुई जना चालक राख्ने व्यवस्था गरिएको थियो । एउटा चालकलाई आठ घन्टाको दरले दुई जनाले १६ घन्टासम्म लामो दूरीका बस चलाउँथे । यो व्यवस्था कडाइका साथ लागू गर्दा दुर्घटना दर निकै तल झरेको थियो । तर, अहिले यो नियम व्यवहारमा लागू नहुँदा दुर्घटना दर बढेको छ ।

धादिङ बस दुर्घटनालाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले सडक दुर्घटनाका ९ कारण औंल्याएको छ । नयाँ पत्रिका दैनिकका अनुसार, सडकको गुणस्तर, सडक प्रभावकारी अनुगमन नहुनुदेखि सवारीसाधनको अवस्था चेकजाँच नहुनु दुर्घटनाको मुख्य कारण हुन् । त्यस्तै सवारी चालकको दक्षता र अनुभवले पनि दुर्घटना बढाइरहेको छ । यात्रुको ढिपी, सवारी साधनको समयमै मर्मत नहुनु, क्षमताभन्दा बढी यात्रु बोकेर तीव्र गतिमा कुदाउनु पनि दुर्घटनाका कारण हुन् ।

अन्य दैनिक पत्रिकाहरुले जस्तै गरी धादिङ बस दुर्घटनालाई ‘कभरेज’ गरेको नागरिक दैनिकले भने छानबिन प्रतिवेदन लागू नहुँदा सडक दुर्घटना बढेको औंल्याएको छ । यसमा सरकार र व्यवसायी दुवै जिम्मेवार रहेको नागरिकको ठम्याइ छ ।

मदिरा सेवन गरेका थिए चालकले

कान्तिपुर दैनिकले पनि बस दुर्घटना हुनुको कारण चालकको लापरबाहीलाई औंल्याएको छ । समाचारमा लेखिएको छ– सप्तरीबाट काठमाडौं आइरहेको तीव्र गतिको बसलाई चालकले घुम्तीमा मोड्न नसक्दा शनिबार बिहान त्रिशूली नदीमा खस्दा कम्तिमा ३१ यात्रुको मृत्यु भएको छ ।

घाइते श्रवण ठाकुरका अनुसार घुम्तीमा बस नमोडिई सीधै नदीमा खसेको थियो । ‘बस नारायणगढदेखि तीव्र गतिमा हुइँकिएको थियो, खाल्डाखुल्डी सडकमा समेत चालकले गति घटाएका थिएनन्,’ उनले भने ।

घाइते यात्रुका अनुसार चन्द्रनिगाहपुर लालगढमा खाना खानेक्रममा चालकले मदिरा सेवन गरेका थिए । त्यसपछि बसको गति अस्वाभाविक रुपमा बढाएको उनीहरुको भनाइ छ ।

जसले आमालाई गुमाइन् 

यही बस दुर्घटनाकै प्रसंगमा, सिग्रही सप्तरीकी १३ वर्षकी निमिदिता चौधरीले सँगै सिटमा बसेकी आमालाई गुमाइन् । उनले आफू र भाइ पौडी खेलेर बाँच्न सफल भएको तर आमालाई नदीबाट तान्न नसकेको बताएकी छन् ।

उनले कान्तिपुरसँग भनेकी छन्– हामी आमासँगै बी साइडको ११ र १२ नम्बरको सिटमा थियौं । बाबा कतारमा काम गर्नुहुन्छ । भाइ शुभम चौधरी र म निदाएका थियौं । एक्कासी आवाज आयो, हामी खसेको पनि पत्तो भएन । नजिकै भाइलाई पौडेको देखें । अनि भाइको हात समातेर पौडी खेल्दै किनारामा पुग्यौं । आमा प्रभा बसमै निदाउनुभएको थियो । उहाँ डुब्नु भो । निकाल्न सकेनौं । हामीलाई उद्धार गरी अस्पताल ल्याइयो ।

शोकमा तिलाठी

धादिङको गजुरीमा शनिबार बिहान भएको बस दुर्घटनामा जिल्लाकै २५ जनाको मृत्यु भएपछि सप्तरी शोकमग्न बनेको छ । मिथिला पर्वको महत्त्वपूर्ण पर्व छठ मनाएर फर्किएका आफन्त दुर्घटनामा परेको खबरसँगै सप्तरी आँसुमा डुबेको हो ।

‘आँसुमा डुब्यो तिलाठी’ शीर्षक दिएर अन्नपूर्ण पोस्टले लेखेको छ– धादिङ बस दुर्घटनामा तिलाठी कोइलाडी गाउँपालिका १, तिलाठीका मात्रै एकै परिवारका चार जनाएको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । दुर्घटनाको खबरपछि गाउँमा शनिबार बिहानैदेखि रुवाबासी छ ।’

अलमलमा आयोग


निर्वाचन आयोगले मतपत्र छपाइ सुरु भएको जनाए पनि कान्तिपुर दैनिकले आयोग अलमलमा परेको लेखेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अन्योलमा परेको हो । सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अन्योलमा परेको खबर कान्तिपुरले स्रोतको हवाला दिँदै लेखेको छ ।

कान्तिपुर दैनिकका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतपत्र छपाइ शुक्रबारदेखि सुरु भइसकेको दाबी गरे पनि सर्वोच्चको आदेशअनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णय लिनुपर्ने अवस्था आउन सक्ने भएकाले छपाइ सुरु गरिएको छैन ।

आयोगले सर्वोच्चको पछिल्लो आदेशको प्रतिलिपि शनिबार प्राप्त गरेको छ । सर्वोच्चले बुधबार प्रत्यक्षतर्फ दुवै सभाको मतपत्र अलग अलग छाप्नेबारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण तीन दिनभित्र पेस गर्न आयोगलाई आदेश दिएको थियो ।

कस्तो बन्ला विदेश नीति ?

नयाँ पत्रिका दैनिकले नेपालको परराष्ट्र सम्वन्धी नीति पुनरावलोकनको गृहकार्य भइरहेको समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ । पुनरावलोकनका लागि सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदनको अन्तिम मस्यौदा तयार पारेको छ । कार्यदलले अन्तिम मस्यौदा चाँडै बुझाउने तयारी गरेको छ ।

मन्त्रिपरिषदले २९ चैतमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा १६ सदस्यीय कार्यदल गठन गरेको थियो । महतपछिका परराष्ट्रमन्त्री कृष्णबहादुर महराको कार्यकालमा पनि निरन्तरता पाएको कार्यदलले प्रथम विदेश नीति, गोर्खा भर्ती पुनरावलोकनलगायत विषय समेटेको छ ।

हेर्नुस् अाजका पत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment