Comments Add Comment

लालबाबु भन्छन्- चुनाव लड्ने पैसा छैन, कतारका मजदुरले सहयोग गरेका छन्

२१ कात्तिक, बिराटनगर । नेकपा एमाले पार्टीका पोलिटव्यूरो सदस्य लालबाबु पण्डितले आफ्नै क्षेत्रका मतदाता र विदेशमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट आफू चुनाव लडिरहेको वताएका छन् ।

मोरङ क्षेत्र नम्वर ६ मा प्रतिनिधि सभा सदस्यका लागि उमेद्वार बनेका पण्डितले आफूसँग चुनाव लड्ने पैसा नभएकाले अरुको सहयोग लिनुपरेको बताए ।

प्रेस सेन्टर र प्रेस चौतारी मोरङले मंगलबार बिराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पण्डितले विगतको चुनाव खर्च सम्झिए, ‘०४८ सालमा म ३० हजार रुपैयाँले चुनाव लडेको थिएँ, ०५१ सालमा ७० हजार पुग्याथियो । ०५६ सालमा साढे ३ लाख खर्च भएको थियो । अहिले सहयोगको कुरा गर्नुहुन्छ भने कतारमा नेपाली सय रुपैयाँ मजदुरहरुले उठाउन थाल्याछन् लालबाबु पण्डितलाई म सहयोग गर्न तयार छु भनेर ।’

‘ठाउँ-ठाउँमा सय रुपैयाँ, ५० रुपैयाँ जति सकिन्छ सहयोग गरे हुन्छ,’ ठट्यौली पारामा प्रस्तुत हुँदै पण्डितले भने, ‘पत्रकार मित्रहरुले पनि अलिअलि दिएर सहयोग गर्नुहुन्छ कि !’

नेता पण्डित प्रदेश सभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग प्रतिस्पर्धामा छन् । डा. कोइरालालाई पैसावाला प्रतिस्पर्धीको संज्ञा दिँदै उनले बोरामा पैसा बोक्नेहरुलाई जनताले हराउने चेतावनी दिए ।

०५६ सालको निर्वाचनमा आफूसँग सूर्यबहादुर थापाको भाइ हरेन्द्र थापा चुनाव लडेको तर हारेको प्रसंग निकाल्दै पण्डितले भने, ‘उहाँले (हरेन्द्र थापाले) घोषणा गर्नुभएको थियो मेरा छोराहरु अमेरिकामा छन् ३ लाख डलर पठाइदिएका छन् त्यतिले त पुग्ला नी । त्यतिखेर ३ लाख रुपैयाँको ३ करोड हुन्थ्यो । पछि उहाँले भोट गिन्ती हुन थालेपछि बाक्सै पक्डिन जानुभाथ्यो, मेरो २ करोड यसमा छ भनेर । भोट गिन्ती भयो उहाँ निराश भएर जानुभयो । त्यस कारणले पैसाको बोरा बोक्नेहरु यसपटक पनि खेर जान्छन् ।’

पैसा खर्चेकै भरमा नभइ आफू जस्तै आत्मविश्वासी र सदाचारीलाई जनताले बिजयी नगराउने दाबी पण्डितको थियो । नेपाललाई माया गर्ने र सुशासन रुचाउनेहरुले आफूलाई मत दिने दाबी गर्दै उनले भने, ‘मलाई मधेसी, पहाडी, मुस्लिम सबैले माया गरेर भोट दिनेछन् र म बिजयी हुनेछु ।’

पण्डितले आफू मधेस अलग्गै हुनुपर्छ भन्नेमा नभइ मधेस सम्वृद्ध हुनुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट्याए । मधेस आन्दोलनका घाइतेहरुको उपचारमा आफू सक्रिय रहेको जानकारी उनले दिए ।

नेता पण्डिलले बिराटनगरलाई महानगर बनाउन नदिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला लागिपरेको तर असफल भएको समेत बताए । बिराटनगरलाई पहिलो चरणमै महानगर बनाउन गरिएको संघर्ष कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बाधा हालेर असफल बनाएको तर बिराटनगरबासीले निरन्तर गरेको संघर्षले मात्र बिराटनगर दोस्रो चरणमा महानगर बन्न सफल भएको पण्डितले दाबी गरे ।

लालबाबु र डा. शेखर दुबै हेभीवेट प्रतिस्पर्धी भएकाले मोरङ ६ को चुनाव रोमाञ्चक बन्ने अनुमान गरिएको छ । यस क्षेत्रमा ६ मा एक लाख १० हजार ३२२ मतदाता छन् ।

मोरङ ६ मा विराटनगर महानगरपालिकाका ५, ६, ७, ९, ११ र १२ वडा तथा सुन्दर हरैचा नगरपालिकाको २, ३, ४, ५, ६ र ७ नम्बर वडा छन् । स्थानीय चुनावको परिणाम हेर्दा यो क्षेत्रमा लोकतान्त्रिकभन्दा वाम गठबन्धन बलियो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment