Comments Add Comment

कास्कीको चुनावी मैदानमा ११३ उम्मेदवार (नामावलीसहित)

१७ कात्तिक, कास्की । कास्कीको चुनावी मैदानमा ११३ जना उत्रिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि हिजो भएको उम्मेदवारी दर्तामा ११३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, प्रतिनिधिसभाका लागि ३७ र प्रदेशसभाका लागि ७६ जनाको उम्मेदवारी परेको छ । कास्कीमा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभा तर्फ ६ निर्वाचन क्षेत्र छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ मा १३, क्षेत्र नम्बर २ मा १३ र क्षेत्र नम्बर ३ मा ११ जनाले उम्मेदवारी दिएका हुन् । जसमध्ये महिला उम्मेदवारको संख्या ४ जना मात्रै छ ।

निर्वाचन कार्यालयका अनुसार, प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ७६ मध्ये १० जना महिला छन् । कास्की क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ मा २ महिलासहित १५, सोही क्षेत्रको प्रदेश क्षेत्र नम्बर २ मा १ महिलासहित ११ जनाले उम्मेदवारी दिएका हुन् । कास्की क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र नम्बर १ मा १ महिलासहित ९, सोही क्षेत्रको प्रदेश क्षेत्र नम्बर २ मा १ महिलासहित १० जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, कास्की क्षेत्र नम्बर ३ को १ मा १ महिलासहित १० र २ महिलासहित ८ जनाले उम्मेदवारी दिएका छन् ।

कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि १३ जनाको उम्मेदवारी परेको छ । प्रतिनीधि सभाका लागि कास्की क्षेत्र नम्बर १ मा ९ जनाले उम्मेवारी दिएका छन् । वाम गठबन्धनका तर्फबाट कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका खगराज अधिकारी, नेपाली कांग्रेसका तर्फबाट यज्ञबहादुर थापा, राष्ट्रिय जनमोर्चाका मदन मुरारी घिमिरे, नयाँशक्ति पार्टी नेपालका सौगात पोखरेल, विवेकशील साझा पार्टीका दीपक पौडेल, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका टेकबहादुर गुरुङ, एकीकृत राष्ट्रिय प्रजातन्त्र (राष्ट्रवादी)का सञ्जय कार्की, मंगोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङ, नेपाली कांग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाट, संघीय समाजवादी फोरम नेपालका मनबहादुर गुरुङ, नेपाल दलित पार्टीका राजु परियार, आमूल परिवर्तन मसिहा पार्टीका पदमबहादुर गुरुङ र स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।

कास्की क्षेत्र नम्बर १ ‘हेभीवेट’ नेताहरुको भिडन्त हुने क्षेत्र हो । यसमा एमालेका तर्फबाट पूर्वस्वास्थ्य मन्त्री तथा नेकपा एमालेका सल्लाहकार परिषदका उपाध्यक्ष खगराज अधिकारीले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट न्याय, कानून तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा मैदानमा उत्रिएका छन् ।

कास्की क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ मा २ महिलासहित १५ जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा वामगठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका दीपक कोइराला ‘रुपक’, नेपाली कांग्रेसका जीवन परियार, राप्रपाका देउबहादुर गुरुङ, नेपाली कांग्रेस (बिपी)का रामबहादुर केसी, मंगोल नेशनल अर्गनाइजेशनकी जानु गुरुङ, राप्रपा प्रजातान्त्रिकका लक्ष्मीकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका दीपककुमार थापाले उम्मेदवारी दिएका छन् । जनप्रतिनिधि बन्ने चाहनाका साथ उम्मेदवारी दिने अन्य उम्मेदवारहरुमा विवेकशील साझा पार्टीका नवराज खनाल, नयाँशक्ति पार्टीका नारायणहरि तिवारी, राष्ट्रिय जनमुक्ति पार्टीका सीता श्रीस मगर, नेपाल दलित पार्टीका मानबहादुर कामी, देशभक्त जन गणतान्त्रिक नेपाल पार्टीका श्रीधन राई, स्वतन्त्र उम्मेदवारद्वय अजिम बक्स मिया र टीकाराम पंगेनी छन् ।

क्षेत्र नम्बर १ कै प्रदेश क्षेत्र नम्बर २ मा १ महिलासहित ११ जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका मनबहादुर गुरुङ, नेपाली कांग्रेसबाट कृष्ण केसी, मंगोल नेशनल अर्गनाइजेशनका मानबहादुर थापा, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रबहादुर कार्की, संघीय समाजवादी फोरम नेपालका काशीमाया गुरुङ, राष्ट्रिय जनमोर्चाका गिरबहादुर कुवर, नयाशक्तिका कमल थाप, विवेकशील साझा पार्टीका फडिन्द्रमोहन कडेल, राप्रपाका नारायण गुरुङ, नेपाल दलित पार्टीका भीमबहादुर दर्जी र देशभक्त जन गणतान्त्रिक नेपाल पार्टीका प्रेमराज मस्र्याङगीले उम्मेदवारी दर्ता गरेका हुन् ।

उता, कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि ४ महिलासहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभाका लागि सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका रवीन्द्र अधिकारी, नेपाली कांग्रेसका देवराज चालिसे, नयाँ शक्ति पार्टीका दीपक भण्डारी, विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा पार्टीका दालकुमारी खत्री, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कर्णबहादुर पुन, संघीय समाजवादी फोरम नेपालका रत्न भट्टचन मैदानमा उत्रिएका छन् । त्यसैगरी नेपाल दलित पार्टीका लक्ष्मी विश्वकर्मा, नेकपा मालेका टेकनाथ भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राई, राष्ट्रिय जनमुक्ती पार्टीका उमा दर्लामी, मंगोल नेसनल अर्गनाइजेसन पार्टीका ज्ञानराज गुरुङ र निर्मल खत्रीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

कास्की–२ को प्रदेश क्षेत्र नम्बर १ मा १ महिलासहित ९ जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका कृष्ण थापा, नेपाली कांग्रेसका गुरु बराल, नयाँ शक्ति पार्टीका हेमबहादुर थापा पराजुली, विवेकशील साझा पार्टीका चिरञ्जीवी वराल, राष्ट्रिय जनमोर्चाका टिकाराम अधिकारी, राप्रपाका विष्णु खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर थापा मगर, मंगोल नेसनल अर्गनाइजेशनका निर्मल आले र संघीय समाजवादी फोरम नेपालका कुलबहादुर भुजेलले उम्मेदवारी दर्ता गरेका छन् ।

कास्की–२ को प्रदेश क्षेत्र नम्बर २ मा १ महिलासहित १० जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङ ‘करण’, नेपाली कांग्रेसका विन्दुकुमार थापा, नयाँशक्ति पार्टीका डम्बरबहादुर केसी, राष्ट्रिय जनमोर्चाका गणेश अधिकारी, नेपाल दलित पार्टीका मिठू परियार, राप्रपा प्रजातान्त्रिकका देवेन्द्रकिशोर बास्तोला, संघीय समाजवादी फोरम नेपालका किसन विश्वकर्मा, राप्रपाका विष्णुबहादुर खत्री, मंगोल नेसनल अर्गनाइजेशनका टेकबहादुर राना र नेपाली कांग्रेसका नेता नरेश शंकर पालिखेले बागी उम्मेदवारी दिएका छन् । पालिखेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सो क्षेत्रमा प्रतिनीधि सभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका जगत विश्वकर्मा, नेपाली कांग्रेसका शुक्रराज शर्मा, नयाँशक्ति पार्टीका नारायणप्रसाद भण्डारी, विवेकशील साझा पार्टीका मिलन अधिकारी, नेपाल दलित पार्टीका दुर्गाबहादुर कामी सुनार, जनसमाजवादी पार्टीका रमेश बसेल, राष्ट्रिय जनमोर्चाका हिमलाल गौतम, संघीय समाजवादी फोरम नेपालका डिलबहादुर नेपाली, देशभक्त जन गणतान्त्रिक मोर्चा नेपालका भोजबहादुर त्रिपाठी, मंगोल नेशनल अर्गनाइजेसनका गोविन्दबहादुर गजमेर र स्वतन्त्र उम्मेदवार दुर्गादत्त तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । एमालेका विश्वकर्माको प्रस्तावक नेकपा एमालेकी सिता गिरी ओली र समर्थक नेकपा माओवादी केन्द्रका धर्मबहादुर गुरुङ रहेका छन् ।

कास्की–३ को प्रदेश क्षेत्र नम्बर १ मा १ महिलासहित १० जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका रामजी वराल ‘जीवन’, नेपाली कांग्रेसकी शारदा पौडेल, नयाँ शक्तिका देवीप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, विवेकशील साझा पार्टीका चिरञ्जीवी अधिकारी, जनसमाजवादी पार्टीका गोरे दमै, नेपाल दलित पार्टीका कृष्णबहादुर दमाई, राप्रपाका केदारनाथ पौडेल, संघीय समाजवादी फोरम नेपालका चिनबहादुर नेपाली, मंगोल नेसनल अर्गनाइजेशनका सुरेन्द्र विश्वकर्मा भिड्दै छन् ।
कास्की–३ को प्रदेश क्षेत्र नम्बर २ मा २ महिलासहित ८ जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा वाम गठबन्धनले एमालेका राजिव पहारीलाई उठाएको छ भने कांग्रेसले भोजबहादुर गुरुङ ‘सिकन्दर’लाई उम्मेदवार बनाएको छ । त्यसैगरी नयाँशक्ति पार्टीका नेत्रप्रसाद चापागाई, राष्ट्रिय जनमोर्चाका विष्णु पुरी, राप्रपाका धनुमाया कोइराला आचार्य, विवेकशील साझा पार्टीका गुरुप्रसाद बराल, नेपाल दलित पार्टीका कमला विक, संघीय समाजवादी फोरम नेपालका तुलबहादुर गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका भीमप्रसाद गुरुङ पनि चुनावी मैदानमा उत्रिएका छन् ।

थापाविरुद्ध पालिखेको बागी उम्मेदवारी

कास्की क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता नरेश शंकर पालिखेले कांग्रेसबाट वागी उम्मेदवारी हालेका छन् । उनले सो क्षेत्रका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विन्दुकुमार थापाविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । पालिखेको प्रस्तावकमा उनकी श्रीमती रिता पालिखे रहेकी छन् भने समर्थकमा प्रकाश सार्की छन् । यसअघि स्थानिय तहको निर्वाचनमा पनि पालिखे पोखरा लेखनाथ महानगरपालिकाका मेयर उम्मेदवारका आकांक्षी थिए । तर टिकट अर्कैले पायो । त्यसपछि उनी रुष्ट बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment