Comments Add Comment

नेपालमा सौर्य उर्जा प्रवर्द्धनका लागि अन्नपूर्ण फन्को मार्दै नेदरल्यान्ड्सका साइक्लिस्ट

अन्नपूर्ण क्षेत्रमा ब्राम तान्किन्क र उनका साथीहरु । फोटो: ट्वीटर

२९ कात्तिक, काठमाडौँ । नेदरल्यान्ड्सका व्यावसायिक साइकलयात्री ब्राम तान्किन्क यति बेला एक दर्जनभन्दा बढी साथीहरूसँगै नेपालको प्रसिद्ध अन्नपूर्ण पदमार्गको फन्को लगाउँदै छन् ।

गत शुक्रबार काठमाडौँ आइपुगेका उनले आफ्नो कार्यक्रम मार्फत् एउटा कोष स्थापना गरी नेपालका केही पर्यटकीय स्थलमा सौर्य ऊर्जा
प्रवर्द्धन गर्ने लक्ष्य राखेका छन् ।

“यो मेरा लागि पहिलो नेपाल भ्रमण हुनेछ । यो सुन्दर राष्ट्रमा पर्यटन व्यवसाय प्रवर्द्धन गर्नेजस्तो हितकारी उद्देश्यमा योगदान गर्न पाउँदा म अत्यन्त खुसी हुनेछु,” काठमाडौँका लागि उडान भर्नु अगाडि तान्किन्कले गत हप्ता आफ्नै घरबाट अनलाइनखबरसँगको कुराकानीमा भने ।

तान्किन्कका अनुसार हालसम्म उनले समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइसम्म मात्र साइक्लिङ् गरेका छन् भने करिब पाँच हजार मिटरको उचाइसम्म पैदलै पुगेका छन् । “नेपालमा मैले साइकल कुदाउने ठाउँको उचाइ कति हो भन्ने कुरा त मलाई ठ्याक्कै थाहा छैन । तर यो कुरा पक्का हो कि म आजसम्म पुग्न नसकेको उचाइमा पुग्नेछु,” उनले भने ।

नेपालमा सौर्य उर्जा प्रणाली स्थापना र विस्तारमा क्रियाशील ‘घाम पावर’ नामको कम्पनीले लगानी व्यवस्थापक कम्पनी ‘वान टु वाच’सँग मिलेर तान्किन्कलाई नेपाल ल्याएको हो ।

उनका साथमा १७ जना नेदरल्यान्डका नागरिक छन् । अन्नपूर्ण क्षेत्रबाट काठमाडौँ फर्किएपछि यी साइक्लिस्टले एक पत्रकार सम्मेलन गरी आफूले स्थापना गर्ने कोषको आकार बताउनेछन् ।

आफ्नो कार्यबाट स्थानीय जनतालाई पर्यटन उद्योगको विकास गर्न र त्यस मार्फत् जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने तान्किन्कको अपेक्षा छ ।

तान्किन्कले उक्त कोषबाट कहाँकहाँ सौर्य उर्जा प्रणाली स्थापना गरिन्छ भन्ने आफूलाई थाहा नभएको बताए पनि आयोजकहरूले केही स्थानको छनोट गरिसकेका छन् ।

वान टु वाचका अनुसार धादिङको रुबी भ्याली र मनास्लु क्षेत्रमा सौर्य उर्जा प्रवर्द्धन कार्यक्रम सञ्चालन हुनेछ ।

यात्राका क्रममा तान्किन्कको टोलीले विभिन्न स्थानका स्थानीय पर्यटन उद्यमी र सरोकारवालाहरूसँग पर्यटन उद्योगको अवस्था तथा सौर्य उर्जा विकासको सम्भावनाबारे कुराकानी गर्नेछन् ।

आफूले सौर्य ऊर्जामा ठूलो सम्भावना देखेका कारणले व्यक्तिगत पहलमा सन् २०११देखि नै आफ्नो घरमा सौर्य उर्जा प्रयोग गर्दै आएको उनी बताउँछन् ।

तान्किन्क हाल ३८ वर्षका भए र उनी आफ्नो साइक्लिङ् जीवनको अन्त्यतर्फ अगाडि बढ्दै छन् । अब एउटा लगानीकर्ताका रूपमा चिनिने उनको चाहना छ ।

“पछिल्ला वर्षहरूमा मैले के बुझेँ भने स्वच्छ ऊर्जामा लगानी गर्न धेरै अवसर प्राप्त हुने रहेछन् । त्यसैले यो क्षेत्रमा लगानी बढाउनु आवश्यक छ,” उनी भन्छन्, “प्रायः सबै व्यावसायिक साइक्लिस्टहरू धेरै शारीरिक अभ्यासका कारण दमको सिकार हुने गरेका छन् र म पनि पक्कै त्यही बाटोमा छु । सहरी क्षेत्रको वायु प्रदूषणले यो सम्भावनालाई अझ नजिक्याएको छ ।”

“त्यसैले अब मैले बुझेको छु हामीले स्वच्छ उर्जा र विद्युतीय सवारीमा लगानी गर्न आवश्यक छ ।”

तान्किन्क आगामी मङ्गलबार नेदरल्यान्ड्स फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment