Comments Add Comment

पत्रिकाका समाचारः मतदाता शिक्षामा अर्बौं खर्च, उपलब्धि शून्य

१९ कात्तिक, काठमाडौं । दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्तापछि सिंगो देश नै चुनावमय बनेको छ । पत्रपत्रिकाहरुको प्राथमिकतामा पनि केही दिनदेखि निर्वाचनसँग सम्बन्धित सामग्रीहरु पर्न थालेका छन् । आज पनि पत्रपत्रिकाहरुले चुनावका विविध–पाटा पक्ष केलाएर समाचार पस्केका छन् । चुनावका अतिरिक्त हतियारसहित भारतीय नेपाल छिरेको, बेपत्ता आयोगको करोडौं फ्रिज भएको, उद्योगपतिहरु पनि कृषि पेशामा आकर्षित हुन थालेकोलगायत खबर आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

मतदाता शिक्षाको उपलब्धि शून्य

मतदाता शिक्षाका नाममा निर्वाचन आयोगले अर्बौं खर्च गरे पनि उपलब्धि भने निराशाजनक छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, निर्वाचन आयोगले मतदाता शिक्षाका लागि अर्बको हाराहारीमा खर्च गरे पनि जनताको अमूल्य मत खेर गइरहेको छ । सही रुपमा मतदान गर्ने तरिका थाहा नपाउँदा हालिएको म तबदर भएका हुन् ।

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि मतदाता शिक्षा र तालिमका लागि एक अर्ब ४२ करोड ५९ लाख ६३ हजार रुपैयाँ छुट्याइएको छ ।

आयोगले मतदाता शिक्षामार्फत् मत खसाल्ने तरिका सिकाएर मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दछ । पहिलो चरणअन्तर्गत ३२ जिल्लामा हुने निर्वाचन आउन करिब तीन साता मात्र बाँकी छ, तर आयोगले मतदाता शिक्षा सुरु गरेकै छैन ।

समानुपातिकमा महिला बढी, प्रत्यक्षमा पुरुष

मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ महिलाको उम्मेदवारी बढी देखिएको छ ।

नागरिक दैनिकका अनुसार, कानुनअनुसार समानुपातिकमा ५० प्रतिशत अनिवार्य महिला चाहिने भएकाले दलहरुले बाध्य भएर महिलाको नाम राखेका हुन् ।निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा ३ हजार ६ सय ४३ जना महिलाको नाम समावेश छ । त्यसैगरी २ हजार ८ सय ५१ जना पुरुषको नाम समानुपातिक बन्दसूचीमा राखिएको निर्वाचन आयोगले जनाएको छ । बन्दसूचीमा ५६ प्रतिशत महिलाको नाम समावेश गरिएको छ भने ४४ प्रतिशत पुरुषको नाम छ । प्रत्यक्षतर्फको उम्मेदवारी हेर्दा कानुनअनुसार महिलाको प्रतिशत पुर्याउन निकै कठिन पर्ने देखिन्छ

आयोग जान कर्मचारीको मरिहत्ते

निजामति कर्मचारीका लागि सरकारी अड्डामा सबैभन्दा आकर्षक ठाउँ निर्वाचन आयोग बन्न पुगेको छ । निर्वाचन आयोगमा काजमा काम गर्नका लागि भन्दै आउने कर्मचारीको चाप थेगिनसक्नु छ ।

‘आयोगमा काज जान कर्मचारीको मरिहत्ते’ शीर्षकको समाचारमा अन्नपूर्णले लेखेको छ– स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण यो वर्ष मुलुक निर्वाचनमय बनेको छ । यस्तो अवसरलाई कर्मचारीले राम्रै सदुपयोग गरिरहेका छन् । दुर्गम जिल्लामा निर्वाचनमा खटिनुभन्दा केन्द्रमै पनि त्यस्तो मौका पाइने भएकाले कर्मचारी आयोगमा काजमा जान महिरत्ते गरिरहेका छन् ।

निर्वाचन आयोगमा जम्मा १ सय ६७ जना कर्मचारीको दरबन्दी छ, तर यसका अतिरिक्त ५० जना कर्मचारी काजमा काम गरिरहेका छन् । काजमा काम गर्न पाऊँ भन्दै निवदेन हाल्नेको चाप बढेपछि आयोगले अहिले निवेदन लिनै बन्द गरेको समाचारमा उल्लेख छ ।

आयोगले बदल्यो मतदान केन्द्रको डिजाइन

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आजको कान्तिपुर दैनिकका अनुसार, आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको छ ।

आगामी निर्वाचनमा मतदाताले तीनवटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीनवटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा मतदाता नझुक्किऊन्, एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा नखसालुन् भनेर आयोगले विशेष ध्यान पुर्याउनुपर्नेछ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदान प्रक्रियालाई मतदातामैत्री बनाउन मतदान केन्द्रको व्यवस्थापन परिमार्जन गरिएको बताए ।

यसअघि दुइटा मतपत्र र दुइटै मतपेटिकाबाट चुनाव गराउने तयारी भएकामा त्यहीअनुसार मतदान केन्द्रको डिजाइन गरिएको थियो । मतपत्र तीनवटा हुने भएपछि केन्द्रको डिजाइन पनि परिवर्तन गरिएको हो ।

बेपत्ताको करोडौं फ्रिज

अन्नपूर्ण पोस्ट दैनिकमै द्वन्द्वकालमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि गठन गरिएको आयोग पदाधिकारीको अकर्मण्यताको सिकार हुँदा करोडौं रकम फ्रिज भएको समाचार छ ।

छानबिनको विषयलाई लिएर आयोग पदाधिकारीकै मनमुटावले काम गर्न चुकेका कारण सात करोड ३४ लाख रुपैयाँ फ्रिज भएको समाचारमा उल्लेख छ ।

आयोगको थपिएको अवधि सकिन ३ महिना मात्र बाँकी छँदा बल्ल छानबिनका लागि उजुरी खोलिएको छ । दुई वर्षको बीचमा काम नभएका कारण आयोगलाई विनियोजन भएको झन्डै आधा रकम फ्रिज हुने अवस्था आएको हो ।
५ सय अधिकृत माग्दै लोकसेवा

सरकारले निजामति सेवाका विभिन्न तहमा पाँ सय पचासभन्दा बढी अधिकृतका लागि नयाँ भर्ना प्रक्रिया थालेको छ । सरकारको मागका आधारमा लोकसेवा आयोगले प्राविधिक र अप्राविधिक गरी पाँच सय पचासभन्दा बढी अधिकृतका लागि छिट्टै विज्ञापन गर्ने तयारी गरेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकको समाचार अनुसार, सामान्यले विभिन्न मन्त्रालय र निकायमा आवश्यक अधिकृत माग गर्दे विज्ञापनका लागि लोकसेवा आयोग पठाउने गृहकार्यलाई तीव्रता दिएको छ ।

खेती–किसानीमा धनीहरु

विभिन्न उद्योग–धन्दा सञ्चालन गर्दै आइरहेका उद्योगपतिहरु खेती किसानीमा आकर्षित हुन थालेका छन् । उद्योगपति सुरज वैद्यदेखि ज्योति समूहसम्मले कृषिमा लगानी गरेका हुन् ।

आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, अटो व्यवसायमा जमिरहेका वैद्यज अर्गनाइजेसनले कृषि व्यवसायमा ठूलो लगानी गरेको छ । समूहले धनकुटा, इलाममा चिया र नुवाकोटमा कफी उत्पादन गरिरहेको छ । त्यस्तै कुखुरा व्यवसायको राजधानी मानिने चितवनमा पोल्ट्री चलाइरहेको छ ।

नेपालमा आधुनिक सपिङ कल्चर भित्र्याउने मीनबहादुर गुरुङले पूर्वमा ह्याचरी सुरु गरिसकेका छन् । कृषिमा ठूलो लगानी गर्ने उनको योजना रहेको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

किन नेपाल छिर्दैछन् हतियारधारी भारतीय ?

उपेन्द्र यादव सप्तरीबाट उम्मेदवार बनेको विषयलाई मुख्य समाचार बनाएर छापेको कान्तिपुर दैनिकले हतियारसहित भारतीय नेपालमा पक्राउ पर्नुको कारणलाई प्राथमिकताका साथ आज छापेको छ ।

समाचारमा कान्तिपुरले लेखेको छ – चुनावका बेला हतियारसहित र हतियाररहित भारतीय अपराधी धमाधम पक्राउ पर्नुको घटनाले सुरक्षा निकायको नेतृत्व तहलाई नै गम्भीर बनाइदिएको छ । नेपाल प्रहरीको प्रतिआतंकवाद सेलमा कार्यरत एक अधिकारीका अनुसार चुनावी सुरक्षाका निम्ति यो नयाँ चुनौती हुनसक्छ ।’

र, यो पनि खबर

पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोप लागेका युवा खुलेआम घुमिरहेका छन् ।

घटना भएको एक साता बित्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन । किशोरीमाथि सामूहिक बलात्कारको आरोप लागेकामध्ये एक युवा वडाध्यक्षका छोरा भएकाले वडाध्यक्षकै दबाबमा प्रहरीले उनीहरुलाई पक्राउ नगरेको समाचार पीडितलाई उद्धृत गर्दै अन्नपूर्ण पोस्ट दैनिकले आज लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment