+
+

प्रदेशसभामै हेभिवेट भिडन्तः वाम गठबन्धनलाई बागीको चुनौती

राजकुमार लेखी, सत्यनारायण मण्डल र सुबोध पोखरेलसँगै प्रकाश खतिवडा चुनावी मैदानमा

 एस.के.शान एस.के.शान
२०७४ कात्तिक २२ गते ११:१४

२२ कात्तिक, सप्तरी । सप्तरी क्षेत्र नम्बर १ को क प्रदेशसभामा हेभिवेट नेताहरु भिडेका छन् । जिल्लाको उत्तरी र केहि दक्षिणी भागलाई समेटेको यो प्रदेशसभामा राजपाका महासचिवदेखि एमालेका २ नम्बर प्रदेश संयोजकसम्म चुनावी मैदानमा छन् ।

राजपाका महासचिव राजकुमार लेखी, एमालेका प्रदेश २ संयोजक सत्यनारायण मण्डल, कांग्रेसका डा. सुबोध पोखरेल चुनावी मैदानमा छन् ।

एमालेकै प्रकाश खतिवडा बागी उम्मेदवार छन् । खतिवडा बाहेकका उम्मेदवार धेरै समय काठमाडौं बस्ने र कहिले काहीँ जिल्ला आउने गर्छन् । तर, सबैको घर यही क्षेत्रमा पर्छ ।

राजपा महासचिव लेखी केहि महिना यता लगातार जिल्लामै बस्दै आएका छन् । डा. सुवोध पोखरेल र मण्डल धेरै काठमाडौं बसेपनि जिल्ला आउजाउ भइरहन्छ ।

दोस्रो संविधानासभामा समानुपातिक सांसद रहेका सुबोध यसपटक प्रदेशमा प्रत्यक्षबाटै भिड्न लागेका हुन् । मण्डल पनि सांसददेखि मन्त्रीसम्म बने तर, प्रत्यक्ष चुनाव लडेका छैनन् ।

अर्का उम्मेदबार राजकुमार लेखी पनि पुरानो एमाले कार्यकर्ता नै हुन् । शुरुमा एमाले रहेका उनी दुई बर्ष अगाडि आफ्नै नेतृत्वमा नागरिक पार्टी खोले । तर गत बैशाखमा उनी तत्कालिन सद्भावना पार्टीमा प्रवेश गरेका थिए । सद्भावनासहित ६ दल मिलेर राजपा बनाएपछि उनी राजपाका महासचिव बनेका छन् । उनी प्रतिनिधीसभाका आकांक्षी थिए । तर, पार्टीले उनलाई प्रदेशसभाको टिकट दिएको छ ।

वाम गठबन्धनलाई चुनौती

यो क्षेत्र वाम गठबन्धनलाई चुनौती देखिएको छ । कारण, एमालेको बागी उम्मेदवारी । वाम गठबन्धनका उम्मेदवार सत्यनारायण मण्डलबिरुद्व उनकै पार्टीका जिल्ला सदस्य प्रकाश खतिवडाले उम्मेदवारी दिएका छन् । खतिवडा जिल्लामै सक्रिय नेता हुन् ।

बागी उम्मेदवारी दिएपछि खतिवडा पार्टीको कार्वाहीमा पनि परेका छन् । पार्टीको जिल्ला कमिटिले उनको सदस्यता नै खारेज गरिदिएको छ भने उनका प्रस्तावक र समर्थकको पनि सदस्यता खारेज भइसकेको एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले बताएका छन् ।

तर यो कारबाहीले एमालेभित्रै असन्तुष्टि बढाएको छ ।

हुन त यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेले दुई तह जितेको छ । कंचनरुप र सप्तकोशी नगरपालिका एमालेले जितेपनि माओवादीको अवस्था राम्रो छैन । सप्तकोशी नगरपालिकामा माओवादी दोस्रो भयो तर, फराकिलो मतान्तरले । कंचनरुप नगरपालिकामा माओवादी धेरै पछि परेको थियो ।

एमालेको संगठन बलियो भएपनि खतिवडामाथि गरिएको कार्वाहीले एमालेभित्रै केहि तिक्तता देखिएको छ, जुन निर्वाचनमा बिष्फोट बन्न सक्छ ।

के हुन्छ डा. सुबोधको ?

फोरम लोकतान्त्रिक कांग्रेसमा बिलय भएपछि प्रदेशसभाको टिकट पाएका डा. सुबोध पोखरेलले कांग्रेसीहरुको साथ पाएका छन् । कांग्रेसका स्थानीय नेता/कार्यकर्ता उनको प्रचार-प्रसारमा जुटेका छन् । उनी पनि राम्रै प्रतिस्पर्धामा रहने आंकलन गरिएको छ ।

प्रदेशसभाको यो क्षेत्रमा पर्ने कुल ३ वटा स्थानीय तहमध्ये एउटा कृष्णा सावरण गाउँपालिकामा कांग्रेसले जीत निकालेको छ । कंचनरुपमा भने कांग्रेसले दोस्रो मत ल्याएको थियो । स्थानीय तहको चुनावी आंकडालाई हेर्ने हो भने डा. सुबोधले पनि जित निकाल्न सक्ने सम्भावना त्यत्तिकै छ ।

महासचिव लेखीको अवस्था

राजपा महासचिव राजकुमार लेखी आफूले जित्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘म दुई महिनादेखि जनताको घरदैलोमा छु । । जनताले विश्वास गरेका कारण पक्का जित्नेछु ।’

उनी मधेसी गठबन्धनबाट चुनाव लडेका छन् । स्थानीय तहको निर्वाचनमा कंचनरुप नगरपालिकामा राजपा र फोरमले नजितेपनि राम्रै मत ल्याएका छन् । अर्काे कुरा यो क्षेत्र थारु बाहुल्य पनि हो र यसले लेखीलाई सघाउन सक्ने विश्लेषण गरिएको छ ।

खतिवडाको पनि जित्ने विश्वास

सत्यनारायण मण्डल उम्मेदबार बन्नुअघि प्रकाश खतिवडा एमालेको स्थानीय तहबाट बहुमतले उम्मेदवार सिफारिस भइसकेका थिए । तर, अन्तिम समयमा आएर मण्डललाई टिकट दिइयो र उनी चुनावी मैदानमा स्वतन्त्रबाटै उत्रेका छन् । पार्टीको कार्वाहीमा परिसकेका उनी भन्छन्, ‘म लोकतन्त्रलाई मान्दै आएको र स्थानीयस्तरमा जनतासँग सधैं घुलमिल भएका कारण जित्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?