Comments Add Comment

‘भ्रष्टाचारीका चेलाले ह्याकुलाको धम्की दिने ?’

'मोहन बस्नेत अराजनीतिक एवं सामन्ती अहंकारवादी हुन्'

२८ कात्तिक, बाह्रबिसे (सिन्धुपाल्चोक) । प्रतिस्पर्धी र सुरक्षा संवेदनशीलताको हिसाबले पहिलो चरणको चुनावको इपिसेन्टर बनेको सिन्धुपाल्चोकका विभिन्न गाउँको भ्रमणपछि अनलाइनखबरको टिम कोदारी पुग्दा माओवादी नेता अग्नि सापकोटा विकट थामी गाउँमा भेटिए ।

प्रदेशसभामा उम्मेदवार बनेका एमाले नेता अरुण नेपालसँगै तातोपानी क्षेत्रमा सोमवार विहान घरदैलो गरिरहेका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार सापकोटा निकै हतारमा देखिन्थे । किनकि उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार तथा सञ्चारमन्त्री मोहन बस्नेतको आँगनमै वामपन्थी गठबन्धनको युवा फोर्स घोषणा कार्यक्रम हुँदै थियो ।

घरघरमा पुगेर भोट मागेपछि माओवादी नेता सापकोटा बाह्रबिसेतिर लागे । सापकोटाको गाउँ कुबिण्डेमा अघिल्लो दिनमात्रै मोहन बस्नेतसँग संवाद गरेको अनलाइनखबर टिमले मन्त्री बस्नेतकै घरअगाडि बसेर सापकोटासँग चुनावी संवाद गर्‍यो ।

आफ्नो घर अगाडि पुगेर मोहन बस्नेतले भिड्नका लागि उक्साएकोमा निकै आक्रोशित देखिएका सापकोटाले भने- ‘मोहन बस्नेत राजनीतिक मान्छे नै होइनन्, उनी सामन्ती अहंकार र गुण्डागर्दीको भाषामात्र बोल्दैछन्, चुनावमा मलाई राजनीतिक व्यक्तिसँग प्रतिस्पर्धा गर्न नपाउँदा खल्लो लागेको छ ।

प्रस्तुत छ, सापकोटासँग अनलाइनखबरले गरेको चुनावी संवाद

यहाँको चुनावी प्रतिस्पर्धा त निकै चुनौतिपूर्ण होलाजस्तो देखियो होइन ?

खास गरी जनमतको हिसाबले यो चुनावी प्रतिस्पर्धामा मेरो प्रतिद्धन्द्धी छैन भन्ने मलाई लाग्छ । बरु हाम्रो चुनौति भनेको अहिले कार्यकर्ता परिचालन, त्यसको संयोजन र त्यसको समग्र व्यवस्थापन गर्ने सामान्य चुनौतिहरु छन् । जहाँसम्म जनताको भोटको कुरा छ, त्यसमा समस्या छैन ।

कार्यकर्ता व्यवस्थापनको चुनौति भन्नाले आन्तरिक असन्तुष्टिको कुरा हो ?

होइन होइन, त्यो विल्कुल होइन । हामीसँग कार्यकर्ताको विशाल पंक्ति छ । राम्रोसँग समन्वय गरेर व्यवस्थापन गर्ने चुनौति छ भनेको हो मैले । कार्यकर्तामा व्यापक उत्साह छ । हामीले व्यवस्थित परिचालन गरेर अपार मतले बिजय हासिल गर्दैर्छौं ।

तपाईका प्रतिस्पर्धी वहालवाला सञ्चारमन्त्री मोहन बस्नेत राजनीतिको खेलाडीमात्र होइन, साँच्चैको खेलाडी (मार्शल आर्ट) पनि हुँ भन्दै छन्, त्यस्ता खेलाडीसँग भिड्न त तपाईले पनि तयारी गर्नुभएकै होला नि ?

मैले त्यस्तो महशुस गरेको छैन । यो राजनीतिक खेल हो, अरु खेल जानेर यहाँ काम लाग्दैन । जनता र संगठन भएपछि अरु केही काम लाग्दैन । हाम्रो पक्षमा लहर पनि आइरहेको छ, तपाईहरुले देखिरहनुभएको छ, दुईटा सर्वाधिक शक्तिशाली कम्युनिस्ट पार्टीहरु मिलेको अवस्था छ । हामीसँग भोट दोब्बर छ ,जति खेल खेले पनि दाल गल्नेवाला छैन ।

तपाईहरुले गत स्थानीय चुनावमा दुई पार्टीले ल्याएको भोट गनिरहनुभएको छ, तर मोहन बस्नेतले एमालेको भोट लिएर जित्छु भन्दै छन् नि ? एमालेको सबै भोट तपाईले नपाउनासाथ खतरा भएन र ?

यस्ता हावादारी कुरा त जे गरे पनि हुने भो । यसको फैसला त मंसिर १० गते हुन्छ । एउटा कुरा चाहिँ के हो भने सुरुमा कांग्रेसीहरुले माओवादी र एमालेबीच खेल्न खोजेको साँचो हो । तर, यसबीचमा म सयौं गाउँटोल घुमिसकेँ । आज विहानै पनि तातोपानीसम्म पुगिसकेपछि मलाई के लाग्यो भने हाम्रा कार्यकर्ता र समर्थकमा अपार उत्साह छ । यो चुनावमा भोट अग्नि सापकोटालाई वा माओवादीलाई दिने होइन, वामपन्थी उम्मेदवारलाई दिने हो भन्ने कुरामा एमालेका तमाम कार्यकर्ता र समर्थक एक ढिक्का छन् ।

हामी नेताहरुले माथिबाट गठबन्धनको घोषणा गर्‍यौं, जनता र कार्यकर्ताले त पहिले नै चाहेका रहेछन् । एमाले र माओवादी कार्यकर्ताबीच घनिष्ठता गाउँगाउँमा देखेपछि हामी थप उत्साहित छौं ।

तर, तपाईमाथि लाग्ने गरेको आरोपचाहिँ राष्ट्रिय नेता भए पनि चुनाव जितेर विकास गर्नुभएन भन्ने रहेछ, तपाईकै आँगनमा उभिएर तपाईका प्रतिस्पर्धी मोहन बस्नेतले अग्नि सापकोटा सञ्चारमन्त्री भए पनि तपाईकै गाउँमा टेलिफोन टावर नभएको मुद्दा उठाए, तपाईले विकासको सन्दर्भमा प्रतिरक्षात्मक हुनुपरेको हो ?

खोई टेलिफोन ? म मोहनबहादुर बस्नेतलाई सोध्छु । वहालवाला नेपाल सरकारको सञ्चारमन्त्रीलाई यो मेरो प्रश्न हो । म सञ्चारमन्त्री हुँदा एक सेकेण्ड पनि टेलिफोन रोकिएको थिएन ।

जहाँसम्म विकास गरेन भन्ने कुरा छ, साबिक एक नम्बर र २ नम्बरको विकास दाँजेर हेरौं । मैले जितेको २ नम्बर क्षेत्रको विकास र बस्नेतले जितेको १ नम्बर क्षेत्रको विकासमा २ नम्बर पछि परेको रहेछ भने म जे पनि भोग्न तयार छु ।

अहिले नै साँगाचोकलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर २९ करोड बजेट बिनियोजन गरिएको छ । बलेफीदेखि कात्तिकेसम्म पीच स्तरको सडकको लागि बजेट हालिएको छ । कात्तिकेबाट तेम्बाथानसम्म रणनीतिक बाटोका रुपमा नियमित बजेटको व्यवस्था गरिएको छ । अरु धेरै काम भएका छन् ।

हो, मैले गर्न नसकेको के हो भने, मोहन बस्नेतको घर वरिपरि जानुभयो भने एक हातभन्दा माथिको ढलान गरेको छ, सरकारी पैसाले आफ्नै घरमा स्विमिङ पुल बनाएर बजेट सकिएको छ । जनताको घरमा जाने पानी थुनेर मोहन बस्नेतको स्वीमिङ पुलमा लगिएको छ । यस्तो सामन्ती रवाफ देखाउने काम चाहिँ मैले गर्न नसकेकै हो । मैले अरबौं विकास बजेट दुरुपयोग गर्न नसकेकै हो । तर, विकासको सन्दर्भमा साबिकको २ नम्बर क्षेत्रका जनतालाई सोध्नु छर्लङ्ग छ ।

यहाँ वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैतिरको चुनावी अभियान हेर्दा निकै खर्चिलो देखियो, चुनाव शान्तिपूर्ण हुन सक्दैन कि भन्ने आशंका पनि देखियो, तपाईको तर्फबाट शान्तिपूर्ण चुनाव गराउन कस्तो भूमिका हुन्छ ?

चुनावलाई शान्तिपूर्ण, निष्पक्ष वातावरणमा सम्पन्न गराउन चाहान्छौं हामी । किनभने हामीसँग जनमत छ । जहाँसम्म अर्को पक्षको कुरा हो, म लोकतान्त्रिक गठबन्धन भन्न रुचाउदिनँ, त्यो त उनीहरुको धरापमा परिसकेको छ । राजपा छैन, संघीय समाजवादी छैन । एउटा डेट एक्सपायर भइसकेको राप्रपा थियो, त्यही पनि राजेन्द्र लिङ्देन अलिकति जनमत भएको मान्छे वामपन्थी गठन्धनमा आइसकेका छन् । त्यसैले यहाँ मूलतः कांग्रेसको गुण्डागर्दी शैलीसँग प्रतिस्पर्धा गर्नुपरेको छ ।

एउटा चुनौति चाहिँ छ, चुनाव असाध्यै खर्चिलो र भड्किलो भएको छ । चरम विकृति र विसंगति देखिएको छ । तर, हामीसँग जनता छन् । हामीले खर्च नगरी जित्छौं । उनीहरुले राजनीतिक व्यक्तिलाई पाखा लगाएर ब्यापारीलाई टिकट दिएका छन्, खर्चिलो चुनाव उनीहरुले गरिरहेका छन् ।

तर, मोहन बस्नेतको दावी छ कि,कम्युनिस्टहरु राजनीतिका मात्र कुरा गर्छन्, मैले कांग्रेसमा लाग्नेहरुलाई इलम दिएको छु,उनीहरु व्यापार पनि गर्छन्, राजनीति पनि गर्छन्, कम्युनिष्टहरुले डाहा गरेर मात्रै त भएन नि ?

मोहन बस्नेत कति घोर अराजनीतिक छन् भन्ने कुरा उनका यिनै अभिव्यक्तिबाट थाहा हुन्छ । एउटा व्यापारीले टिकट पाएको छ, कम्पनीको रुपमा टिकट टेण्डरमा राखेर व्यापारीलाई दिएको छ । राजनीति भनेको भाँडाकुटी खेल हो ?

हामीसँग प्रदेशसभामा अरुण नेपाल र सरेश नेपाल जस्ता इमान्दार राजनीतिक नेताहरु उम्मेदवार हुनुहुन्छ, कांग्रेसले बद्नाम व्यापारीलाई प्रतिस्पर्धामा उतारेको छ ।

म त भन्छु राजनीतिमा मोहन बस्नेतले मसँग बहस गर्नै सक्दैनन् । राजनीतिक प्रतिस्पर्धा उनले गर्न सक्दैनन् । राजनीतिक दर्शन, सिद्धान्त र देशलाई समृद्ध बनाउने एजेण्डामा उनी बहस गर्न सक्दैनन् । ‘कम्युनिस्टहरु’ भनेर पाँडे गाली गरेर हुँदैन ।

यसपटक सिन्धुपाल्चोकमा हृयाकुलाको कुरा निकै चर्चित छ, ह्याकुलाले मिच्नेसँगको प्रतिस्पर्धाको तयारी तपाईहरुले चाहिँ कसरी गर्नुभएको छ ?

हामी हृयाकुलाको कुरा पनि गर्दैनौं, तिघ्राको कुरा पनि गर्दैनौं, बल प्रयोगको कुरा पनि गर्दैनौं । मैले सिन्धुपाल्चोकबाट जनताको ताकतमा दुईपटक चुनाव जितेको छु । अहिले पनि जित्छु ।

जहाँसम्म ह्याकुलाको धम्की छ, उनको एउटा ह्याकुलो होला, हामीसँग हजारौं ह्याकुला छन् । हामीसँग जनयुद्धका सफल फौजी कमाण्ड गरेका कमाण्डर र कमिसारहरु छन् । अर्कोतिर शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गरेका एमालेका कमरेडहरु छन् ।

जतिबेला हामी राजतन्त्र ढाल्न सर्लाहीमा हेलिकोप्टर खसाल्दैथ्यौं, एमालेका नेताहरु काठमाडौंमा १२ किलोमिटर लामो जुलुसको नेतृत्व गर्दै हुनुहु्न्थ्यो । यस्तो फोर्ससँग ह्याकुलाको के प्रतिस्पर्धा हुन्छ ?

मोहन बस्नेतजी मसँग नजर जुधाएर बहस गर्न सक्नुहुन्छ ? आउनुस् बहस गरौं । तपाई जनआन्दोलनमा कहाँ हुनुहुन्थ्यो ? भ्रष्ट खुमबहादुरको चेलाले हामीलाई ह्याकुलाको धम्की दिने कुरा सह्य हुँदैन ।

युद्धकालमा सिन्धुपाल्चोकमा एमालेका कार्यकर्ता र समर्थकले दुःख पाए, कतिपयको ज्यान गयो, तिनका परिवार र एमाले कार्यकर्ताको मन दुःखेको छ, तपाईले उनीहरुलाई कसरी सम्बोधन गर्नुभएको छ ?

तपाईले धेरै महत्वपूर्ण प्रश्न गर्नुभयो । म गाउँमा पस्ने बेलादेखि नै यो विषयमा अत्यन्तै संवेदनशील भएको छु । म १० वर्षे जनयुद्धको एउटा कमाण्डर हुनुको नाताले, जनयुद्ध शुरु गर्नेबेलाको ३१ सदस्यीय केन्द्रीय कमिटीको सदस्य हुनुको नाताले सिन्धुपाल्चोकमा भएका सबै घटनाको जिम्मेवारी लिनुपर्छ ।

जनयुद्धका क्रममा जनतालाई, एमालेका कार्यकर्तालाई कतिपय ठाउँमा नराम्रो ठेस लाग्ने काम भएको छ भने कतिपय ठाउँमा दुर्घटनासमेत भएको छ । यी घटनाका सन्दर्भमा मैले सिधा सफा शब्दमा गम्भीर समीक्षा सहित उहाँहरु समक्ष आत्मालोचना गरेको छु ।

कुनै झुक्याउने वा छलकपटको कुरा होइन, मैले अन्तरहृदयदेखि आत्मालोचना गरेको छु । हिजोका गल्ती कमजोरीको जिम्मा लिन्छु, भोलि यसको समीक्षा गरौंला भनेको छु । अहिले उहाँहरु सबैलाई यो कुरा चित्त बुझेको छ र चुनावी अभियानमा लाग्नुभएको छ ।

तर, पनि ती मान्छेको मत तपाईले पाउनुहोला त ?

होला, पहिले अर्कै पार्टी थियो, अग्नि सापकोटाभन्दा एउटा आग्रह थियो होला । अहिले एमालेप्रति माओवादी कार्यकर्ताको र माओवादीप्रति एमालेको बिस्तारै प्रेमभाव पैदा भएको छ ।

प्रचण्ड र ओली अभियानमा सँगै हुनुहुन्छ । अब सोचेको भन्दा चाँडो कार्यकर्ता पंक्तिमा भावनात्मक सम्बन्ध विकास भएको छ । पार्टी एकता गर्न ढीला गर्नुहुँदैन भन्ने नेताहरुले महशुस गर्नुभएको छ । आफ्ना कमी कमजोरी सुधार्ने कम्युनिस्ट चरित्र हो, मैले आत्मालोचनाको विधि अपनाइसकेपछि सहयोद्धा एमालेका कमरेडहरुले पनि त्यही विधि अपनाउनुभएको छ । अहिले त्यो मेटिएर गएको छ ।

चुनावपछि माओवादी अर्कैतिर लाग्ने हो कि भन्ने आशंका एमाले पंक्तिमा अझै पनि देखियो नि ?

यो सामान्य कुरा होइन, धेरै युगान्तकारी कदम छ । ओली र प्रचण्डको एकता सामान्य कुरा होइन । पार्टी एकताको घोषणामा पुर्‍याउन सक्नुभएन भने ठूलो दुर्घटना हुन्छ । तर, हामीबीच एकता भएपछि यसले उलटफेर गर्छ । महान शक्तिसाली कम्युनिस्ट पार्टी बन्छ, निश्चिन्त हुनुस, म माओवादी केन्द्रको नेताको नाताले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन मेरो भूमिका हुन्छ । प्रचण्ड र ओलीसँग मेरो धेरै राम्रो सम्बन्ध छ । मेरो अध्यक्ष प्रचण्डसँग हुने नै भयो ।

कमरेड केपी ओलीसँग ९ महिना मैले उहाँको क्याबिनेटमा रहेर काम गरेँ । राष्ट्रियताका सवालमा सबैभन्दा ट्युनिङ मिल्ने उहाँसँग मेरै हो । नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने सन्दर्भमा उहाँको र मेरावीच एकरुपता थियो । उहाँ एक महान देशभक्त नेताको रुपमा मैले पाएको छु, त्यसैले यी पार्टी एक हुँदैनन् कि भन्ने कसैले शंका नगरे हुन्छ ।

कहिलेसम्म पार्टी एकीकरण होला त ?

पार्टी मिल्न धेरै वर्ष वर्ष लाग्दैन । यो दुवै चरणको चुनावपछि हामी पार्टी एकताको विधिवत प्रक्रिया अघि बढाउँछौं । मलाई लाग्छ, एक वर्षभित्रमा महाधिवेशन गर्छौं हामी । यसबीचमा जनयुद्धको सन्दर्भमा बहस गर्नुपर्ने हुन्छ । जनताको बहुदलीय जनवादको वहस हुन्छ । त्यसैले एक वर्षजति लाग्छ होला ।

तस्वीरः कमल प्रसार्इं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment