Comments Add Comment

कीर्तिनिधि बिष्टः सार्वजनिक जीवनमा शुद्धताका हिमायती

लिपुलेकमा चीनको आलोचना गर्ने पहिलो राजनेता

फाइल फोटो

अक्सर सबैसँग न्यानो र फुर्तिलो रुपमा सार्वजनिक स्थलहरुमा प्रस्तुत हुने कीर्तिनिधि बिष्टजीलाई केही वर्षअघि एकाबिहानै आफ्नो घरबाहिर पाउँदा आश्चर्य र खुशी लाग्यो । ‘मर्निङ वाक’मा नियमित निस्कने बिष्टजी आफ्ना सहयोगी, मित्र र सामाजिक सञ्जालका व्यक्तिहरुको घरमा पनि फाट्टफुट्ट पस्नुहुँदो रहेछ, बाटो पर्दा ।

उहाँको फराकिलो सामाजिक सञ्जालभित्र म पनि परें । र, उहाँमार्फत् राष्ट्र, समाज अनि बाहिरको जगतलाई नेपाली सन्दर्भबाट बुझ्ने अवसर पनि पाएँ मैले ।

झण्डै १७ वर्षको नियमित भेटघाट र गहिरो अनि अत्यन्त सम्मानको मेरो सम्बन्धमा मलाई सबभन्दा बढी प्रभावित पार्‍यो उहाँको सरल, विनम्र र मानवीय पक्षले । ती गुणहरुले गर्दा उहाँसँग वार्ता र भेटघाटमा संकोच घट्नु स्वाभाविकै थियो ।

तर, अक्सर आफैंलाई असहज हुने गरी विनम्र पनि बनिदिनुहुन्थ्यो उहाँ । ‘भेट्न आउँछु, कहिले अनुकूल होला ?’, ‘मै आउँछु तपाईंको घर’ उहाँको उत्तर हुन्थ्यो । र, निश्चित समयमा उहाँ आउनुहुन्थ्यो । यो उहाँको मानवीय पक्ष थियो ।

कीर्तिनिधि बिष्टजीलाई सम्भवतः २१ औं शताब्दीमा धर्ती टेकेको पुस्ताले राजाको प्रत्यक्ष शासनकालमा मन्त्रिपरिषदको उपाध्यक्षका रुपमा मात्र पनि चिन्ला । तर, उपाध्यक्ष बन्दा उहाँले बोक्नुभएको मूल्य, मान्यता र पृष्ठभूमिलाई उसले बुझेन भने त्यो उहाँप्रति अन्याय हुनेछ । र, अल्पज्ञानबाट निर्देशित निष्कर्ष सतही हुने सम्भावना पनि त्यति नै रहनेछ ।

असोज ०५९ मा निर्धारित निर्वाचन सार्न प्रधानमन्त्री शेरबहादुर देउवाले राजासमक्ष सिफारिश गरेपछि उनको बर्खास्तगीलगत्तै प्रधानमन्त्री पदको पहिलो ‘अफर’ बिष्टलाई थियो, राजाबाट ।

आफ्नो उमेर र शारीरिक अवस्था देखाई उहाँले नै लोकेन्द्रबहादुर चन्दको नाम सुझाउनुभएको थियो ।

नेपालको इतिहासमा राजनीतिमा आफैं इतिहासतिर पनि नर्फकने संस्कृति स्थापित भइसकेको अवस्थामा गिरिजाप्रसाद कोइराला, माधव नेपाललगायत सबैले देउवाको बर्खास्तगीबाट रिक्त पदको दाबेदारी प्रस्तुत गरेका थिए, शुरुमा ।

त्यसबीच मुलुकको परिस्थितिबारे राजाले चीनका राजदूत र भारतबाट आएका दुई विशिष्ट कूटनीतिज्ञहरु महाराजकृष्ण रसगोत्रा तथा केभी राजनलाई पनि विश्वासमा लिएका थिए । तर, भारतीय प्रशासनको एउटा शक्तिशाली पक्ष माओवादी नेतृत्वलाई विश्वासमा लिएर नेपालमा राजतन्त्र सिध्याउने अनि नेपाली कांग्रेसलाई माओवादीको सहायक राजनीतिक शक्तिमा अवमूल्यन गर्ने खेलमा लागिसकेको थियो, जुन सन् २००६ अप्रिल (वैशाख ०६३) आउँदासम्म सफल भयो ।

त्यो परिवर्तनसँगै नेपालमा ‘राष्ट्रियता’का पक्षधर शक्तिलाई ‘प्रतिगामी’ कित्तामा उभ्याउने कसरत पनि शुरु भयो । स्वाभाविक रुपमा बिष्टलाई त्यहाँ उभ्याउने प्रयास भयो ।

परिवर्तनपछि सत्तामा आएको शक्तिले आफ्ना गतिविधि र क्रियाकलापबाट आफूलाई ‘अग्रगामी’का रुपमा स्थापित गर्न सकेन । अरुलाई ‘प्रतिगामी’ भनेर मात्र आफूलाई ‘अग्रगामी’ देखाउन खोज्यो ।

विडम्बना, पञ्चायतमा राजाको मनोनित प्रधानमन्त्रीका रुपमा चीनसँग जुन हैसियतमा सम्बन्ध प्रगाढ गर्न बिष्ट सफल हुनुभयो, परिवर्तनपछिको सत्ताले त्यो हैसियत र परिपक्वता बनाउनै सकेन । चीनसँगको सम्बन्ध नेपालको राष्ट्रियता सम्वर्द्धनका लागि थियो, समर्पणको लेस मात्र थिएन त्यसमा भन्ने उदाहरण स्वयं बिष्ट हुनुहुन्थ्यो ।

युवराज घिमिरे

तीन वर्षअघि भारत र चीनले विवादित लिपुलेकलाई व्यापारिक माग बनाउने निर्णय गरेपछि चीनको आलोचनासहित कलम चलाउनु हुने पहिलो राजनेता कीर्तिनिधि विष्ट नै हुनुहुन्थ्यो । चीनले त्यसको समीक्षा र सुधार गर्ने आश्वासन दिएको थियो ।

पञ्चशीलका सिद्धान्तमा आधारित र द्वीपक्षीय सम्बन्धको सुदृढीकरण र अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र हैसियतको उपस्थितिमा बिष्टको महत्वपूर्ण योगदान रह्यो । पक्कै पनि त्यसमा राजा महेन्द्र र राजा वीरेन्द्रको मार्गदर्शन र विश्वास उहाँको ठूलो पूँजी थियो ।

तर, वैदेशिक नीति सञ्चालनको जिम्मा भएको व्यक्ति ‘बिकाउ प्रवृत्ति’को हुनुहुँदैन भन्ने मान्यताको उदाहरण हुनुहुन्थ्यो उहाँ ।

स्वतन्त्र र सन्तुलित छिमेकी परराष्ट्र नीति अपनाउने मुलुकका लागि कुनै मुलुकको सेनाको उपस्थितिले प्रतिकूल परिस्थिति जन्माउँछ । भारतीय सेनालाई उत्तरी चेकपोस्टबाट हटाउने निर्णय -२०२७) त्यही मान्यताबाट निर्देशित थियो ।

राजा महेन्द्र र बिष्टको पूर्ण समझदारीमा त्यो निर्णय कार्यान्वयन भएको थियो । र, त्यसबाट मुलुकभित्र प्रतिकूल परिस्थिति जन्मिएमा या जन्माइएमा उहाँ राजीनामा दिन तयार रहेको बिष्टले पटक-पटक खुलासा गर्नुभएको थियो ।

उहाँको लामो सार्वजनिक जीवनमा बिष्ट सधैं भारतसँग सम्मान र समझदारीको सम्बन्ध चाहनु हुन्थ्यो । र, आफूलाई ‘भारत विरोधी’का रुपमा भारतमा प्रचारित गरिएकोमा व्यक्तिगतरुपमा त्यसबेलाका प्रधानमन्त्री अटलविहारी बाजपेयीसमक्ष क्षोभ पनि व्यक्त गर्नुभएको थियो ।

नेपालको जल सम्पत्तिले भारत र नेपाललाई उज्यालो दिन सके पनि माथिल्लो बहाव क्षेत्र -अपर राइपेरियन) का रुपमा भारत जाने जलप्रति शुल्क निर्धारण हुनुपर्ने मान्यता उहाँको थियो ।

आफ्नो जीवनका कमजोरीबारे उहाँ सहजरुपमा प्रस्तुत हुने गर्नुहुन्थ्यो । ‘जुवा’बारे अनेक प्रसंगमा उहाँको नाम आउँछ । पहिलो हृदयाघातपछि पनि चुरोट खाइरहेका राजा महेन्द्रसँग चर्को रुपमा त्यसो नगर्न भनेपछि विस्तारै राजाले सोधे रे, ‘तिमी किन जुवा खेल्छौ ?’ अनि, राजाले नै जवाफ दिए, ‘प्यासन हो त्यो ।’

८९ वर्षको लामो जीवनको ७० वर्षजति सार्वजनिक जीवनमा बिताएका बिष्टलाई पूर्वप्रधानमन्त्रीका रुपमा मात्र चिनाउनु शायद अन्याय हुनेछ । किनकि, त्यो पदको गरिमामा सम्झौता भएको छ, अहिले ।

कीर्तिनिधि विष्ट एउटा सच्चा राष्ट्रभक्त र सार्वजनिक जीवनमा शुद्धताका हिमायती हुनुहुन्थ्यो । त्यसको उदाहरण प्रस्तुत गर्नुभयो कतिपल्ट पदत्याग गरेर । अनि आफू हारेर पनि मुलुकलाई जिताएर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment