+
+
Shares

‘सुशील’दाको निर्वाचन क्षेत्रमा राप्रपालाई भोट माग्न गइन्नँ’

आरपी सुवेदी आरपी सुवेदी
२०७४ कात्तिक २४ गते १६:१२
बाँकेका रुष्ट काँग्रेसीहरूको नेतृत्व गरिरहेका निवर्तमान सांसद अब्दुल हमिद सिद्दिकी भोला ।

२४ कात्तिक, नेपालगञ्ज । बाँकेको क्षेत्र नम्बर २ (साविकको ३) बाट दोस्रो संविधानसभामा तत्कालीन पार्टी सभापति सुशील कोइराला निर्वाचित भएका थिए । उनी प्रधानमन्त्री मात्र भएनन्, उनकै सरकार नेतृत्वमा संविधान जारी भयो ।

तर, संविधान कार्यान्वयनका क्रममा भएको प्रतिनिधिसभा चुनावमा बाँके २ मा कांग्रेसले उम्मेदवार नै उठाएन । चुनावी तालमेलका नाममा स्व. कोइरालाको निर्वाचन क्षेत्र राप्रपालाई दिएपछि बाँकेका कांग्रेसीहरु रुष्ट छन् ।

उनीहरुको तर्क छ, सुशील’दाको क्षेत्र कुनै पनि मूल्य र मान्यतामा छाड्न हुँदैनथ्यो ।

तर, कांग्रेसले बाँके २ मा प्रतिनिधिसभा सदस्यकालागि उम्मेदवार नै उठाएन र राप्रपाका ओमप्रकाश आजादलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रको निर्णयका बाबजुद बाँके कांग्रेसका नेताहरु मौन विरोधमा छन् । उनीहरुले चुनावी कार्यक्रममा सक्रिय सहभागिता जनाउने रणनीति लिएका छन् ।

बाँकेका रुष्ट काँग्रेसीजनको नेतृत्व यतिबेला निवर्तमान सांसद अब्दुल हमिद सिद्दिकी भोलाले गरिरहेका छन् । उनले सुशील कोइरालाको निर्वाचन क्षेत्रमा कुनै हालतमा गाईका लागि भोट माग्न नजाने घोषणा गरेका छन् ।

‘पार्टी केन्द्रले पूर्वसभापतिको राजनीतिक ईतिहास नै मेटाउनले प्रयास गरिएको हामी त्यसको विरोधमा छौं’ भोलाले अनलाइनखबरसँग भने, ‘कुनै पनि अवस्थामा गाईमा भोट हाल भनेर भोट माग्न गइन्न ।’

बाँके कांग्रेस र कोइराला परिवारका लागि समेत प्रतिष्ठाको क्षेत्र बनेको बाँके २ मा उम्मेदवार बन्न मोहम्मदी सिद्दीकी, राजकुमार बर्मा, अब्दुल हमिद सिद्दिकी भोला र युवराज शर्माले दावेदारी प्रस्तुत गरेका थिए ।

तर, यो सिट राप्रपालाई छाडेपछि कांग्रेस बाँकेका नेता मात्र होइन, कार्यकर्ता पनि रुष्ट बनेका छन् । कांग्रेसले अन्य क्षेत्र राप्रपाका लागि छाडेपनि स्वर्गीय कोइरालाको क्षेत्रलाई भने छाड्न नहुने अधिकांशको धारणा छ ।

सिद्दिकीसहितका नेताहरु बिहीबार संयुक्त प्रचार अभियान उद्दघाटन कार्यक्रममा पनि गएनन् । उनी भन्छन्, ‘पार्टीले हाम्रो सुनुवाई नगरेपछि चारतारे झण्डा र चुनाव चिन्ह रुखसंगै गाई बोकेर हिँड्न सकिन्नँ ।’

उनले अघि भने, ‘हिजो स्थानीय चुनावमा लुकीलुकी गाईलाई भोट हाल्नेहरुलेहरु खुसी होलान । तर, हाम्रा पार्टी सभापतिको निर्वाचन क्षेत्र त्यसमा पनि गैरकांग्रेसी उम्मदवारका लागि भोट माग्न मेरो नैतिकताले दिँदैन ।’

बाँके कांग्रेसका पूर्वसभापति गजेन्द्र हमालले पनि पार्टीको ईतिहास बोकेको सिट राप्रपालाई दिँदा स्थानीय नेता कार्यकर्तामा अन्यौलता छाएको बताउँछन् ।

बाँके २ मा आजादसँगै वाम गठबन्धनबाट पशुपति दयाल मिश्र र संघीय समाजवादी फोरमबाट पूर्वमन्त्री मोहम्मद ईश्तियाक राई चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?