Comments Add Comment

गोरखाको ‘इपिसेन्टर’मा थपिएका मतदाता निर्णायक

मतदाताको मुख्य एजेन्डा भूकम्पपछिको पुनर्निर्माण


२७ कात्तिक, बारपाक (गोरखा) । विनासकारी भूकम्पको इपिसेन्टर बारपाकका बासिन्दा एकपछि अर्को गर्दै आउने उम्मेदवारहरुसँग अढाइ वर्षसम्म पुनर्निर्माणले गति लिन नसकेकामा गुनासो गरिरहेका छन् ।

सडक, बिजुली, खानेपानीलगायत विकास पूर्वाधारभन्दा आफूहरुको मुख्य आवश्यकता पुनर्निर्माण भएको उनीहरुले बताउने गरेका छन् । सरकारले दिने भनेको तीन लाख रुपैयाँ एकमुष्ठ पाउनुपर्ने उनीहरुको माग छ ।

र, उम्मेदवारहरु पनि चुनाव जितेपछि त्यसका लागि पहल गर्ने आश्वासन बाँडिरहेका छन् । स्थानीय मतदाताले हरेक उम्मेदवारसँग पुनर्निर्माण अगाडि नबढ्दा यसपटकको जाडोयाम पनि छाप्रामै बिताउनुपर्ने दुरुह अवस्था औंल्याउने गरेका छन् ।

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ, बारपाक । यस क्षेत्रबाट कांग्रेसको समर्थनमा नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र वाम गठबन्धनबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ मैदानमा छन् । र, यहाँको मुख्य चुनावी एजेण्डा हो, भूकम्पपछिको पुनर्निर्माण ।

दुवै नेताले १/१ पटक बारपाकको फेरो मारिसकेका छन् । पुनर्निर्माणमा तीव्रता दिने उम्मेदवारलाई नै यसपटक जिताएर पठाउने स्थानीय बासिन्दाको भनाइ छ ।

‘घर बनाउन नपाउँदा भाडामा बस्नु परिरहेको छ,’ स्थानीय कान्छी गुरुङले भनिन्, ‘जसले घर बनाइदिन्छ उसैलाई भोट दिन्छु ।’

गुरुङको जीवीकोपार्जनको माध्यम होटेल व्यवसाय हो । भूकम्पयता मासिक चार हजार तिरेर अरुको घरमा बस्दै आएको छ, उनको परिवार । लालपूर्जा आफ्नो नाममा नहुँदा उनको लाभग्राही सूचीमा नाम समावेश हुन सकेन । ‘रातो कार्ड पाइएन, चना र चाउमिन बेचेर कहिले घर बनाउन सकिएला खै ?’ उनले अन्योल प्रकट गरिन् ।

पैसा नभएकै कारण घर बनाउन नसकेकी प्रितिका घलेको पनि समस्या उस्तै छ । भन्छिन्, ‘टहरामा छौं, घर बनाउन पैसा छैन, जसले घर बनाइदिन्छ उसैलाइ भोट हाल्ने हो ।’

किस्तामा नभई एकमुष्ट अनुदान रकम दिए घर बनाउन आँट आउने उनको भनाइ छ । ‘तीन लाख पनि किस्ता–किस्तामा दिएर के काम ?’ उनी प्रश्न गर्छिन् ।

लामो समयसम्म प्राविधिक नभेटेपछि आफैं घर बनाएका अधिकांश स्थानीयवासीले अनुदान रकम पाएका छैनन् । मापदण्डअनुसार घर निर्माण नभएको बताउँदै प्राविधिकहरुले दोस्रो किस्ताका लागि सिफारिस दिएनन् ।

भूकम्पबाट बारपाकका १४ सयभन्दा बढी घर भत्केका छन् । अधिकांश पीडित अस्थायी टहरामै जेनतेन गुजारा चलाइरहेका छन् ।

बारपाकमा को बलियो ?

सुलीकोट गाउँपालिकाको १ र २ नम्बर वडामा पर्छ, बारपाक । स्थानीय तह निर्वाचनमा कुल मतदाता २९ सय थिए ।

नयाँ नामावली संकलनसँगै करिब ३५ सय मतदाता पुगेका छन् । दुवै वडामा माओवादी केन्द्र विजयी भएको थियो । वडा नम्बर १ मा कांग्रेससँग नौ र २ मा दुई सय मत अन्तरले माओवादी उम्मेदवारले जितेका थिए ।

झिनो मतान्तरले माओवादी बलियो देखिए पनि थपिएका मतदाता निर्णायक हुने देखिएको छ । नयाँ मतदाताले जसका पक्षमा ब्यालेट बक्स भर्छन्, उसैका पक्षमा परिणाम आउने निश्चित छ ।

‘अहिले नै को बलियो भन्न सक्ने अवस्था छैन,’ स्थानीय जितबहादुर घले भन्छन् ।

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ, बारपाक । र, यहाँको मुख्य चुनावी एजेण्डा हो, भूकम्पपछिको पुनर्निर्माण

बारपाकमा बाबुराम कमजोर देखिँदैनन् । चनौटे भीरमा अल्झिएको सडक बारपाक हुँदै लाप्राकसम्मै पुर्‍याएको जस उनलाई दिने गरेका छन्, स्थानीय बासिन्दाले ।

नारायणकाजी आफ्नै क्षेत्रका नयाँ अनुहार भएकाले मतदाताको आशा उनीप्रति पनि कमजोर देखिँदैन । स्थानीय कांग्रेस कार्यकर्ता भने क्षेत्र नम्बर २ मा पछाडि परेको कांग्रेसलाई बारपाकबाटै ‘कभर’ गराउने योजना रहेको दाबी गर्छन् ।

स्थानीय तह निर्वाचनमा बारपाकको समीकरण फरक थियो । कांग्रेसको पराजयका पछाडि नयाँशक्ति कारक थियो । वडा नम्बर १ मा एमालेका वडाध्यक्ष उम्मेदवार मात्र थिए, सदस्यमा कोही उठेको थिएन । तर, वृद्धवृद्धाले अध्यक्ष र सदस्यहरु सबैमा सूर्यमा भोट हालिदिए ।

त्यसअर्थमा एमालेको लोकप्रियता पनि कमजोर देखिँदैन । नयाँशक्तिबाट गाउँपालिका अध्यक्ष उठेका जितबहादुर घले माओवादी प्रवेश गरेका छन् ।

माओवादीका रोशन विकलाई भोट हालेका करिब ३० घर दलित कांग्रेसमा प्रवेश गरेका छन् ।

वडा नम्बर २ मा माओवादीका डम्बरसिंह घलेलाई भोट दिने अधिकांश कांग्रेस समर्थक थिए । तीमध्ये अधिकांशको भोट यसपटक कांग्रेसलाई आउने आकलन स्थानीय नेता/कार्यकर्ताको देखिन्छ ।

उक्त सडक निर्माण क्रममा ३५ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ, स्थानीय माओवादी नेताहरुमाथि । त्यसमा मुछिएको आरोप लागेका अमर तमु प्रदेशसभातर्फका प्रत्यक्ष उम्मेदवार छन् भने जितबहादुर घले पनि नयाँशक्ति छाडेर माओवादी प्रवेश गरेका छन् । स्थानीय बासिन्दामाझ दुवैको छवि राम्रो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment