Comments Add Comment

पूर्वेली मतदाता झुक्याउने नाराः जहाँ उम्मेदवार, त्यहीँ राजधानी

प्रदेश १ को राजधानीबारे एउटै पार्टीका तीनथरि मुख !

२३ कात्तिक, काठमाडौं । राजनीतिक पार्टीले चुनावका बेला जनतालाई झुक्याउन जे पायो त्यही बोल्छन् । यसको दृष्टान्त हेर्ने हो भने बिराटनगरबाट इटहरी, धरान हुँदै धनकुटासम्म पुगे हुन्छ ।

प्रशंग हो, प्रदेश नम्बर १ को राजधानी ।

हामीले एउटै दल नेकपा एमालेका फरक-फरक उम्मेदवारलाई सोध्यौं- तपाईको दलले १ नम्बर प्रदेशको राजधानी कुन ठाउँलाई बनाउने नीति लिएको छ ?

जवाफमा एउटै दलका उम्मेदवारले तीनथरि कुरा सुनाएः

धनकुटालाई प्रदेशको राजधानी बनाउँछुः राजेन्द्र राई

प्रतिनिधिसभाका लागि नेकपा एमालेका तर्फबाट धनकुटाको उम्मेदवार बनेका राजेन्द्र राईलाई हामीले सोध्यौं- १ नम्बर प्रदेशको राजधानी कहाँ बनाउने तपाईको पार्टीको नीति छ ?

जवाफमा राईले भने- ‘मेरो मुख्य एजेण्डा भनेको धनकुटाका जनताको खुशी, सुख र समृद्धि हो । प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाइनेछ ।’

एमाले र माओवादीका साझा उम्मेदवार राईले आफ्ना प्रतिद्वन्दी राप्रपा प्रजातान्त्रिकका नेता सुनीलबहादुर थापाले धनकुटालाई प्रदेशको राजधानी बनाउन नसक्ने र आफ्नो दल एमालेले मात्रै सक्ने भन्दै चुनाबी भाषणहरु गरिरहेका छन् ।

धनकुटाबाट प्रतिनिधिसभामा राप्रपा र कांग्रेसका साझा उम्मेदवार थापाले पनि धनकुटालाई प्रदेशको राजधानी बनाउने भन्दै भोट मागिरहेका छन् ।

एमाले नेता राईले धनकुटा जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको स्तरोन्नति र विकासका लागि विशेष योजना बनाइएको बताए ।

उनले प्रदेशको राजधानी धनकुटामै बनाइनु उपयुक्त हुने तर्क गरे ।

साथै धनकुटाको पाखि्रवासमा भ्यू टावर निर्माण गर्ने र पार्टीको घोषणा पत्रमा उल्लेख भएका हरेक कुरा गर्ने उनले बताए ।

यद्यपि एमालेको घोषणापत्रमा प्रदेशको राजधानीबारे कुनै ठोस प्रस्ताव छैन । प्रदेशको राजधानी प्रदेश सभाले तोक्ने कानूनी व्यवस्था छ ।

धरानलाई प्रदेशको राजधानी बनाउँछुः जयकुमार राई

प्रतिनिधिसभाका लागि सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् एमालेका जयकुमार राई । र, उनले पनि आफूले चुनाव लडेकै क्षेत्रमा प्रदेशको राजधानी बनाइने नारा अगाडि सारेका छन् ।

एमाले नेता राईले अनलाइनखबरसँग भने- ‘वाम गठबन्धनबाट केन्द्रीयस्तरमा घोषणापत्र जारी भइसकेको छ । यहाँको स्थानीय घोषणा पत्र तयार गर्ने काम भइरहेको छ । मेरो घोषणापत्रको मुख्य एजेण्डा भनेको धरानलाई प्रदेशको राजधानी बनाउने हो ।’

एमाले नेता राईले अगाडि भने- ‘प्रदेशको राजधानी बनाउनका लागि धरान उपयुक्त ठाउँ हो । हरेक दृष्टिकोणबाट धरान १ नं. प्रदेशको केन्द्रमा छ । बिराटनगरको गर्मीको मान्छे धरानमा आएर काम सम्पन्न गर्न सक्छ । किमाथाङ्काको जाडोको मान्छेले पनि यहाँ आएर काम गर्न सक्छ ।’

धरान धार्मिक विविधताले पनि पूर्ण रहेको ठाउँ रहेकाले धरानलाई प्रदेशको राजधानी बनाउन उपयुक्त हुने एमाले उम्मदेवार राईले बताए ।

बिराटनगरलाई प्रदेशको राजधानी बनाउँछुः लालबाबु पण्डित

धनकुटे र धराने एमाले नेताहरुले आ-आफ्नो निर्वाचनक्षेत्रमै प्रदेशको राजधानी बनाइने बताइरहँदा एमालेका अर्का नेता लालबाबु पण्डितले चाहिँ बिराटनगरलाई १ नं. प्रदेशको राजधानी बनाउने बताएका छन् ।

पण्डितले अनलाइनखबरसँग भने- ‘बृहत्तर बिराटनगरको विकासको अवधारणा अनुरुप बिराटनगरलाई प्रदेशको राजधानी बनाइनेछ ।’

साथै बिराटनगरलाई प्रदेशको राजधानी अनुरुपको संरचनामा स्तरोन्नति गर्नका लागि अहिले बिराटनगरमा रहेको एयरपोर्टलाई विस्तार गरेर क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने योजना एमाले नेता पण्डितले अगाडि सारेका छन् ।

त्यसैगरी जोगवनी-किमाथाङ्का सडकको त्रिदेशीय मार्गलाई समेत प्राथमिकता दिने र सामाजिक, धार्मिक र राजनीतिक सद्भाव विकास गरेर लिएर अघि बढ्ने पण्डितको योजना छ । बिराटनगरलाई स्वास्थ्य, शैक्षिक र इञ्जिनियरिङ हब बनाउने पण्डितको योजना छ ।

पण्डितले आफ्नो चुनाव प्रचारमा आफ्नो पार्टीले बिराटनगरलाई नै प्रदेशको राजधानी बनाउने बताउने गरेका छन् ।

मुखै खोल्दैनन् मुख्यमन्त्रीका दाबेदार

प्रदेश नम्बर १ बाट मुख्यमन्त्रीका दाबेदार छन् एमाले नेता भीम आचार्य र शेरधन राई । आचार्य सुनसरीको इटहरीका हुन् भने राई भोजपुरका हुन् ।

विगतको स्थानीय चुनावमा एमालेका मेयर उम्मेवार द्वारिका चौधरीले इटहरीलाई प्रदेशको राजधानी बनाइने भन्दै भोट मागेका थिए । इटहरीका अधिकांश एमाले नेताहरुले १ नम्बर प्रदेशको राजधानी इटहरीलाई बनाइनुपर्ने माग गर्दै आएका छन् ।

तर, सुनसरीबाटै प्रदेश सभामा उम्मेदवार बनेका एमाले नेता भीम आचार्यले भने इटहरीलाई प्रदेशको राजधानी बनाइनेबारे खुलेर बताउन चाहेनन् ।

एमालेका उम्मेदवारैपिच्छे प्रदेशको राजधानी बेग्लाबेग्लै शहरलाई बनाउने भन्दै भोट माग्ने काम भइरहेको छ, खासमा १ नम्बर प्रदेशको राजधानीबारे एमालेको एजेण्डा के हो ?

अनलाइनखबरको जिज्ञासामा एमालेका प्रदेश संयोजकसमेत रहेका आचार्यले भने- ‘यस प्रदेशको राजधानी कहाँ बनाउने भन्नेबारे हाम्रो पार्टीभित्र छलफल भइरहेको छ, कुनै ठोस निर्णय भइसकेको छैन ।’

आचार्यले प्रदेशेको राजधानीबारे छलफल भइरहेको बताइरहँदा भोजपुरबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका एमाले नेता शेरधन राई भने १ नम्बर प्रदेशको राजधानीबारे अहिल्यै छलफल गर्ने बेला नभएको बताउँछन् ।

‘मेरो मुख्य एजेण्डा भनेको त संविधानको कार्यान्वय नै हो, पूर्वमन्त्रीसमेत रहेका राईले अनलाइनखबरसँग भने, ‘प्रदेशको राजधानी कुन ठाउँलाई बनाउने भन्ने विषयमा मेरो एजेण्डामा केन्दि्रत छैन ।’

प्रदेशको राजधानी कहाँ हुने भन्ने कुराको बहसमा अहिल्यै उत्रिनुको अर्थ छैन भन्दै राईले अगाडि भने, ‘भोलि उपयुक्त ठाउँमा प्रदेशको राजधानी तोकिन्छ ।’

प्रदेशको राजधानी कहाँ हुने भन्ने प्रदेशसभाकै अधिकारक्षेत्रभित्र पर्ने हुनाले यो विषयमा अहिल्यै प्रवेश गर्नु उपयुक्त नहुने राईले अनलाइनखबरलाई बताए ।

भावी प्रदेशसभामा विवाद पर्ने संकेत

एउटै पार्टीका उम्मेदवारले समेत बेग्लाबेग्लै शहरलाई प्रदेशको राजधानी बनाइने बताउँदै भोट माग्न थालेपछि भावी प्रदेशसभामा यसबारे क्रस-पार्टी विवाद पर्न सक्ने स्पष्ट संकेत देखिएको छ ।

अब बन्ने एक नम्बर प्रदेशसभामा राजधानीबारे एमालेकै नेताहरुको मत बाझिने स्पष्ट छ । त्यसबेला भोटिङबाट प्रदेशसभाको राजधानी तय गर्ने परिस्थिति पनि आउन सक्ने देखिन्छ ।

कांग्रेस र माओवादीमा पनि उस्तै दुःख

प्रदेश नम्बर १ को राजधानी कहाँ बनाउने भन्नेबारे नेपाली कांग्रेस र माओवादीको दुख पनि एमालेको जस्तै छ ।

धनकुटा (क) बाट प्रदेशसभामा उम्मेदवार बनेका कांग्रेस नेता मनोहरनारायण श्रेष्ठले प्रदेशको राजधानी धनकुटालाई बनाइने एजेण्डालाई आफ्नो चुनावी मुद्दा बनाएका छन् ।

तर, सोही कांग्रेस पार्टीकै उम्मेदवार महेश आचार्य, डा. शेखर कोइराला र अमृत अर्यालहरुले बिराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउने भन्दै भोट मागिरहेका छन् ।

माओवादी उम्मेदवार शिवकुमार मण्डलले त बिराटनगरलाई प्रदेशको राजधानी बनाइएन भने पार्टीमै विद्रोह गर्ने सम्मका अभिव्यक्ति दिने गरेका छन् ।

इटहरीलाई समेटिएको क्षेत्रबाट प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मदेवार बनेका माओवादीका डम्बर सुवेदी इटहरीलाई प्रदेशको राजधानी बनाउने पक्षमा छन् ।

उता धरानका माओवादी नेताहरु धरानलाई नै प्रदेशको राजधानी बनाउने भन्दै भोट मागिरहेका छन् ।

चुनाव क्षेत्र पिच्छे एउटै पार्टीका फरक फरक नारा सुन्दाखेरि मतदाताहरु भने अलमलमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment