Comments Add Comment

पाँचथरमा बसन्त नेम्बाङ र भीष्म आङ्देम्बे को बलियो ?

उम्मेद्वारका चुनावी एजेण्डा यस्ता छन्

३ मंसिर, पाँचथर । पहिलो चरणमा निर्वाचन हुन लागेको पाँचथर जिल्लाको राजनीतिक चहल-पहल उत्कर्षमा पुगेको छ । यहाँबाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ उठेका छन् भने लोकतान्त्रिक गठवन्धनबाट कांग्रेस नेता भीष्मराज आङदेम्वे चौथोपटक चुनावी मैदानमा छन् ।

पाँचथरको चुनावको रोचक कुरा के छ भने यी दुई बलिया उम्मेदवारवीच यसअघि एक पटक पनि एउटै मैदानमा प्रतिस्पर्धा भएको छैन । अब हुने प्रतिस्पर्धा नै दुवै उम्मेदवारका लागि पहिलो परीक्षा हुनेछ ।

यसअघि दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुईचोटि चुनाव जितेका थिए । त्यसैगरी कांग्रेस नेता आङ्देम्वेले चारपटक चुनाव लड्दा एकचोटि जितेका थिए । अहिले एउटै चुनावक्षेत्र भएपछि उनीहरु एउटै मैदानमा चुनाव लड्दैछन् ।

०४८ साल र ०५६ का दुबै चुनावमा नेपाली कांग्रेसका दीपकप्रकाश वास्कोटालाई पराजित गर्न सफल भएका एमाले नेता नेम्वाङ ०५१ सालमा भने बास्कोटाबाटै पराजित भएका थिए ।

कांग्रेस नेता आङ्देम्बेले ०७० मा एमालेका डम्बरसिंह सम्बाहाम्फेलाई पराजित गर्न सफल भए । त्यसअघि ०५६ र ०६४ मा भने सम्बाहाम्फेबाटै आङ्देम्बे दुईपटक पराजित भएका थिए ।

यसरी विजय र पराजयको इतिहास बोकेका दुवै उम्मेदवारको चुनावी लडाइँ यसपटक पाँचथरमा चाखलाग्दो हुने देखिएको छ ।

के-के छन् पाँचथरका चुनावी एजेण्डा ?

आगामी मंसिर १० मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा प्रतिस्पर्धी दलका उम्मेदवारहरु मतदातासँग आशा देखाउँदै मत माग्न व्यस्त छन् ।

गत निर्वाचनमा व्यक्त गरेका वाचा पूरा गर्न नसकेका कारण देखाउँदै मतदातालाई फुल्याउँछन् भने नयाँ अनुहारका उम्मेद्वार पुरानाको कमजोरी औंल्याएर मतदातालाई आफूतिर तान्ने प्रयासमा छन् ।

मतदाता पनि के कम ? घरघरमा आउने दलका नेता तथा उम्मेदवारसँग कामको ग्यारेण्टी खोजिरहेका छन् । मतदाताको माग परिवारका सदस्यलाई जागिरदेखि लिएर पूर्वाधार निर्माण, शैक्षिक उन्नति र भरपर्दो स्वास्थ्य सेवासम्म छन् ।

एमालेका वसन्तकुमार नेम्वाङले मुलुकमा आर्थिक समृद्धिको नेतृत्व गर्न वाम गठबन्धन बनेको बताएका छन् । सडक, विद्युत, पुल, खानेपानी, सिँचाइर्ं, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विकास निर्माणका पूर्वाधारलाई उनले बिकासे एजेण्डा बनाएका छन । अनलाइन खवर सँग कुरा गर्दै उनले वामगठबन्धनलाई जनताले विश्वास गरेको दाबी गरे ।

पूर्वसांसद एवं एमाले ऊर्जा विभाग सचिव नेम्बाङले जलविद्युतको क्षेत्रमा लगानी गरेर पाँचथरका टोलटोलमा उज्यालो पुर्‍याउने दाबी गरेका छन् ।

लोकतान्त्रिक गठबन्धनका कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे जनताको सेवामा नेतृत्व गर्न लागेको बताएका छन् ।

विभिन्न जातजाति आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षणको जिम्मेवारी पनि आफ्नै भएको बताउँदै आङदेम्बेले आफू पहिचानवादीको रुपमा परिचित हुन चाहेको बताएका छन् ।

लोकतान्त्रिक र वाम दुवै गठबन्धन दलका उम्मेदवार जिल्लाको राजनीतिमा स्थापित छन् ।

त्यसैगरी संघीय समाजवादीका उम्मेद्वार प्रेमराज लावतीले संविधान संशोधन, शान्ति, समृद्धि, विकास, परिवर्तन र अधिकारका निम्ति आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

प्रदेशका उम्मेदवार के भन्छन् ?

वाम गठबन्धन दलबाट माओवादी केन्द्रका पाँचथर (क) का प्रदेश सभा सदस्य उम्मेदवार इन्द्र आङ्बोले अहिलेसम्मको उपलब्धी वामपन्थीहरुको नेतृत्वमा भएकाले आर्थिक सम्बृद्धि पनि वामपन्थीकै नेतृत्वबाट हुने दाबी गरे ।

वाम गठबन्धनबाट पाँचथर (ख) का एमाले उम्मेदवार गणेश काम्बाङले पाँचथरको समग्र विकासमा निष्ठावान भएकाले आफूलाई जनताले मत दिएर निर्वाचित गराउने विश्वास व्यक्त गरे ।

त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (क) का कांग्रेस उम्मेदवार नरेन्द्र केरुङले लोकतन्त्रमा मात्रै कृषि, सिंचाइं, पर्यटनको विकास, आत्मसम्मान र अधिकार सम्भव हुने भन्दै पाँचथरबासीले कांग्रेसलाई भोट दिएर निर्वाचित गराउने दाबी गरे ।

कांग्रेसबाटै प्रदेश (ख) बाट उम्मेदवार बनेका सुरेन्द्र दाहालले तमोर जलाशयुक्त जलविद्युत आयोजना निर्माणमा पहल गर्ने बताएका छन् ।

लक्षिमा योञ्जन तामाङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment