२१ कात्तिक, रौतहट । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीमा क्रियाशील र पुराना नेताको सट्टा नवप्रवेशीलाई पार्टीले टिकट दिएपछि असन्तुष्टि चुलिएको छ ।
रौतहटमा नेपाली काग्रेंस तथा राजपाका नेता कार्यकर्ता सबै भन्दा बढी रुष्ट देखिएका छन् ।
वर्षौदेखि नेपाली कांग्रेसका लागि जीवन समर्पित गरेका नेतालाई टिकट नदिएर आर्थिक चलखेलका आधारमा पार्टीको साधारण सदस्य समेत नरहेको व्यक्तिलाई टिकट दिएको भन्दै रौतहट काग्रेंसमा तीव्र असन्तुष्टि देखिएको छ ।
यस्तै मधेश आन्दोलनको बेला संघर्ष गर्ने नेताको सट्टा पार्टी भन्दा बाहिरको व्यक्तिलाई मनोनयन दर्ता गर्न दिएपछि राजपाका नेता पनि आक्रोशित छन् ।
पार्टीका लागि संघर्ष र आन्दोलन गरेकाहरुको मूल्याङ्कन नभएको भन्दै राजनीतिक दलका कार्यकर्ताहरु असन्तुष्ट बनेका छन ।
रौतहटमा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ समेत गरेर जम्मा बाह्र जना निर्वाचित हुनेछन् ।
रातारात उम्मेदवार
रौतहटको क्षेत्र नं. ४ बाट राजपा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि नेपाल प्रहरीका पूर्व आइजी प्रदिप शमशेर राणाको चर्चा चलिरहँदा पार्टीले अचानक गरुडाका व्यापारी कन्थमणी जयसवाललाई प्रतिनिधिसभाको उम्मेदवार बनायो । प्रदिप शमशेरले भने प्रदेश सभाका लागि क्षेत्र नं. ४ को ‘ख’बाट उम्मेदवारी दिए ।
गरुडाका व्यवसायी कन्थमणी जयसवाल राजपाका साधारण सदस्य समेत होइनन । स्थानीय तह निर्वाचनको मुखमै उनी माओवादी केन्द्र प्रवेश गरेका थिए ।
माओवादीमा प्रवेश गरेका जयसवाललाई पार्टीले गरुडाको मेयरका लागि टिकट नदिए पछि उनले स्वतन्त्र चुनाव लडेका थिए ।
स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकामा माओवादी केन्द्रले विपिन जयसवाललाई मेयरको उम्मेदवार बनाए पछि कन्थमणीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
यसै गरी रौतहटको क्षेत्र नं. ३ बाट राजपा गठबन्धनका तर्फबाट पूर्व सभासद गोबिन्द चौधरीको नाम आइरहदा मनोनयन भने ओमप्रकाश साहले दर्ता गराएका थिए ।
विर्ताका मदिरा व्यवसायी साहले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन । पूर्व कृषि मन्त्री समेत रहेका गोबिन्द चौधरी नेपाली कांग्रेस, लोकतान्त्रीक फोरम हुँदै हाल राजपामा प्रवेश गरेका नेता हुन ।
रातारात उम्मेदवार बन्ने मौका पाएका अर्का भाग्यमानि राजेशकुमार चौधरी हुन । नेपाली कांगे्रसबाट रौतहट क्षेत्र नं. १ को ‘ख’मा प्रदेशसभाका लागि चौधरीले उम्मेदवारी दर्ता गराएका हुन ।
आर्थिक चलखेलकै आधारमा चौधरीले टिकट पाएको नेपाली काग्रेंसका नगरस्तरीय नेता कार्यकर्ताको आरोप रहेको छ ।
कांगे्रसको साधारण सदस्य समेत नरहेका चौधरीलाई उम्मेदवार बनाए पछि नेता कार्यकर्ता आक्रोशित समेत बनेका छन् ।
कांग्रेसले क्षेत्र नं. ३ को ‘ख’मा पनि प्रदेशसभा निर्वाचनका लागि रामनारायण यादवलाई टिकट दिएको थियो । यो उम्मेदवारीलाई पनि कांग्रेसका अन्य नेता कार्यकर्ताले आर्थिक उम्मेदवारीको संज्ञा दिएका छन् ।
बागीको उस्तै विगविगी
पार्टीले आˆनो मूल्याङ्कन नगरेको भन्दै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका बागी उम्मेदवारका कारण पनि नेताहरु समस्यामा परेका छन् ।
रौतहटको क्षेत्र नं. १ बाट पूर्व सभासद बबन सिंहले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य समेत रहेका पूर्व सभासद सिंहलाई राजपा गठबन्धनले टिकट नदिए पछि उनले स्वतन्त्र मनोनयन दर्ता गराएका थिए ।
लामो समयसम्म मधेशमा पार्टीको लागि खटेको र योगदान गर्दा समेत पार्टीले आˆनो मूल्याङ्कन नगरे पछि आफूले उम्मेदवारी दिएको सिंहले बताए ।
रौतहटको यसै क्षेत्रबाट प्रतिनिधिसभाका लागि राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा उम्मेदवार छन् ।
यसैगरी रौतहटको क्षेत्र नं. ४ बाट प्रदेशसभाको टिकट नपाएको भन्दै माओवादी केन्द्रका नेता राजु धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।
पूर्व सभासद देवेन्द्र पटेललाई टिकट दिए पछि धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्लाको ४ प्रतिनिधिसभा सदस्य र प्रदेशसभाका ८ सीटका लागि कुल २३८ जनाको मनोनयन दर्ता भए पनि दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
जिल्लामा कुल २३६ जना उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया 4