Comments Add Comment

सकरपुरावासीः जसले बाढी पीडितको दुःख बुझ्छ, उसलाई भोट

२९ कात्तिक, सप्तरी । ‘त्यो दृश्य नसम्झाउनुस्’ भन्दै तिलाठी-कोइलाडी गाउँपालिका वडा नम्बर ३ सकरपुराकी रानी देवी मण्डल एकाएक भक्कानिइन् । उनका आँखाबाट बरर आँसु झरे ।

केहीबेरपछि उनले रुन्चे स्वरमा बाढीको पीडा सुनाइन् । २९ साउन २०७४ को बिहान १०ः३० बजेतिर खाँडो खोलाको बाँध भत्केर आएको बाढी एक्कासी उनको घर र आँगनमा प्रवेश गर्‍यो ।

‘कहाँ जाउँ, के गरौँ दिमागले कामै गरेन’ उनले भनिन्, ‘केहीबेरमै छातीछाती पानी आइपुग्यो । दुई सन्तान पनि मसँगै थिए । छिमेकीले नजिकैको गोठमा लगे । तर, त्यहाँ पनि पानी भरिएपछि जसोतसो ज्यान जोगाउँदै केहि व्यक्तिले डुंगाबाट सडकमा ल्याएर राखेपछि केहि सास आयो ।’

४५ वर्षीया रानी देवी मण्डलका अनुसार तीन छाकसम्म भोकै बसिन् । उनले भनिन्, ‘थप चार दिनसम्म च्यूरा र भुजा खाएर बाँचे । पाँचौ दिन टाढाको आफन्तले ल्याइदिएको भात खान पाएकी थिएँ ।’

चञ्चल मुखियाको कष्ट पनि रानीको भन्दा कम थिएन । उमेरले सय बर्ष पूरा गरेका चञ्चललाई त बाढीले बगाएर टाढासम्म लगिसकेको थियो । तर, गाउँका केहि युवाले बचाए । त्यो क्षण सम्झँदै भनिन्, ‘गाउँका केहि युवा नभएको भए मेरो शव समेत नभेट्ने अवस्था रहँदैन्थ्यो ।’

सकरपुराका रामदेव मण्डल (५८) ले पनि त्यस्तै पीडा भोगे । एक्लै भए त जसोतसो भाग्न पनि सजिलो हुन्थ्यो’ मण्डलले भने,’१३ जनाको परिवारलाई सुरक्षित ठाउँमा लैजान कम्ति सकस भएन ।’

रानी, चञ्चल र रामदेवको मात्र होइन, साउन अन्तिममा आएको बाढीमा सकरपुराबासीले यस्तै नियति भोगे ।

केहि नै बाँकी रहेन

अहिले रानी मण्डलको परिवार सकरपुरा गाउँको मध्य ठाउँमा एउटा झुपडी बनाएर बसिरहेको छ । चार छोरी र एक छोराकी आमा रानीका पति दैनिक ज्यालादारी काम गरेर परिवारलाई पाल्छन् । बाढी आउनु अघि उनको तीन वटा घर र एउटा गोठ थियो अहिले झुपडी भएकै ठाउँमा ।

तर, बाढीले घरगोठ बगायो । ‘घरको चिन्ता भएन, छोरीको विहेका लागि दई बर्ष यता जोडेका सबै सामान समेत बगायो’ उनले भनिन्, ‘भाँडा बर्तन, बाकस, श्रृँगारका सामान सबै बाढीमा बग्यो ।’

उनका अनुसार रु पाँच लाख बराबरको सामान छोरीको विवाहका लागि खरीद भइसकेको थियो दुई बर्षभित्र ।

बाढी अभिश्राप बनेर आएको भन्दै भन्छिन्, ‘कम्तीमा एउटा छोरीको विवाह धूमधामका साथ गर्ने योजना बर्बाद भयो ।’

‘सय बर्षको उमेर भयो, यस्तो बाढी कहिले पनि हेरेको थिइनँ’ चञ्चल मुखियाले भने, ‘बाढीको पीडा अहिलेसम्म भोगिरहेको छु । खेतमा लगाइएको धान बग्यो । अहिले खान नै समस्या भइरहेको छ ।’

उनले अघि भने, ‘बरु बाढीमा मरेको भए यो दुर्दशा त हेनुपर्दैन्थयो !’

झाडापखालाको सामना

बाढीले खेतमा लगाइएको अन्नपात बगायो भने घरभित्रको अन्न पनि पानीमा डुबेर कामै नलाग्ने भयो ।

बाढी आयो, गयो । तर सकरपुराबासीकेा घाउ अझै आच्चै छ । बाढीको केहि समयभित्रै गाउँमा झाडापखालाको ठूलो प्रकोप फैलियो । दुई दर्जनभन्दा बढी बिरामी परे । हैंजाकै स्थिति देखापर्‍यो ।

‘एक्कासी झाडापखालाको प्रकोप देखापरेपछि हामी समस्यामा पर्नु स्वभाविक हो’ वडा अध्यक्ष मनोज चौधरीले भने, ‘सम्बन्धित निकायले समयमै ध्यान दिएपछि कसैको ज्यान भने गएन् ।’

गम्भीर स्थिति भएकालाई धरान र विराटनगर पुर्‍याएर पनि ज्यान बाँचेको उनले बताए । झाडापखालाको प्रकोप आएपछि गाउँमै एक सातासम्म स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

सर्पदशंको त्रास पनि त्यस्तै

बाढी आएको केहि दिनभित्रै गाउँमा सर्पको विगविगी बढ्यो । जताततै बिषालु सर्पहरुको बिगबिगीका कारण लामो समयसम्म रातभर समेत जाग्राम बस्नुपरेको थियो सकरपुराबासी । ‘दुई दर्जनभन्दा बढी व्यक्ति त सर्पदशंको शिकारै भए’ वडा अध्यक्ष चौधरीले भने, ‘धन्य कसैको ज्यान गएन ।’

बाढीको समयमा घरबारबिहीन भएर लामो समयसम्म सुत्न नपाएका यहाँका बासिन्दा घर र्फकेपछि सर्पको त्रासका कारण पनि एक महिनासम्म सुत्न नपाएको स्मरण गर्छन् बेचन मुखिया (६६) ।

खानेपानीको अवस्था भयावह

सकरपुराको अर्को समस्या हो खानेपानीको अभाव । हुन पनि हो ३० देखि ४० फिटसम्मको गहिराईमा ट्युववेल जडान गर्दा राम्रो तरिकाले पानी आउँछ । तर, आएको पानी भने पिउने योग्य छैन ।

‘ट्युबवेलबाट आउने पानी हरियो र कालो निस्किरहेको छ’ विशेश्वर मण्डल -६२) ले भने, ‘पिउने लायक पानी नहुँदा टाढाको ट्युववेलबाट भरेर ल्याउनुपर्ने बाध्यता छ ।”
मण्डलको कुरामा जोड दिन्छन् वडा अध्यक्ष चौधरी पनि । ‘मेरो ट्युववेलमा पनि यस्तै समस्या छ’ उनले भने, ‘किन्ने क्षमता भएकाहरु फिल्टर खरीद गरेका छन् भने नहुनेहरु टाढाको ट्युबवेलबाट पानी भर्न बाध्य छन् ।

उपेन्द्रले उम्मेदबारी दिएको क्षेत्र, जनतालाई थाहै छैन

धेरै ठाउँमा भत्केको बाटो अझै बनेको छैन । कतिपयको घर नै छैन, सानो झोपडी बनाएर बसिरहेका छन । धान बाली लगाइएको खेत अहिले पनि बालुवाले पुरेपछि सेताम्य नै देखिन्छन् ।

अनेक समस्याका बाबजुद सकरपुराबासीले संघर्ष गर्न छाडेका छैनन् । यत्रो दुःखका बीच कस्तो नेतालाई भोट दिनुहुन्छ ?’

प्रश्न सुनेकामध्ये १०० वर्षीय चञ्चलले भने, ‘मजस्ताको सेवा गर्ने, काम गरिदिनेलाई नै भोट दिन्छौं ।’

यद्यपी उनले प्रति प्रश्न पनि गरे, ‘साँच्चै हुन गइरहेको निर्वाचन के सम्बन्धी हो ?’

उनले गरेको प्रतिप्रश्नमा विशेश्वर मण्डल, सितियादेवी मण्डलले पनि ऐक्यबद्वता जनाउँदै बुझ्ने उत्सुक्ता देखाए । उनीहरुलाई भनियो, ‘यो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हो ।’

बाढीले घरगोठ गुमाएकी रानीले पनि घर बनाउन सहयोग गरिदिने, बाटो बनाइदिने उम्मेदवारलाई भोट दिने बताइन् । ‘अहिले उम्मेदवारै चिनेका छैनौं’ भनिन्, ‘हेरौं कस्ता-कस्ता उम्मेदवार मत माग्न आउँदा रै’छन् ।’

सितियादेवीले पनि उम्मेदवारहरुलाई नचिनेको प्रतिकृया दिइन् ।

सकरपुरा सप्तरी क्षेत्र नम्बर २ मा परेको ठाउँ हो । यहाँ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।

गाउँका अधिकांश पुरुषलाई यसको जानकारी भएपनि धेरै महिलालाई भने उम्मेदवारबारे नै थाहा छैन । ‘उपेन्द्रको नाम त सुनेको छु । तर, हाम्रै क्षेत्रबाट उम्मेदबारी दिएको थाहा छैन’ रानी मण्डलले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment