
४ मंसिर, रामेछाप । पूर्वको रोल्पा भनेर चर्चित माओवादी जनयुद्धको उद्गमस्थ्ल बेथानमा यसपटक वामपन्थी गठबन्धने चुनावी सभा समेत गर्न नपाउने भएको छ । माओवादीभित्रकै अन्तरबिरोधमा खेलेर कांग्रेसले चुनावीसभा जुधाएपछि स्थानीय प्रशासनले बेथानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
माओवादीको आधार इलाका मानिने बेथानमै चुनावीसभा गर्न नपाउनु वामपन्थी गठबन्धनका लागि ठूलो झड्का हो । बेथान त्यही ठाउँ हो, जहाँ माओवादीले २०५३ सालमा पहिलो पटक प्रहरी चौकीमा आक्रमण गरी कब्जा जमाएको थियो । त्यसयता यो निरन्तर माओवादीको आधारक्षेत्रकै रुपमा रहेको छ ।
बेथान बन्यो दंगाग्रस्त क्षेत्र
जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार सूचना जारी गर्दै सुनापति गाउँपालिका ४ वेथानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति रामेछापको सोमबार बसेको बैठकको निर्णय अनुसार बेथान दंगाग्रस्त क्षेत्र बनेको हो ।
मंगलबार वाम गठबन्धनले आयोजना गर्न लागेको चुनावी आमसभामा जुलुस, भीड वा संगठित समूहबीच हिंसात्मक वा विध्वम्सात्मक गतिविधि हुने सम्भावना देखिएकोले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको स्थानीय प्रशसानले जनाएको छ ।
प्रशासनले यो क्षेत्रमा चुनावी कार्यक्रम नगर्न नगराउन पनि राजनीतिक दलहरुको नाममा आदेश नै जारी गरेको छ । जबकी बेथानमा मंगलबार बाम गठबन्धनले वृहत जनसभा गर्ने पूर्वनिर्धारित कार्यक्रम तय गरेको थियो ।
दंगाग्रस्त क्षेत्र घोषणाको सार्वजनिक स्थलमा ५ जना भन्दा बढी मानिस भेला हुन पाउने छैनन ।
क्रान्तिको विरासतमा धक्का
२०५२ सालबाट सशस्त्र विद्रोह सुरु गरेको तत्कालीन माआवादीले प्रहरी चौकीमाथि आक्रमण गरी पहिलो सफलता बेथानस्थित पानिघाटमा रहेको प्रहरी चौकीमा प्राप्त गरेको थियो ।
२०५३ साल पुस १९ गते माओवादीले गरेको सशस्त्र आक्रमणमा २ जना प्रहरीको ज्यान गएको थियो । यो घटनामा माओवादीतर्फ ३ जनाले ज्यान गुमाए । माओवादी कार्यकर्ताले प्रहरी चौकीका सबै हतियार कब्जा गरेका थिए ।
एक समय जनमोर्चाको प्रभाव रहेको यो क्षेत्र जनयद्धसँगै माओवादीको आधार इलाका बन्न पुग्यो । वेथान र आसपासको क्षेत्रमा राम्रो पकड रहेकै कारण माओवादीले दुबै संविधानसभा चुनावमा कांग्रेस र एमाले भन्दा धेरै मतले चुनाव जितेको थियो ।
तर, स्थानीय चुनावसँगै बेथानमा विवाद देखियो । त्यहाँ माओवादीका बागीले आधिकारीक उम्मेदवारलाई पराजित गर्दै वडामा चुनाव जितेका थिए । त्यसपछि चर्किएको विवादमा विपक्षी दलहरुले मलजल गरेपछि यो अवस्थासम्म आइपुगेको छ ।
वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार एवं माओवादी पोलिटब्युरो सदस्य श्यामकुमार श्रेष्ठ समेत बेथान पस्न पाएका र्छैनन् । हिलेदेवीको कार्यक्रम सकेर वेथान नगएर उनलाई कांग्रेस पक्षधरले श्रेष्ठ बेथान छिर्न नसकेर भागेको आरोप लगाएका थिए । स्थानीय स्तरमा सांसद विकास कोषको बजेट दिँदा श्रेष्ठले कमिसन लिएको कांग्रेसको आरोप छ, जसको श्रेष्ठले प्रतिवाद गर्दै आएका छन् ।
कांग्रेसले लगाएका आरोपहरुलाई चिर्न वाम गठबन्धलने विशेष तयारीका साथ मंगलबारलाई बेथानमा चुनावी सभा तय गरेको थियो । तर, सभाको सबै तयारी पुरा भइसकेको अवस्थामा स्थानीय प्रशासनले सोमबार साँझ सभा गर्न प्रतिवन्ध लगाएको छ ।
माओवादी नेताकै अपमान !
बेथानमा हालै माओवादी नेता एवं उम्मेदवार श्यामकुमार श्रेष्ठलाई अपमान गर्ने गरी प्रचार समेत गरिएको थियो । श्रेष्ठको पुत्ला बनाई जुत्ताको माला लगाएर ‘भ्रष्ट नेता श्यामकुमार श्रेष्ठलाई प्रवेश निषेध’ भनेर प्रदर्शन गरिएको थियो ।
कांग्रसेका चुनाव चिन्ह अंकित झण्डाहरु पार्किङ गरी राखिएका गाडीहरु छेउमा राखिएको पुत्ला कांग्रेस कार्यकर्ताले राखेको वाम गठबन्धनका नेताहरु बताउँछन् ।
लोकतन्त्रमाथि अंकुश लगाउने निर्णय भयोः वाम गठबन्धन
स्थानीय प्रशासनले बेथानलाई घोषणा गरेको दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि वाम गठबन्धनका नेताहरुले लोकतन्त्रमाथि अंकुश काम भएको प्रतिक्रिया दिएका छन् ।
गृहबाट विना विभागीय बनाइएका गठबन्धनका उम्मेदवार श्रेष्ठले मतदाता समक्ष पुग्नेसंवैधानिक अधिकार स्थानीय प्रशासनले खोसेको बताए । उनले भने, ‘संवैधानिक व्यवस्था विपरित भएको यो यो निर्णय अत्यन्त दुःखद निर्णय हो ।’
वाम गठबन्धनबाट प्रदेशसभातर्फ उम्मेदवार बनेका एमाले नेता कैलाशप्रसाद ढुंगेलले प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्नुको औचित्य पुष्टि गुर्नु पर्ने बताए । प्रशासनको यो निर्णय गलत भएको बताउँदै उनले मतदाता समक्ष आफूहरुलाई पुग्न नदिन सुनियोजित रुपमा रोक लगाएको बताए ।
गठबन्धनको निर्वाचन परिचालन समितिका सचिव तारानारायण श्रेष्ठले स्थानीय प्रशासनको निर्णय मान्य नभएको बताए । पूर्वनिर्धारित कार्यक्रम रोक्ने गरी प्रशासनबाट आएको निर्णयसरकारको हारको मानसिकताबाट आएको बताए ।
कांग्रेसका सचिव लेखवहादुर कार्कीले पनि चुनावी कार्यक्रममा निषेध गर्नु राम्रो नभएको बताए । प्रशासनले असहज अवस्थालाई सहज बनाउनुपर्ने उनको धारणा छ ।
प्रशासनको निर्णय २ घण्टामा नै फेरियो
स्थानीय प्रशासनले दिउँसो वेथानलाई दिउँसो दंगाग्रस्त क्षेत्र घोषणा गरी सूचना जारी गरेको थियो । तर, त्यसको २ घण्टापछि नै निर्णय सच्याउँदै निषेधित क्षेत्र भनिएको छ ।
वाम गठबन्ध र कांग्रेसबीच झडप हुन सक्ने खतरा रहेकोले यो निर्णय लिनु परेको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले झडप हुन सक्ने अवस्था देखिएकोले निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4