Comments Add Comment

गोरखा जेलब्रेकर कमला नहर्कीको अनुभवः सुरुङ खन्नभन्दा चुनाव लड्न गाह्रो

मतदाताको विश्वास जितेर निर्वाचित हुने रहर

२९ कात्तिक, पालुङटार । माओवादीका सेनालाई शान्तिप्रक्रिया शुरु भएपछि क्यान्टोनमेन्टमा राखिँदा ब्रिगेड सह-कमान्डर थिइन्, कमला नहर्की । सेना समायोजनका क्रममा माओवादी सेनाकी एक मात्र महिला ब्रिगेड कमान्डर थिइन्, उनी । स्वेच्छिक अवकाश रोजेर घर फर्केकी नहर्कीलाई हालैको एक अपरान्ह पालुङटारमा चुनावी कार्यक्रममा भेटियो ।

उनी गोरखा-२ ‘क’बाट माओवादीबाट प्रत्यक्षतर्फको उम्मेदवार छिन् । र, उनका प्रतिद्वन्द्वी छन्, सशस्त्र द्वन्द्वकालका सहकर्मी हरिशरण आचार्य । आचार्य भने कांग्रेसको समर्थनमा नयाँशक्ति पार्टीका उम्मेदवार हुन् ।

नहर्की माओवादी सेनाको सैन्य कमान्डरका रुपमा मात्र चर्चामा थिइनन्, सुरक्षा फौजले पक्राउ गरेर गोरखा कारागारमा रहँदा सुरुङ खनेर बेपत्ता भएका ६ महिलाको टोलीकी अगुवा पनि थिइन् ।

२०५६ सालमा एक महिना केन्द्रीय कारागारमा बसेर छुटेकी उनी पुनः पक्राउ परिन् । र, गोरखा कारागारमा उनीहरुलाई राखिएको थियो ।

सुरुङ खनेर भागेकामध्ये दुई जनाको मृत्यु भइसक्यो भने दुई जना राजनीतिबाहिर छन् ।

कारागार चलान भएपछि उनीहरुले ‘जेल ब्रेक’ गरेर इतिहास रच्ने योजना बनाएका थिए । माओ जयन्तीको अवसर पारेर ११ पुस ०५७ देखि सुरुङ खन्न थाले । १७ चैत ०५७ मा सुरुङबाट बाहिर निस्किँदासम्म सुरक्षाकर्मीले सुइँको पनि पाएनन् ।

‘त्यतिबेला जीवन र मृत्युको कुनै परवाह थिएन, मुक्ति या मृत्युलाई आदर्श वाक्य बनाएका थियौं,’ नहर्की भन्छिन्, ‘जेलभित्रै पनि हामी सुरक्षित थिएनौं । जतिबेला पनि मारिन सक्थ्यौं । मृत्यु जितेर हिँडेका मानिसलाई सुरुङ खनेर बाहिरिनु ठूलो कुरा लागेन, त्यतिबेला ।’

‘चुनाव लड्न गाह्रो’

उम्मेदवारका रुपमा गाउँघर डुल्दै गर्दा उनलाई संसदीय निर्वाचनको अभ्यास कठिन लागिरहेको छ । ‘संसदीय राजनीतिक प्रतिस्पर्धा जटिल रहेछ,’ उनी भन्छिन्, ‘जेलभित्र सुरक्षाकर्मीले देख्छन् कि भन्ने मात्र त्रास रहन्थ्यो । त्यसबाट जोगिए पुग्थ्यो । चुनावी मैदानमा चुनौती धेरै छन् । धेरै भ्रम चिर्नुपर्दो रहेछ ।’

उनको बुझाइमा जेल ब्रेक गर्दा एउटै योजना र चुनौती थियो, चुनावमा धेरै रणनीति र ट्याक्टिस अपनाउनु पर्दो रहेछ ।

भन्छिन्, ‘विपक्ष आफ्नो रणनीतिमा अगाडि बढेको हुन्छ । त्यसलाई क्रस गर्न आफ्नो योजना तयार पार्नु पर्दो रहेछ ।’

उनका लागि चुनाव पहिलो अनुभव हो । तथापि, ज्यानै जोखिममा राखेर राज्यविरुद्ध युद्ध लडेकी उनलाई हारजितका हिसाबले मात्र चुनावी प्रतिस्पर्धा जटिल लागेको छ ।

पूर्वसहकर्मी आचार्य उनलाई खासै ठूला प्रतिस्पर्धी लागेका छैनन् रे । भन्छिन्, ‘सहजै चुनाव जितिन्छजस्तो लागेको छ ।’

चुनाव जित्नकै लागि झुटो आश्वासन बाँडेकी छैनन् रे, उनले । भन्छिन्, ‘प्रदेशसभा सदस्यका रुपमा मेरो क्षेत्राधिकार जति हुन्छ, त्यही घेरामा रहेर मतदाताका अपेक्षा पूरा गर्ने प्रयत्न गर्नेछु ।’

स्थानीय समस्याहरुको पहिचान गरेर जनताको सुझाव र सहयोगअनुसार काम गर्ने प्रतिबद्धता जनाउने गरेकी छन् । जितेको भोलिपल्टै सडक कालोपत्रे गरिदिने आश्वासन बाँडेकी छैनन् । भन्छिन्, ‘उधारो कुराकानी मैले कहीं गरेकी छैन । मात्र अवसर दिनुस्, आफ्नो क्षमताको प्रदर्शन गर्छु भनेकी छु ।’

आफू चुनावमा होमिएको क्षेत्रमा अपार सम्भावना देखेकी छन्, नहर्कीले । खासगरी, कृषिमा आधुनिकीकरण गरेर अगाडि बढ्दा मतदातालाई बाँडिएका सपना विपनामा परिणत गर्न सकिने उनको ठम्याइ छ ।

धान, मकै, आलु, तरकारी, फलफूल जे लगाए पनि प्रशस्त उब्जनी हुने क्षेत्र भएकाले त्यसलाई व्यवस्थित गर्ने योजनामा छिन् उनी । धान, आलु, मकै, तरकारी र फलफूलको पकेट क्षेत्र बनाएर घरेलु खपतमा आत्मनिर्भरता र देशभर निर्यात गर्ने उनको सोच छ ।

‘मेरो क्षेत्रलाई आत्मनिर्भर बनाउन सकिने प्रचुर सम्भावना छ, मेरो जोड त्यही हुनेछ,’ नहर्की भन्छिन्, ‘यही क्षेत्रका बौद्धिक व्यक्तित्व र विज्ञहरुको सहयोग लिएर कृषिमा आधुनिकीकरण सम्भव छ ।’

सरकारले प्रदेश ४ को औद्योगिक क्षेत्र घोषणा गरेको च्यांलिटार नहर्कीकै चुनाव क्षेत्रमा पर्छ । ‘यहाँको जनशक्ति र सम्भावनालाई केन्द्रमा राखेर अगाडि बढ्दा मेरो सपना विपनामा परिणत हुन्छ,’ उनी भन्छिन् ।

उनी हालको गोरखा नगरपालिका-१४ (साविक देउराली गाविस) मा जन्मे/हुर्केकी हुन् । १६ वर्षकै उमेरमा उनी माओवादीमा लागेकी थिइन् । लामो समय राजनीतिक कार्यकर्ता बनिन् । ०६० सालदेखि जनमुक्ति सेनाको राजनीतिक कमिसार बनिन् ।

वासु स्मृति ब्रिगेडको १० नम्बर बटालियनअन्तर्गत् कम्पनी कमिसार बनिन्, शुरुमा । सैन्य जीवनको शुरुवात त्यहींबाट भयो । त्यसपछि बटालियन कमिसार हुँदै बिग्रेड सहायक कमान्डर र पछि ब्रिगेड कमान्डर बनिन् ।

सेना समायोजनका क्रममा उनलाई सैन्य जागिर मन परेन । र, स्वेच्छिक अवकाश रोजेर क्यान्टोनमेन्टबाट बाहिरिइन् । ‘जनताको सेवा गर्ने इच्छा जनताको बीचमै गएर मात्र सम्भव हुन्छ भन्ने लाग्यो,’ उनी भन्छिन् ।

सेनामा गएकी भए उनी अहिले मेजर (सेनानी) बन्ने थिइन् ।

क्यान्टोनमेन्टमै छँदा रुकुमका संगम रोकासँग जनवादी विवाह गरेकी हुन् । उनीहरुका छोरा पाँच वर्षका भए । ‘चुनाव जिते प्रादेशिक संरचनामा नयाँ सिर्जना गर्न लागिपर्नेछु,’ नहर्कीले कुराकानीको बिट मारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment