Comments Add Comment

‘भोजपुरलाई माग्ने हैन, डाडुपन्यू लिएर पस्कने उम्मेद्वारको खाँचो छ’

३० कात्तिक, भोजपुर । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि भोजपुरमा वाम गठबन्धनका उमेदवारहरुले चुनावी अभियान सुरु गरेका छन् ।

औपचारिक रुपमा प्रचार अभियान सुरु गर्दै वाम गठबन्धनले भोजपुरलाई माग्ने नभई डाडुपन्यू लिएर आफै पस्कने उमेदवारको खाँचो भएको बताएको छ ।

भोजपुरको विकास वाम गठबन्धनको उमेदवारहरुको जीतबाट मात्र सम्भव रहेको दावी गर्दै गठबन्धनले आफै डाडुपन्यू लिएर जनतालाई विकास दिने दावी गरेको छ ।

गठबन्धका तर्फबाट प्रतिनिधिसभाका उमेदवार बनेका सुदन किराँतीले भोजपुर र देशको विकासका लागि वाम गठबन्धनलाई मत दिन आग्रह गरे ।

चुनावमा पराजित हुँदासम्म भोजपुरकै माटोमा रमाउने, भोजपुरकै विकासमा लागि लागेको भन्दै उनले विकास दिन सक्ने नेता रोज्न आग्रह गरे ।

यस्तै भोजपुर प्रदेश ‘ख’का उमेदवार शेरधन राईले आफू नारामा मात्र नभई मुख्यमन्त्रीको दौडमा लागिसकेकोले प्रदेशकै समृद्धिका लागि मतदान गर्न आग्रह गरे । ‘हामी रुँघ्ने, उँघ्ने, धाउने र माग्ने जनप्रनिधिको रुपमा होइन डाडुपन्यू लिएर आफैंले पस्किने ठाउँमा पुग्नेछौं ।’ उनले भने, ‘त्यसका लागि मतदान गर्नुस् ।’

भोजपुर प्रदेश ‘क’ का उम्मेद्वार राजेन्द्र राईले जनतासँग प्रत्यक्ष जोडिएका स्थानीय विकासका एजेण्डाहरुले मात्र जनतामा प्रत्यक्ष अनुभुति गर्न सक्ने भएकाले हुने र गर्नसक्ने कामहरुको सूची बनाएर जनताको घरदैलोमा पुगेको बताए ।

स्थानीय तह निर्वाचनलाई आधार मान्दा भोजपुरमा वाम गठबन्धन अगाडि छ । स्थानीय तहको मत अनुसार वाम गठबन्धनको ४० हजार २१ मत छ भने कांग्रेसको २१ हजार ९०५ मत छ । यो १८ हजार ११६ को अन्तर हो ।

प्रदेश ‘क’ मा वाम गठबन्धनको १८ हजार ८४७ मत छ भने कांग्रेस गठबन्धनको १३ हजार ३७९ मत छ । प्रदेश ‘ख’ मा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन झण्डै १३ हजार मतसहित अगाडि छ । वाम गठबन्धनको मत २१ हजार १७४ छ भने कांग्रेसको ८ हजार ५६२ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment