Comments Add Comment

‘बाबुसाहेबलाई हारको हृयाट्रिक चखाइन्छ’

पशुपतिशमसेर हेभीवेट होइनन्

२७ कात्तिक, हेलम्बु (सिन्धुपाल्चोक) । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर जबराका प्रतिस्पर्धी शेरबहादुर तामाङलाई खोज्दै अनलाइनखबरकर्मी उत्तरी सिन्धुपाल्चोक पुग्दा उनी हेलम्बु गाउँपालिकाको शेराबेंसीमा भेटिए ।

राणासँग चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका एमालेका युवा नेता तामाङले राणा आफूसँग तेस्रो पटक हारको नजिक रहेको दाबी गरे ।

तामाङले भने- ०५६ सालमा राणा र म चुनावी मैदानमा भेट भए पनि त्योबेला एमाले फुटेका बेला म मालेबाट परिचयका लागि मात्रै उम्मेदवार बनेको थिएँ । दोस्रोपटक ०६४ मा मैले ९८ भोटले हार्दा राणा तेस्रो स्थानमा थिए, ०७० मा त मैले उनलाई हराइहालेँ ।

तामाङले थपे- ‘यसपटक त धेरै ठूलो मार्जिनले हराएर ‘बाबुसाहेब’ लाई सिन्धुपाल्चोकबाट बिदा गर्छौं ।’

राणासँग अन्तिमपटक भोट दिनुस् भन्ने भावनात्मक एजेण्डा र पैसा बाहेक अरु कुनै चुनावी कार्यक्रम नरहेको तामाङको आरोप छ ।

प्रस्तुत छ- एमाले केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक-२ का प्रतिनिधिसभा सदस्यका प्रत्याशी तामाङसँग गरिएको कुराकानी-

पशुपतिसमशेर जबरासँग चौथोपटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो छ यसपालिको आँकलन ?

म अहिलेसम्म पशुपतिसमशेर राणासँग पराजित भएको छैन । ०५६ सालमा मालेबाट उम्मेदवारका रुपमा परिचयका लागि मात्रै उठेको थिएँ । ०६४ मा ९८ मतले म माओवादीसँग पराजित भएँ, राणा तेस्रो भए् । ०७० मा मैले राणालाई हराइहालेँ ।

यसपटक नि ?

यसपटक त वामपन्थी गठबन्धनको साझा उम्मेदवार बनिरहँदा मैले प्रतिस्पर्धी नै देखिरहेको छैन । खुला राजमार्गमा एक्लै दौडिएजस्तो भएको छ, यहाँ अर्को प्रतिस्पर्धी नै देखिएको छैन ।

यद्यपि यो चुनावमा राष्ट्रिय मुद्दा प्राथमिकता हुनुपर्ने तर स्थानीय विकास निर्माणको मुद्दालाई विपक्षीले बढी उचालेपछि हामीले त्यसमा पनि ध्यान दिनुपरेको छ ।

तपाईलाई नै जिताउनुपर्ने कारण चाहिँ के ?

हामीलाई जनताले माया गरेका छन् र हामीबाट धेरै अपेक्षा पनि गरेका छन् । कम्युनिस्टहरु मिलेका छन्, अहिलेसम्म नेपालमा कम्युनिस्टको बहुमत आएन । यसपालि बहुमत ल्याएर देश विकास गर्छन् भन्ने अपेक्षा जनतामा छ, त्यसैले हामीलाई जनताले जिताउनेछन् ।

पशुपतिसमशेर जबरासँग विगतको प्रतिस्पर्धा र अहिलेको प्रतिस्पर्धामा के फरक पाउनुभएको छ ?

प्रतिस्पर्धाकै हिसाबले मलाई ०७० मा अलि बढी प्रतिस्पर्धापूर्ण लागेको थियो । तर, यसपटकको चुनाव प्रतिस्पर्धापूर्ण छैन । मलाई त यस्तो लाग्दैछ, चुनावको बीचतिर गएपछि राणाले निर्वाचन नै छाड्छन् कि जस्तो सोच्दैछु ।

पशुपतिसमशेर एउटा राष्ट्रिय स्तरको पार्टीको अध्यक्ष हुन् । कांग्रेसले पनि उनलाई जिताउन प्रतिष्ठाकै विषय बनाएको देखिन्छ, तपाई कसरी सहज जितको आँकलन गर्नुहुन्छ ?

पहिले त एकीकृत राप्रपाको अध्यक्ष हुनुहुन्थ्यो, अहिले त फुटेको एउटा चोइटोको अध्यक्ष हो । एकीकृत पार्टीको अध्यक्ष हुँदा उहाँ दुईपटक मसँग पराजित भइसक्नुभएको छ । अब झनै एउटा चोइटोको अध्यक्ष भएर आउँदा मैले कुनै चुनौति महसुस गरेको छैन । एउटा सानो पार्टी त जसले पनि गठन गर्न सक्छ, तर हामी त साझा बामपन्थी हौं ।

तर, राणाले तपाईहरुले जितेपछि विकास भएन भन्ने कुरालाई ठूलो एजेण्डा बनाएको पाइयो नि ?

योचाहिँ बेकारको हल्ला हो । ०५१ सालमा एमालेले सरकार बनाएपछि बल्ल गाउँमा विकासको शुरुवात भएको हो । । सिन्धुपाल्चोकका सबै बस्तीमा हामीले मोटरबाटो पुराएका छौं । यहाँको विकास हामीले गरेका हौं । पशुपतिशमसेरले आर्थिक परिचालन गरेर जित्ने सोचेको हो भने त्यो असम्भव छ ।

तर, पशुपतिका पछाडि मन्त्री मोहन बस्नेत पनि त छन्, जसले कम्युनिस्टहरुलाई हृयाकुलाले मिचेर जित्ने च्यालेन्ज गरिसकेकका छन्…

यस्ता त भन्ने कुरा हुन् । मन्त्री भएर जे पायो त्यही बोलेर हिँडेका छन् । त्यसैले हामी मोहन बस्नेत र पशुपतिसमशेर प्रवृत्ति अन्त्य गर्न चाहान्छौं । धाकधम्की, पैसा र गुण्डागर्दीको बलमा चुनाव जित्ने उहाँहरुको जमाना अब गयो । हाम्रो संविधानले वंश परम्पराले शासन गर्ने पद्दति अन्त्य गरेको छ । बाबुसाहेब भनेकै सामन्ती शब्द हो । बाबु साहेबको शासन अब जनताले स्वीकार गर्दैनन् । बाबु साहेब र काजी साहेब -मोहन बस्नेत) लाई सिन्धुबासीले अब हराएर पठाउनेछन, यो निर्वाचनबाट ।

तपाईहरु स्थानीय चुनावको मत गनेर बस्नुभएको छ, तर पशुपति आएपछि अर्कै हुन्छ रे नि ?

स्थानीय तहको मतको हिसाबले हेर्दा पनि र अहिले जनताले हामीलाई गरेको समर्थनको हिसाबले पनि हामी धेरै ठूलो मतान्तरले जित्छौं । कांग्रेस र राप्रपालाई समर्थन गर्नेहरुले अहिले हामीलाई समर्थन गरेका छन् । २० हजारको मतान्तरमा हामी जित्छौं भन्ने मलाई लाग्छ । हामी त्यो मतान्तर कामय राख्न प्रयास गरिरहेका छौं ।

तर, पशुपति समशेरजस्तो हेभिवेट उम्मेदवारको प्रतिस्पर्धा त हो नि हैन र ?

भन्नेले बाहिर हेभीवेट भन्छन् । पैसामा उनी हेभीवेट नै होलान् । राजनीतिक हिसाबले हामीले पशुपति समशेरलाई हेभीवेट ठानेका छैनौं । उनी हेभीवेट र लाइटवेट होइन, फिदरवेट भनेको छु मैले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment