Comments Add Comment

वाम गठबन्धनले नवलपुरमा उम्मेद्वार टुंग्यायो, बादलको ठाउँ अझै खाली

१४ कात्तिक, नवलपुर । वाम गठबन्धनले नवलपुर क्षेत्रमा उम्मेदवारको नाम टुंग्गाएको छ । आज बसेको संयुक्त वैठकले नवलपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट अनुसार उम्मेदवार टुंगो लगाएको हो ।

दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनमा नवलपुर क्षेत्रमा रहेका २ प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रले ३/३ क्षेत्र लिने गरी केन्द्रमा अन्तिम नामसहित सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल वा धनप्रसाद सापकोटा र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका वैकल्पिक केन्दि्रय सदस्य तिलक महतको नाम सिफारिस भएको छ ।

बादल काठमाडौं १० बाट उम्मेदवार बने नवलपुर १ मा माओवादी केन्द्रका धनप्रसाद सापकोटा उम्मेदवार बन्नेछन् । सापकोटा संविधान सभाको दोस्रो निर्वाचनमा एकीकृत नेकपा माओवादीबाट सोही क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासँग पराजित भएका थिए ।

नवलपुर १ मा नेपाली कांग्रेसबाट महामन्त्री शशांक कोइराला नै दोहोरिने पक्का भएकोले नवलपुर १ मा कोइराला र सापकोटाको कडा प्रतिप्रर्धा हुने सम्भावना छ ।

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुलाई खसेको मत हेर्दा नेपाली कांग्रेस र राप्रपा गठबन्धनको मत वाम गठबन्धनको भन्दा थोरै मात्र बढी छ ।

त्यस्तै नवलपुर २ मा वाम गठबन्धनबाट उम्मेदवारी दिने पक्कापक्की भएका तिलक महत नेकपा एमाले नवलपरासीका एक कार्यकाल अध्यक्ष र हालका वैकल्पिक केन्दि्रय सदस्य हुन् । महतको लागि निर्वाचन भने पहिलो अनुभव हो ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट विष्णु कार्की उम्मेदवार छन् । यहाँ स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरुलाई खसेको मत हेर्दा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन कांग्रेस भन्दा केही बलियो देखिएको छ ।

त्यस्तै बाम गठबन्धनले प्रदेश सभाको नवलपुर १ ‘क’बाट नेकपा माओवादी केन्द्रका सूर्य न्यौपाने, नवलपुर १ ‘ख’बाट नेकपा एमालेका रोशनबहादुर गाहा, नवलपुर २ ‘क’बाट माओवादी केन्द्रका पोलिटव्युरो सदस्य किशान शर्मा गैरे र नवलपुर २ ‘ख’ बाट नेकपा एमालेका जनकलाल श्रेष्ठको नाम केन्द्रमा सिफारिस गरेको छ ।

गाहा नेकपा एमाले नवलपुरका अध्यक्ष हुन् भने उनी यस अघि पहिलो संविधान सभाको निर्वाचनबाट समानुपातिकतर्फका सभासद् हुन् ।

त्यस्तै न्यौपाने, गैरे र श्रेष्ठका लागि पनि निर्वाचन पहिलो अनुभव हो । यता नेपाली कांग्रेसले प्रदेशसभा उम्मेदवारको टुंगो बुधबार बिहानसम्म लगाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment