+
+
Shares

जो पहिलो पटक चुनाव लड्दैछन्

कांग्रेस प्रशिक्षकदेखि युवा संघ अध्यक्षसम्म

अमृत सुवेदी अमृत सुवेदी
२०७४ कात्तिक २० गते १८:३७

२० कात्तिक, पोखरा । दोस्रो चरणको निर्वाचन आउन ३० दिन मात्र बाँकी छ । उम्मेदवारी दर्तासँगै कास्कीमा चुनावी सरगर्मी बढेको छ ।

कास्कीमा मतदाताले पहिल्यै भोट हालेका उम्मेदवारदेखि हेभिवेट भएका नेता पनि चुनावी मैदानमा छन् । त्योभन्दा धेरै उम्मेदवार पहिलो पटक चुनावको स्वाद चाख्न मातदाताको घरदैलोमा छन् ।

विकास समितिका सभापति रवीन्द्र अधिकारी, कानुनमन्त्री यज्ञबहादुर थापा, पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी मतदाताका लागि पुरानै अनुहार हुन् । उनीहरु कास्कीका हेभिवेट नेता पनि हुन् ।

एमाले कास्की अध्यक्ष कृष्ण थापा, कांग्रेस कास्की अध्यक्ष कृष्ण केसी, कांग्रेसका पूर्व सांसद तथा कास्की कांग्रेस पूर्व सभापति शुक्रराज आचार्य, पूर्व सांसद शारदा पौडेल पनि धेरै मतदाताका लागि परिचित अनुहार नै हुन् । पोखराका पूर्व मेयरसमेत रहेका कृष्ण थापा संविधानसभा २०७० मा क्षेत्र नम्बर ‘ख’ मा शारदा पौडेलसँग पराजित भएका थिए । थापा अहिले प्रदेशसभातर्फ उम्मेदवार छन् ।

कास्की कांग्रेस सभापति कृष्ण केसी पहिलो पटक चुनावको स्वाद लिँदै मैदानमा उत्रिएका नेता हुन् भने शुक्रराज शर्मा पनि सांसदको निर्वाचनमा पराजित भएका थिए । शारदा पौडेल यसअघि क्षेत्र नम्बर २ बाट निर्वाचित नेतृ हुन् ।

यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार मनबहादुर गुरुङले पनि चुनावको स्वाद चाखिसकेका छन् । २०५४ सालमा उनी साविकको पार्चे गाविसको निर्वाचित अध्यक्ष हुन् ।

कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा २ का उम्मेदवार राजकाजी गुरुङ पनि टेस्टेड उम्मेदवार हुन् भने क्षेत्र नम्बर २ का उम्मेदवार एमाले नेता जगत विश्वकर्मालाई पनि मतदाताले एक पटक भोट हालिसकेका छन् । उनी २०५४ सालमा लामाचौर गाविसको उपाध्यक्ष बनेका थिए । क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ का उम्मेदवार कांग्रेस नेता जीवन परियार निर्वाचनमा प्रतिस्पर्धा नै नगरे पनि समानुपातिकबाट संसद बनेका नेता हुन् । नयाँ शक्ति, राप्रपा लगायतका साना पार्टीबाट धेरै जना पहिलो पटक उम्मेदवार बनेका छन् ।

नयाँ शक्ति कास्की संयोजक हेमबहादुर थापा कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ का एमालेका कृष्ण थापा र कांग्रेसका गुरु बरालसँग चुनावी प्रतिस्पर्धामा छन् ।

नयाँ शक्तिबाट चुनाबी मैदानमा भएका क्षेत्र नम्बर १ मा सोगात पोखरेल, क्षेत्र नम्बर २ मा दीपक भण्डारी र क्षेत्र नम्बर २ मा नारायण भण्डारी सबै पहिलो पटक उठेका उम्मेदवार हुन् । विद्यार्थी तथा विभिन्न संघसंस्थाको निर्वाचनमा भाग लिए पनि जनताबाटै चुनिने गरी चुनावमा होमिएका विशेषत वाम गठबन्ध र कांग्रेसबाट कास्कीमा को-को छन् त अनटेस्टेड उम्मेदवार ?

पार्टीलाई परेका बेला जिताउने सिपाही हुँः चालिसे

आफू पार्टीको एक सच्चा सिपाही भएकाले चुनावी मैदानमा उत्रिएको बताउँछन् कास्की क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार चालिसे । ‘म एक सिपाही हुँ । पार्टीलाई अˆठेरो परेका बेला नै हो हामीजस्ता सिपाही चाहिने,’ चालिसेले अनलाइनखबरसँग भने, ‘मैले अहिले यो अवसरको रुपमा लिएको छु ।’

पूर्वसांसद रवीन्द्र अधिकारीसँग चुनावी मैदानमा होमिएका चालिसेले आˆनो जित सुनिश्चित भएको दाबी गरे । अधिकारी र चालिसेबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका चालिसे कांग्रेसबाट केन्द्रीय प्रशिक्षक भएर ७५ जिल्लै पुगेका छन् ।

उनी वौद्धिक र वैचारिक नेताका रुपमा चिनिने चालिसे वाककलामा माहिर छन् । पृथ्वीनारायण क्याम्पसका पूर्वउपप्राध्यापक चालिसे त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति र नेवि संघको केन्द्रीय कार्यवाहक अध्यक्ष भएर काम गरेका छन् ।

एमाले र माओवादीको वाम गठबन्धन बनेको र राजनीतिमा आफूभन्दा जुनियर नै भए पनि चर्चित नेतासँग चुनाव लडेर जित हात पार्नेमा ढुक्क रहेको उनी सुनाउँछन् ।

पहिलोचोटी लड्दैछु भन्ने नै लागेको छैनः कृष्ण केसी

कास्की कांग्रेस सभापति कृष्ण केसी २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति थालेका हुन् । केसी कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का मतदाताको घरदैलोमा पुग्दैछन् ।

पहिलो पटक चुनावी एजेन्डा लिएर मतदाताको आँगनमा पुगेका केसीले पहिलो पटक लड्दैछु भन्ने नै नलागेको प्रतिक्रिया दिए । ‘म पहिलो पटक चुनावमा उठ्दैछु । त्यसैले गम्भीर छु’ केसीले भने, ‘आˆनै घरआँगनमा सबै चिनेजानेकै र मतदाताले गरेको रेस्पोन्सका कारण पहिलो पटक लड्दैछु भन्ने फिलै भएको छैन ।’

वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले कास्की उपाध्यक्ष मनबहादुर थापासँग केसीले प्रतिस्पर्धा गर्दैछन् ।

म उत्साहित छुः विन्दुकुमार थापा

पहिलो पटक कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’बाट चुनावी मैदानमा होमिएका विन्दुकुमार थापा आफू उत्साहित रहेको बताउँछन् । कांग्रेसबाट टिकट पाएका थापाले आफू चिरपरिचित र विकासप्रेमी भएकाले पार्टीले टिकट दिएको दाबी गरे । ‘म स्थानीय तहको निर्वाचनमा पनि टिकट पाउने रेसमै थिएँ । पार्टीले अहिले टिकट दिएको छ । म एकदम खुसी र उत्साहित छु,’ थापाले भने, ‘उद्योगी र राजनीतिक सबै व्यक्तिसँग मपरिचित भएकाले म जित्छु भन्नेमा आशावादी छु ।’

घरजग्गा र अटो व्यवसायी थापा पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष हुन् । उनले वाम गठबन्धनका माओवादी कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङसँग प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रसकै नरेशशंकर पालिखेले बागी उम्मेदवारी दिएका छन् । पालिखेले अन्तिममा आफूलाई सहयोग गर्ने गरी मैदान छोडिदिनेमा आशावादी रहेको थापाले बताए ।

अपनत्व र आनन्दको महसुस भएको छः राजीव पहारी

कास्की क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट टिकट पाएका युवा संघ अध्यक्ष राजीव पहारी पहिलो पटक भोट माग्दै मतदाताको घरदैलोमा छन् ।

जनताको उत्साह र सकारात्मक साथले आफूलाई गम्भीर र उत्साहीत दुवै बनाएको उनले अनुभव सुनाए । ‘युवालाई सांसदमा पुर्‍याउन पाइने भइयो भनेर जनता खुसी हुनुभएको छ’ पहारीले भने, ‘जनतामाझ जाँदा अपनत्व र आनन्दको महसुस हुँदोरहेछ । मिठा सुझावहरु पाइँदोरहेछ । यसले मलाई परिपक्क भएको फिल गराएको छ ।’

उनी आफू २६ वर्षदेखि पार्टीमा होलटाइमर कार्यकर्ता भएको बताउँछन् । संसदको निर्वाचन पहिलो भए पनि उनी विद्यार्थी निर्वाचनको भने स्वाद चाखेका नेता हुन् । २०५७ सालमा उनी पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए । २ वर्षदेखि उनले युवासंघको नेतृत्व गरिरहेका छन् । उनी कांग्रेसका भोजबहादुर गुरुङ सिकन्दरसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

पार्टीले विश्वास गरेर टिकट ला भन्योः भोजबहादुर गुरुङ

टिकट नमाग्दा पनि उम्मेदवार भएको रमाइलो अनुभव सुनाउँछन् क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘ख’का कांग्रेस उम्मेदवार भोजबहादुर गुरुङ ‘सिकन्दर’ । ‘अरुले पार्टीसँग टिकट माग्न गए । मैले दाबी गरेकै होइन, मलाई त ला भनेर दियो’ गुरुङले सुनाए, ‘काम गरिराखेपछि एक पटक पालो आउँछ भनेको हो रहेछ ।’

अहिले चुनाव पैसामुखी भएको तर, आफूसँग पैसा पनि नभएकाले टिकट माग्न नगएको उनले बताए । वीपीको शव यात्राको कमान्डर मै थिएँ । वीपीको निधन भएको कोठामा कृष्णप्रसाद भट्टराई लगायत हामी ४ जनामात्रै थियौं,’ गुरुङले भने, ‘पुरानो र कहिल्यै अवसर नखाजेको वीपीको बाटोमा हिँडेको नेता भोट माग्न जाँदैछु । मलाई जिताउनुहुनेछ भन्ने विश्वास छ ।’ उनी युवा संघका अध्यक्ष राजीव पहारीसँग चुनाव लड्दैछन् ।

जनतालाई बुझ्ने अवसरः दीपक कोइराला

कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट टिकट पाएका माओवादी कास्की सहइन्चार्ज हुन्, दीपक कोइराला । पहिलो पटक चुनावी मैदानमा होमिएका कोइरालाले यसलाई जनताको घरदैलोसम्म पुग्ने अवसर भन्छन् ।

‘मेरो नयाँ अनुभव हो । यसले जिम्मेवारी वोधजस्तो, प्रतिवद्दता पूरा गर्न उत्साहीतजस्तो फरक अनुभव गराएको छ’ कोइरालाले भने, ‘यो अवसरले मलाई मतदाताका समस्या बुझ्न, सुझाव लिएर भोलि संसदको निर्वाचन जितेपछि काम गर्न उत्प्रेरणा मिलेको छ ।’

क्रिकेट संघका पूर्व कार्यबाहक अध्यक्ष समेत रहेका कोइराला कांग्रेसका पूवैसांसद जीवन परियारसँग प्रतिस्पर्धा गर्दैछन् ।

पार्टीको विश्वासलाई साकार पार्ने उत्साह छः गुरु बराल

पार्टीले विश्वास गरेर टिकट दिएपछि जनताको घरदैलोमा पुग्ने अवसरलाई, कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का कांग्रेस उम्मेदवार गुरु बरालले गौरव महसुस गरेको बताए ।

विद्यार्थी आन्दोलन, सामाजिक अभियानको नेतृत्व गरेको एक युवालाई पार्टीले टिकट दिँदा धेरै जना सुखी र उत्साही भएको उनले सुनाए । ‘म उत्साही पनि छु तर, एउटा जिम्मेवारी वोधको महसुस पनि गरेको छु,’ बरालले भने, ‘अग्रहजले कही गर्न सक्ने युवा हो भने विश्वास र आडभरोसा गर्नुभएको छ । त्यो कसरी पूरा गर्न सक्छु भनेर लागिरहेको छु ।’

वाम गठबन्धनका उम्मेदवार एमाले कास्की अध्यक्ष कृष्ण थापासँग बरालले प्रतिस्पर्धा गर्दैछन् । निर्वाचनमा पहिल्यै चिनिइसकेको अनुहार भएकाले आफूलाई मतदाताले विश्वास गर्ने उनको भनाइ थियो । बराल नेवि संघ कास्की सभापति, केन्द्रीय उपाध्यक्ष हुन् भने अहिले महाधिवेशन प्रतिनिधि छन् ।

युवा राजनीतिमा आउनु जरुरी छ: सौगात पोखरेल

सौगात पोखरेल नयाँ शक्ति नेपालबाट कास्की क्षेत्र नम्बर १ मा चुनावी मैदानमा उत्रिएका छन् । हेबिवेटका पूर्व तथा वर्तमान दुई मन्त्रीसँग चुनावी प्रतिस्पर्धा गर्न पाउनुलाई उनले सौभाग्य रुपमा लिएका छन् । उनी कांग्रेस नेता तथा हालका कानुनमन्त्री यज्ञबहादुर थापा र पूर्वस्वास्थ्यमन्त्री एमाले नेतृ खगराज अधिकारीसँग चुनाव लड्दैछन् ।

‘म धेरै उत्साहित छु । र यो पनि आवश्यक छ कि युवा राजनीतिमा आउन जरुरी छ,’ २९ वर्षका सौगातले भने ‘आफू राजनीतिक हस्तक्षेपमा नआउने तर युवाको पालो आएन भनेर गनगन गरिबस्ने अधिकार हामीलाई छैन ।’

उनले समृद्धिका लागि युवा राजनीतिमा आउनुपर्ने र नेपाली राजनीतिमै विकल्पको खोजि भइरहेका बेला नयाँ शक्तिले त्यसको नेतृत्व गर्ने बताए । पोखरेल नयाँ शक्ति नेपालको युवा प्रशिक्षण विभागमा छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?