Comments Add Comment

नारायणकाजीमाथि खनिए बाबुराम, प्रचण्ड-ओलीलाई उक्साएको आरोप

४ मंसिर, गोरखा । भच्चेकको चुनावी सभामा नयाँ शक्ति पार्टीका संयोजक एवं गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराई आफ्ना प्रतिस्पर्धीमाथि खनिएका छन् ।

उनले पूर्वसहकर्मी समेत रहेका नारायणकाजी श्रेष्ठमाथि कम्युनिष्ट छाड्न हुँदैन भनेर प्रचण्ड र केपी ओलीलाई उक्साएकोदेखि कुखुरे मुटु भएको सम्म आरोप लगाए ।

वाम गठबन्धन बनाउने क्रममा प्रचण्ड र ओली कम्युनिष्ट पार्टी छाड्न सहमत भएको भट्टराईले दाबी गरे । ‘जब हामीले गठबन्धन बनायौं, यसको सबैभन्दा ठूलो बाधक उहाँ हुनुहुन्थ्यो, जो अहिले मेरो प्रतिद्वन्द्वी बनेर आउनु भएको छ’ उनले भने ।

‘जो मान्छे आज यहाँ आएर म पनि लोकतन्त्रवादी हुँ, जनयुद्धमा थिइनँ भन्दै गोहीका आँसु झारिराखेका छन् । कम्युनिष्ट आन्दोलनलाई समाजवादी रुपान्तरण गरौं भन्दा विरोध गर्ने पनि उहाँ नै हो’ केपी ओलीले आफूलाई सुनाएको भन्दै भट्टराईले भने,’ कम्युनिष्ट छोड्नु हुँदैन । बाबुरामलाई किन ल्याएको ? उसले त कम्युनिष्ट आन्दोलन छाडिसक्यो भनेर उक्साउने उहाँ नै हुनु हुँदोरहेछ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गोरखा २ मा वाम गठबन्धनका उम्मेदवार बनेका श्रेष्ठ ‘टुरिष्ट’ भएको बताए ।

यसअघि चुनाव जितेपछि आफू हरेक महिना जिल्ला आएको र फेरि पनि आउने भन्दै उनले मतदातालार्इ प्रश्न गरे, ‘तपाईले कसलाई छान्ने हो ? जो मान्छे प्रत्येक महिना घरदैलोमा आएर, सुख्खा रोटी खाएर, धुले वाटोमा हिँड्छ । त्यस्तो मान्छेलाई छान्ने कि जो मान्छे शहर बजारमा बस्छ, उपल्लो घरानामा उन्नती गरेको छ । त्यो मान्छे टुरिष्टका रुपमा आएर गोहीका आँसु झार्छ, उसलाई छान्नुहुन्छ ?’

उनले आफ्ना चुनावी प्रतिस्पर्धीले आफ्नो वडा बाहेक अरु केही नहेरेको र कुखुरे मुटु भएको आरोप लगाएका छन् । अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजार हुनु पर्ने भएपनि श्रेष्ठले आफ्नै घर भएको ठाउँमा लैजाने प्रयास गरेको आरोप लगाउँदै उनले भने, ‘यत्रो बजार छाडेर आफ्नै घर भएको ठाउँमा लैजान्छु भन्ने मानिसको मुटु कत्रो होला ? त्यो मान्छे सांसद भएर गयो भने के गर्दा ?’

आफूले भने आफ्नो गाउँ मात्र नहेरी सिंगो जिल्लाको विकासमा काम गरेको उनको दाबी छ ।

नयाँ शक्तिका उम्मेदवार भट्टराईले चुनावी तालमेललाई लिएर असन्तुष्ट कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्ने प्रयास पनि गरे ।

जनयुद्ध राज्यविरुद्ध भएपनि एउटा सरकारको नेतृत्व गरेको र अर्को विद्रोही भएका कारण कांग्रेस र माओवादीको अपसी लडाँई जस्तो हुन पुगेको भन्दै उनले भने, ‘अब घाउ कोट्याउनुको अर्थ छैन ।’

आफूले गिरिजाप्रसाद कोइरालालाई भेटेपछि शान्ति प्रक्रिया सुरु भएको भन्दै उनले १२ बुँदे सम्झौतायताको नेतृत्वदायी शक्ति कांग्रेस भएको र कांग्रेस भए मात्र लोकतन्त्र सुरक्षित हुने उनले बताए ।

उनले माओवादी समर्थकसँग पनि भोट मागे । यदि आफूले दलहरुसँग मिलेर शान्ति प्रक्रियामा जान प्रस्ताव नल्याएको भए माओवादी पेरु, मलेसियाको जस्तो हुनसक्थ्यो भन्दै भट्टराईले भने, ‘साथी हो इतिहास नबिर्सौं !’

हँसिया हथौडा (माओवादीको चुनाव चिन्ह) युद्ध र संघर्षको समयमा सही भएपनि निर्माणको चरणमा प्रवेश गरेपठि ठीक सन्देश दिन नसक्ने उनको तर्क थियो ।

चुनावी सभालाई कांग्रेस नेताहरु बालकृष्ण खाँड, गगन थापा लगायतले पनि सम्बोधन गरेका थिए ।

यो पनि पढ्नुस्

गोरखा पुगेर गगनले भने- बाबुराम जित्दा संसदमा कांग्रेस बलियो हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment