Comments Add Comment

नेपाली मूलका भारत्तोलक कार्कीले अमेरिकामा जिते स्वर्ण

वाशिंगटन डीसी । अमेरिकामा नेपाली मूलका एक मात्र भारत्तोलक रुप कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । आफ्नो उमेर र वजनको तौल समूहमा कुल १४ सय पाउन्ड उठाएर कार्कीले स्वर्ण पदक जितेका हुन् ।

नेपालको रुपन्देही स्थायी घर भएका कार्की डेढ दशकदेखि डिसी क्षेत्रमा बस्दै आएका छन् । १८ नोभेम्बरमा प्रतियोगितामा भाग लिन उनी एटलान्टा पुगेका थिए । विमानस्थलमा अवतरण गर्ने बित्तिकै उनले सम्पूर्ण नेपालीहरुको आशिर्वाद लिएर आएको भन्दै नेपाललाई विश्वमा चिनाउने प्रयास गर्ने बताएका थिए । त्यसअघि उनलाई डीसी महानगर क्षेत्र वरपर बस्ने नेपाली समुदायले आमन्त्रण गरी विजयको शुभकामना दिएका थिए ।

उनी शरीर बनाउन कुनै ओखति नखाएका (ड्रग टेस्टेड)समूहमा प्रतियोगितामा भाग लिएका भारत्तोलक खेलाडी हुन् । नेपाली समुदायमा अमेरिकाको अहिलेसम्मको इतिहासमा नेपाली मूलका भारत्तोलक रुप कार्की एक मात्र तथा प्रथम खेलाडी रहेका छन् ।

नोभेम्बर १८ र १९ तारिख जर्जीयाको एटलान्टामा अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिता आयोजना भएको थियो । भारत्तोलनको यो उच्चस्तरीय प्रतिस्पर्धा मध्यको एक हो । विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरु प्रतिस्पर्धी रहने सो प्रतियोगितामा छनोट हुने कार्की पहिलो नेपाली मुलका अमेरिकन हुन् । कार्कीले विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागीता पनि जनाई स्वर्ण पदक र रजत पदक हासिल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment