Comments Add Comment

पत्रपत्रिका रिभ्यूः प्रदेश राजधानी तोक्न बिलम्ब

माअाेवादी नेता ढुंगेलकाे जेल ‘कमान्डर’ टासी गुरुङ !

१५ कात्तिक, काठमाडौं । आजका पत्रपत्रिकाहरुले हत्या अभियोगमा जन्मकैद सजाय सुनाइएका बालकृष्ण ढुंगेल पक्राउको समाचारलाई प्राथमिकताका साथ स्थान दिएका छन् । यद्यपि, यो द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगले टुंगो लगाउनु पर्नेमा चुनावमा गरिएको गिरफ्तारी ठीक कि बेठीक भन्नेमा बहस जारी छ । मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई हिजै डिल्लीबजार कारागार चलान गरिएको छ ।

आजका पत्रिकाहरुले ढुंगेलको गिरफ्तारीसँगै एमाले–माओवादी तथा फोरम–राजपा सिट बाँडफाँट टुंगो लागेको, प्रदेशको राजधानी र प्रमुख तोक्न बिलम्ब भएको र विश्व बैंकले नेपालका सडक कालोपत्रे गर्ने भित्र्याएको ओटासील प्रविधि असफल भएकोलगायत समाचारलाई प्राथमिकता दिएका छन् ।

ढुंगेल ०८७ वैशाख ५ सम्म जेलमा

कान्तिपुर दैनिकका अनुसार, जन्मकैद फैसलामा २० वर्ष जेल बस्नुपर्ने व्यवस्था भएअनुसार, ढुंगेलले यसअघि भुक्तान गरेको जेल सजायबाट कटाएर बाँकी १२ वर्ष ५ महिना २२ दिन जेल भुक्तान गर्नुपर्ने देखिएको छ । अदालतको फैसला कार्यान्वयन अधिकारी ध्रुवकुमार ढकालले हस्ताक्षर गरेर डिल्लीबजार कारागार पठाएको कैद म्यादसम्बन्धी पत्रमा ढुंगेल ०८७ वैशाख ५ गतेसम्म कारागार बस्नुपर्ने उल्लेख छ ।

ढुंगेलको कमान्डर टासी, जेलमेट सेट्ठी

राजधानी दैनिकका अनुसार, बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ । ढुंगेल डिल्लीबजार कारागारका ५ सय ७६ औं कैदी हुन् । उनलाई अन्तर्राष्ट्रिय कुख्यात अपराधी उदय सेट्ठीसँगै राखिएको छ । उदय अपहरणलगायत फौजदारी मुद्दामा जेल परेका व्यक्ति हुन् । त्यति मात्र नभई मंगलबारदेखि नै ढुंगेलले ख ब्लकका जेलका नाइके टासी गुरुङको आदेश मान्नुपर्ने छ । टासी पनि अपहरण मुद्दामा जेल सजाय कटाइरहेका व्यक्ति हुन् । ढुंगेलले पहिलो दिन खाट पाएका छैनन् । सुत्नका लागि उनलाई बुधबार खाटको व्यवस्था गर्ने कारागार स्रोतलाई उद्धृत गर्दै राजधानीले खबर लेखेको छ ।

टुंगियो बाँडफाँट

कान्तिपुर दैनिकले एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सबै क्षेत्र बाँडफाँट टुंग्याएको समाचार छापेको छ । प्रतिनिधिसभाका कूल १ सय ६५ सिटमध्ये एमालेले ९७ र माओवादी केन्द्रले ६१ र राष्ट्रिय जनमोर्चालगायतले ७ सिट पाएका छन् । त्यस्तै प्रदेशसभाका ३३० सिटमध्ये एमाले १ सय ९८, माओवादीले १ सय २८ र अन्य दलले ४ सिट पाएका छन् ।

तर, नयाँ पत्रिका दैनिकले भने प्रतिनिधिसभा तर्फ एमालेले ९६ र माओवादीले ६२ सिट पाउने गरी भागबन्डा टुंगो लागेको समाचार लेखेको छ ।

नयाँ पत्रिकामै १७ सिट फोरम र १५ सिट राजपालाई दिने गरी मधेसकेन्द्रित मुख्य दुई दलले पनि सिट बाँडफाँट सकेको समाचार छापेको छ । उनीहरुले तालमेलका विषयमा कांग्रेससँग समेत छलफल जारी राखेका छन् । नयाँ पत्रिकाका अनुसार कांग्रेसले उम्मेदवारको टुंगो बुधबार लगाउने भएको छ । उसले राजपा र संघीय समाजवादीसँग पनि तालमेलको प्रयास जारी राखेको छ ।

प्रदेश प्रमुख र राजधानी तोक्न बिलम्ब

अबको पाँच साताभित्र प्रदेशसभाको निर्वाचन हुँदै छ । तर, जनप्रतिनिधि कुन सहरमा भेला हुने भन्ने निश्चित छैन । प्रदेशको राजधानी तोक्ने विषयमा सरकार अन्योलमा छ । नयाँ पत्रिका दैनिकका अनुसार, मन्त्रिपरिषद् बैठकमा धेरैपटक प्रदेशको अस्थायी राजधानी तोक्ने विषयले प्रवेश पाए पनि प्रधानमन्त्रीले राजनीतिक सहमतिका आधारमा निर्णय लिने बताउँदै आएकाले ढिलाइ भएको हो ।

प्रदेश प्रमुखको मापदण्ड, सेवा, शर्त र सुविधासम्बन्धी ऐन संसदबाट स्वीकृत भएर ऐनको रुपमा आएको छ । तर, त्यसैका आधारमा प्रदेश तोक्न भने सरकारले आलटाल गरेको समाचार नयाँ पत्रिकामा छ ।

नयाँ पत्रिकाकै पहिलो पृष्ठमा कलंकीको ‘अन्डरपास वे’ निर्माणको कार्य अब ५ महिनामा पूरा हुने र निर्वाचनका कारण रकमान्तरण बढेको समाचार अटाएको छ ।

हेर्नुस् पत्रिकाका फ्रन्टपेज


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment