१६ कात्तिक, काठमाडौं । सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारहरु विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
माओवादीको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभा सदस्य विरुद्ध माओवादीका संस्थापक नेताहरुले नै वागी उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभामा विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेत विरुद्ध पूर्व सांसद समेत रहेको माओवादीका सस्थापक नेता तथा पार्टी पोलिटव्यूरो सदस्य उमाकान्त शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रदेश (क) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका एमालेका गुलावजङ शाहविरुद्ध माओवादीका पूर्व जिल्ला इञ्चार्ज भीमप्रकाश शर्मा र प्रदेश (ख)बाट उम्मेदवारी दर्ता गराएका एमाले नेता प्रकाश ज्वालाविरुद्ध माओवादीका पूर्व कमाण्डर जीतबहादुर पुनले उम्मेद्वारी दिएका छन् ।
स्वतन्त्र उम्मेदवारी दर्तागरको उमाकान्त शर्माले जिल्ला पार्टी कै निर्णयअनुसार आफूहरुले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै शर्माले बुधबार पार्टी जिल्ला बैठकले केन्द्रलाई सिट र टिकट वाँडफाँटको निर्णय सच्याउन माग गरेपनि त्यसो नभएपछि जिल्लाको निर्णय अनुसार उम्मेदवारी दिएको बताए ।
शर्माले ८० प्रतिशत जनता आफूहरुको पक्षमा रहेको दावी गर्दै जित निश्चित भएको बताएका छन् ।
गठबन्धनका सबै उम्मेदवार विरुद्ध बागी परेपछि सल्यानमा गठबन्धन समेत धरापमा परेको छ ।
प्रतिक्रिया 4