१ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा लैजान एकपटक कम्युनिस्टहरुलाई बहुमत चाहिएको बताएका छन् ।
मुलुकका वरिष्ठ सिनेकलाकारहरुसँग शुक्रबार काठमाडौमा भएको अन्तरक्रियामा नेता नेपालले नेपाली कांग्रेसले पटक पटक बहुमत पाउँदा पनि देश विकास गर्नुको साटो भएका कलकारखा पनि बेचेर खाएको आरोप लगाए ।
नेपालले केही वाम विरोधीले अधिनायकवादको हल्ला फिजाए पनि अब देश विकास गर्ने कम्युनिस्टहरु नै भएको बताए ।
कार्यक्रममा एमाले नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धनको सरकार बनेपछि पहिलो क्याविनेट बैठकले नै कांग्रेस सरकारले गरेका गलत निर्णयहरु खारेज गर्ने बताए ।
काठमाडौं ७ का उम्मेदवार रामवीर मानन्धरले वामपन्थी सरकार बनेपछि कलाकारको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
काठमाडौं ६ का प्रदेशसभा उम्मेदवार तथा काठमाडौंका पूर्व मेयर केशव स्थापित र काठमाडौँ क्षेत्र नम्बर-७ ‘क’ का वामपन्थीतर्फका उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्यले कलाकारको हितका लागि कम्युनिस्टलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा कलाकारहरु अशोक शर्मा, केशव भट्टराई, निखिल उप्रेती, आकाश अधिकारी लगायतले वाम गठबन्धनको बहुमत आवश्यक रहेको बताएका थिए ।
प्रतिक्रिया 4