Comments Add Comment

कास्कीमा यस्ता छन् वाम गठवन्धन र कांग्रेसका उम्मेद्वारहरु

१६ कात्तिक, पोखरा । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेसले कास्कीका सबै निर्वाचन क्षेत्रमा उम्मेद्वार टुंगो लगाएका छन् । प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार टुंगो लगाएका हुन् ।

वाम गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका खगराज अधिकारीलाई प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्वार बनाएको छ । पूर्व स्वास्थ्य मन्त्री अधिकारी निवर्तमान सांसद तथा नेकपा एमाले सल्लाहकार परिषदका उपाध्यक्ष हुन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसले न्याय, कानून तथा संसदीय ब्यवस्था मन्त्री यज्ञबहादुर थापालाई उम्मेद्वार बनाएको छ । थापा दोश्रो संविधान सभा २०७० मा कास्की क्षेत्र नम्बर १ बाटै करीब २ सय मतान्तरले बिजयी भएका थिए ।

कास्की क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका दीपक कोइराला ‘रुपक’ उम्मेद्वार बनेका छन् । उनी नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हुन् । हाल कास्कीका सहइञ्चार्ज छन् । सो क्षेत्रमा नेपाली कांग्रेसले जीवन परियारलाई उम्मेद्वार बनाएको छ । परियार निवर्तमान सांसद हुन् ।

क्षेत्र नम्बर १ कै प्रदेश क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका मनबहादुर गुरुङ उम्मेद्वार बनेका छन् । गुरुङ एमाले कास्कीका उपाध्यक्ष हुन् । सो क्षेत्रमा नेपाली कांग्रेसबाट कृष्ण केसी उम्मेद्वार बनेका छन् । केसी नेपाली कांग्रेस कास्कीका सभापति हुन् ।

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि बाम गठबन्धनले नेकपा एमालेका रविन्द्र अधिकारीलाई उम्मेद्वार बनाएको छ । अधिकारी निवर्तमान सांसद तथा तत्कालीन संसदको विकास समिति सभापति हुन् । पहिलो र दोश्रो संविधान सभामा निर्वाचनमा अधिकारी कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । सो क्षेत्रमा नेपाली कांग्रेसले देवराज चालिसेलाई उम्मेद्वार बनाएको छ ।

क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका कृष्ण थापा उम्मेद्वार बनेका छन् । उनी एमाले कास्कीका अध्यक्ष हुन् भने दोश्रो संविधान सभामा उनी कास्की क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका शारदा पौडेलसँग थोरै मतले मात्र पराजित भएका थिए । सो क्षेत्रमा नेपाली कांग्रेसले गुरु बराललाई टिकट दिएको छ । नेविसंघबाट राजनीति शुरु गरेका उनी कांग्रेसका युवा नेता हुन् ।

सोही क्षेत्रको प्रदेश क्षेत्र नम्बर २ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजकाजी गुरुङ ‘करण’ उम्मेद्वार बनेका छन् । उनी पहिलो संविधान सभा निर्वाचनमा कास्कीबाट निर्वाचित भएका थिए । उनी दोश्रो संविधानसभामा पर्वत क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । उनी माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य तथा कास्कीका इञ्चार्ज पनि हुन् । सो क्षेत्रमा नेपाली कांग्रेसले बिन्दुकुमार थापालाई उम्मेद्वार बनाएको छ । थापा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।

कास्की क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका जगत विश्वकर्मा उम्मेद्वार छन् । सो क्षेत्रमा नेपाली कांग्रेसले शुक्रराज शर्मालाई उम्मेद्वार बनाएको छ । शर्मा नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कास्कीका पूर्वसभापति हुन् ।

सो क्षेत्रको प्रदेश नम्बर १ मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामजी वराल उम्मेद्वार बनेका छन् । वराल माओवादी केन्द्र कास्कीका सहइञ्चार्ज हुन् । सो क्षेत्रमा नेपाली कांग्रेसले शारदा पौडेललाई उम्मेद्वार बनाएको छ । पौडेल दोश्रो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित निवर्तमान सांसद हुन् ।

सो क्षेत्रको प्रदेश क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका राजिव पहारी उम्मेद्वार बनेका छन् । उनी युवा संघ नेपालका केन्द्रीय अध्यक्ष हुन् । सो क्षेत्रमा नेपाली कांग्रेसले भोजबहादुर गुरुङ ‘सिकन्दर’लाई उम्मेद्वार बनाएको छ ।

यसैबीच, बाम गठबन्धन र नेपाली कांग्रेस दुबैले तामझामका साथ उम्मेद्वारी दर्ता गर्ने तयारी गरेका छन् । वाम गठबन्धनले आज संयुक्त जुलुशसहित निर्वाचन कार्यालय गएर उम्मेद्वारी दर्ता गर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र कास्कीका इञ्चार्ज करणका अनुसार मनोनयन दर्ताका लागि बिहान ११ बजे एमालेको नयाँबजारस्थित पार्टी कार्यालयबाट र नेकपा माओवादी केन्द्रको शिवालय चोकस्थित पार्टी कार्यालयबाट जुलुश शुरु भई सृजनाचोकमा पुगेर भेट हुनेछ । सो ठाउँबाट संयुक्त जुलुश शुरु भई राष्ट्र बैंक चोक हुँदै शहीदचोकस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता शुरु हुनेछ ।

मनोनयन दर्ता भइरहँदा जुलुश पुनः रत्नचोकमा फर्केर सभामा परिणत हुने एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । सभालाई एमाले र माओवादीका स्थानिय नेतृत्वले सम्बोधन गर्ने उनले जानकारी दिए ।

कास्कीमा वाम गठबन्धनको तर्फबाट उम्मेद्वारी मनोनयन दर्ता गर्दा कुनै एक पार्टीको उम्मेद्वार भए प्रस्तावक र समर्थक अर्को पार्टीको राखिने वाम गठबन्धनले जनाएको छ । नेकपा माओवादी केन्द्र कास्कीका इञ्चार्ज करणका अनुसार बैठकले वाम गठबन्धनको उम्मेद्वारले मनोनयन गर्दा एमालेको उम्मेद्वार भए प्रस्तावक र समर्थक माओवादी केन्द्रको राख्ने र माओवादी केन्द्रको उम्मेद्वार भए नेकपा एमालेको प्रस्तावक र समर्थक राखिने भएको हो ।

नेपाली कांग्रेस पोखरा सभागृहमा भेला भएर जुलुशसहित उम्मेद्वारी दर्ताका लागि जाने जनाएको छ । पोखरा सभागृहबाट ९ वटै निर्वाचन क्षेत्रका उम्मेद्वारसहितको जुलुश सृजनाचोक, रत्नचोक, शहीदचोक हुँदै निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने तयारी गरिएको कास्की कांग्रेसका प्रचारप्रसार समितिका नविन सिग्देलले जानकारी दिए ।

निर्वाचन कार्यालय कास्कीले कास्की क्षेत्र नम्बर १ र सो क्षेत्रको प्रदेश १ र २ को लागि पोखरा उपत्यका नगर विकास समितिको कार्यालय, क्षेत्र नम्बर २ र प्रदेश क्षेत्र नम्बर १ र २ को लागि डिभिजन सहकारी प्रशिक्षण कार्यालय र क्षेत्र नम्बर ३ र सो क्षेत्रको प्रदेश क्षेत्र नम्बर १ र २ को लागि जिल्ला समन्वय समिति कास्कीको कार्यालयमा क्षेत्रीय निर्वाचन कार्यालय खोलेर उम्मेद्वारी दर्ता गर्ने ब्यवस्था मिलाएको कास्कीका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment