Comments Add Comment

बाबुरामको सभामा रामचन्द्रले भने-राष्ट्रपतीय प्रणाली सद्दाम हुसेन जन्माउने सोच

'राष्ट्रवादी कांग्रेस हो, ओली होइन'

२ मंसिर, गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणालीको विकल्प खोज्नु मुलुकका लागि अनिष्टको संकेत भएको बताएका छन् ।

गोरखा २ मा कांग्रेस र नयाँ शक्तिको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले राजनीतिक विवाद नउचाल्न आग्रह गरे । प्रचण्ड र ओलीले संयुक्त गठबन्धन गरेर संसदीय प्रणाली खारेज गर्छौ र साम्यवाद ल्याउँछौं भनेको भन्दै पौडेलले भने, ‘यो राष्ट्रका लागि अनिष्टको संकेत हो । पुनः द्वन्द्वमा धकेल्नु हो ।’

संसदीय प्रणालीको विकल्प खोज्नेहरुले राष्ट्र र जनताको अनिष्ट गर्न चाहेको उनको आरोप छ । ‘अध्यक्षत्मक प्रणाली अधिनायकतन्त्रको जन्म दिने, सद्दाम हुसेन जन्माउने सोच हो’ बाबुरामसहितका उम्मेदवारलाई भोट माग्न आयोजित सभामा पौडेलले भने, मैले प्रचण्ड र ओलीलाई भनेको छु, तिम्रो तागत छैन ।’

पौडेलले राष्ट्रपतीय प्रणालीको विरोध गरिरहँदा बाबुरामबारे भने केही बोलेनन् । नयाँ शक्तिका गोरखा २ का उम्मेदवार भट्टराई, जसलाई कांग्रेसले समर्थन गरेको छ, उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा अघि सारेका छन् ।

वाम गठबन्धनको चर्को आलोचना गरेका पौडेलले कम्युनिष्टले समस्या मात्र जन्माउन सक्ने बताए । उनले भने, ‘समाधान गर्न सक्दैनन्, कांग्रेस नै चाहिन्छ ।’

एमाले अध्यक्ष ओलीले राष्ट्रवाद भन्दाभन्दै विखण्डनतिर लगेको आरोप लगाउँदै पौडेलले भने, ‘राष्ट्रवादी कांग्रेस हो, ओली होइन । सम्हालेर ल्याएको त कांग्रेसले नै हो ।’

कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले भट्टराईलाई जिताउन आग्रह गरेका छन् । कांग्रेस गठबन्धनको सरकार बनेपनि विकासले गति लिने भन्दै उनले भने, ‘गोरखामा बाबुरामलाई जिताउनुस्, विकास हुन्छ ।’

उद्योगपति एवं समानुपातिकका उम्मेदवार विनोद चौधरीले सम्बृद्धिको यात्रामा भट्टराईको महत्वपूर्ण भूमिका हुने बताए । अर्थमन्त्री र प्रधानमन्त्रीका रुपमा भट्टराईले गरेका कामको प्रसंसा गर्दै उनले भने, ‘डाक्टरसा’ब विकास प्रेमी हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment