Comments Add Comment

रमेश उप्रेतीलाई नभै हुन्न, हरेक छाकमा मोही

अमेरिका जानुअघि नेपाली चलचित्रमा रमेश उप्रेतीकै जमाना थियो । ती दिनहरुमा हिरोको विम्ब यस्तो थियो, बलिष्ठ, हृष्टपुष्ट, चकलेटी । त्यही धङ्धङी बोकेर अमेरिका पुगेका उनी लामो बसाईपछि नेपाल फर्किए ।

प्रवासी जीवनमा पनि उनको ‘हिरोइज्म’ सकिएको रहेनछ । नेपाल र्फकनासाथ सिनेमा निर्माणमा लागे । तर यसबेला नेपाली समाजले बनाएको हिरोको बिम्ब फेरिइसकेको थियो । खस्रो छाला भएका हिरोहरुले सिल्भर स्क्रिनमा धमाकेदार इन्ट्री मारिसकेका थिए ।

तर, रमेश उप्रेती पुरानै स्टाइलमा पदार्पण भए चलचित्र ‘ऐश्वर्य’बाट । यो उनकै लगानीको फिल्म हो । अघिल्लो फिल्म ‘ब्रासलेट’ले बनाएको खाडल भरथेग गर्न यो फिल्म सफल रह्यो । दर्शकले रुचाए । हामीसँगको भेटमा पनि रमेश उप्रेतीको हिरोइज्म जस्ताको तस्तै थियो । उनको जीवनशैली पनि ‘हिरो’कै जस्तो रहेछ ।

जिमका क्रेजी

हामीसँग कुराकानी गर्नुअघि उनी जिममा थिए । खासमा उनी जिमका सौखिन रहेछन् । दिनमा तीन-चार घण्टा नियमित जिम गर्छु भन्दै थिए । ‘फुर्सद छ भने म जिममा इन्जोए गर्न सक्छु,’ रमेशले सुनाए, ‘त्यो मेरो क्रेज नै हो ।’

शारीरिक तन्दरुस्तीका लागि उनी योग गर्छन्, व्यायाम गर्छन्, जिम धाउँछन् । सोहि अनुसार खानपान मिलाउँछन् । ‘व्यायाम गरेपछि त्यस्तै पोषणको आवश्यक हुन्छ,’ रमेश भन्छन्, ‘त्यसैले भरपुर खाना पनि खानुपर्छ ।’

जिम जानु, व्यायाम गर्नु, योग गर्नु शारीरिक स्वास्थ्यका लागि हो । ‘मर्नु त छँदैछ,’ उनले सुनाए, ‘तर बाँचुञ्जेल निरोगी हुन पाइयोस् ।’


नो स्ट्रेस

कुरै कुरामा उनी दार्शनिक शैलीमा पेश भए । यसो भन्दै, ‘बिल गेट्स मर्छ, डोनाल्ड ट्रम्प मर्छ, सबै मर्छन् । हामी जन्मिएपछि एक दिन मर्छौं । त्यसैले ठूलठूला सपना सजाएर, दिनरात चिन्ता लिएर बस्नु आवश्यक छैन ।’ उनी चिन्ता लिँदैनन् रे ।

स्वदेश फर्किएपछि बनाएको पहिलो फिल्म ‘ब्रासलेट’ले हावा खायो । दोस्रो फिल्म ‘ऐश्वर्य’ बनाए । फिल्म प्रदर्शनताका मनमा हलचल पैदा हुने नै भयो । मुटुको चाल बढ्ने नै भयो । यद्यपि त्यसैमा उनी पिरोलिएका रहेनछन् । ‘असफल हुन्छ कि भनेर डराउनु किन ? चिन्ता लिनु किन ?’ उनले भने, ‘वास्तवमा जे, जति छ त्यसमै रमाउन सक्नुपर्छ ।’

तनाव हरेकलाई हुन्छ । तर, त्यसलाई कसरी लिने भन्ने कुरा मुख्य हो । तनाव आउनै नदिने भन्ने हुँदैन । बरु, पैदा भएको तनावलाई व्यवस्थापन गर्न सक्नुपर्छ । उनको भनाइको सार यस्तै थियो ।

नो अल्कोहल

ग्ल्यामर क्षेत्रमा लागेकालाई दुई कुराबाट जोगिन गाह्रो हुन्छ, पार्टी र मदिरा । यद्यपि रमेश उप्रेती भने मदिराप्रेमी होइनन् रे । पार्टीमा पनि आशक्ति छैन रे । ‘मलाई मदिराप्रति पटक्कै रुचि भएन,’ रमेशले सुनाए, ‘धेरै अल्कोहलिक हुन ठीक लाग्दैन ।’

यद्यपि उनको जिब्रोले मदिराको स्वाद नलिएको भने होइन । जमघटमा उनी साथीहरुसँग चियर्स गरिरहेका हुन्छन् । ‘सोसल डि्रङ्कको रुपमा लिइन्छ,’ रमेशले थपे, ‘माहौल रमाइलो बनाउनका लागि मात्रै ।’

यसरी जमघट हुँदा उनी बियरको गिलास समाउँछन् । यद्यपि उनको लिमिट छ । एक बोत्तल ।

लोकल कुखुराको सुप, ढिंडो र खुर्सानीको अचार

रमेशले देश-विदेश चहारे । सैयौं थरीका परिकार खाए । तर, उनको जिब्रोलाई न बेइजिङ डगले तान्यो, न जापानी सुशीले । जहाँ गएपनि घरकै ढिंडोको तलतल लागिरह्यो ।

उनको जिब्रो ढिंडोको स्वादमा लोभिएको छ । त्यससँग लोकल कुखुराको सुप हुनुपर्छ । अनि, खुर्सानीको पिरो अचार । एक गिलास मोही अनिवार्य चाहिन्छ । यति भएपछि उनको खान्की पूर्ण हुन्छ । रमेशको खानामा कहिल्यै छुट्दैन, मोही । उनलाई हरेक छाकमा एक गिलास मोही चाहिन्छ ।

लुगा नलगाइ कुहिसक्यो

रमेश पहिरनका भने औधी सौखिन रहेछन् । उनका कलेक्सनमा त्यस्ता सैयौं सर्ट, पाइन्ट, टिसर्ट, जुत्ता रहेछन् । ‘कति लुगा त मैले अहिलेसम्म लगाउन भ्याएकै छैन,’ उनले भने, ‘ट्यागसमेत उप्काइएको छैन ।’ त्यस्ता लुगा दराजमै कुहिन थालेको समेत उनले बताए ।

त्यसो त, उनी ब्रान्डेड पहिरनमै जोड दिन्छन् । उनी ब्रान्डेड पहिरनमै अभ्यस्त छन् । ‘म अक्सर ब्रान्डेड लुगा नै लगाउँछु,’ भन्दै थिए, ‘ननब्रान्डेड लगाइँदैन । ननब्रान्डेडमा मन नै जाँदैन ।’

टिकाउ, विश्वासिलो, सहज र फिटिङ्स हुने भएकाले ब्रान्डेड पहिरन रोजाइमा परेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment